
काठमाडौं, कात्तिक २१
रौतहट, गरुडास्थित श्रीराम सुगर मिल्सले समयमा उखुको मूल्य भुक्तानी नदिँदा किसानले कौडीको मोलमा उखु बेच्न थालेका छन्। सुगर मिल्सलाई दुई वर्षअघि ४ सय ८१ रुपैयाँ प्रति क्विन्टल उखु बेचेको किसान अहिले २ सय रुपैयाँ क्विन्टल बेच्न बाध्य भएका छन्।
किसानले सुगर मिल्ससँग दुई वर्षयता करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। समयमा चिनि मिलले भुक्तानी नगरेका कारण किसानले सख्खर बनाउने खाँडसारी उद्योगहरूलाई उखु धमाधम बेच्न थालेका छन्। रौतहटकै संग्रामपुर र समनपुरका करिब एक दर्जन सख्खर उद्योगले किसानको बाध्यताको फाइदा उठाउँदै प्रति क्विन्टल २ सयदेखि २ सय ५० रुपैयाँसम्म उखु किनिरहेका छन्।
चिनि मिलले किनेको उखुको समयमा नै किसानलाई भुक्तानी नदिने र उखु काटेर खेत खाली हुने समय निश्चित नहुँदा दोहोरो मारमा पर्ने किसान सख्खर उद्योगलाई सस्तोमा उखु बेचिरहेको बताउँछन्। “मधेस आन्दोलन भएदेखि सुगर मिल्सले उखुको भुक्तानी दिएको छैन” संग्रामपुरका रामएकवाल साहले भने, ‘बन्द, हडताल र नाकाबन्दीले घरखर्च टार्न समस्या भएको र खेत खाली गरी अर्को बाली लगाउन सख्खर उद्योगलाई उखु बेचिरहेका छौं।’
चिनि मिलले आव २०७०-०७१ मा किनेको १५ करोड र २०७१-०७२ को ७५ करोड गरी कुल दुई वर्षको ९० करोड रुपैयाँ उखुको भुक्तानी किसानलाई दिन बाँकी रहेको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए।
अन्य जिल्लाका इन्दुशंकर, एभरेष्ट, मामकोरलगायत चिनि मिलले मधेसी मोर्चाको जारी बन्दमा भुक्तानी दिए पनि श्रीराम सुगर मिल्सका सञ्चालकले बन्द नखुलुन्जेल भुक्तानी नदिने बताएकाले किसान मर्कामा परेको अध्यक्ष यादवले आरोप लगाए। उनले भने, “मिलले २ वर्षदेखि भुक्तानी दिएको छैन। खेत खाली गरेर अर्को बाली लगाउन बाध्यताबस सस्तोमा उखु बेच्नु परेको छ।”
तराई मधेसमा जारी आन्दोलनका कारण जिल्लाका बैंक तथा वित्तिय संस्था पूरै बन्द भएकाले किसानलाई भुक्तानी गर्न नसकेको श्रीराम सुगर मिल्सका सञ्चालक दिवाकर गोल्छाले बताए। “बन्द, हडताल र नाकाबन्दी खुलेर सहज वातावरण नबनुन्जेल भुक्तानी दिन सकिँदैन” सञ्चालक गोल्छाले भने। उनले आन्दोलनका कारण मिलले करौडौं रकम घाटा बेहोर्नु परेको दाबी गरे।
चिनि मिलको लापरबाहीका कारण २ वर्षअघि किसानले बिक्री गरेको उखुको भुक्तानी अहिलेसम्म पाउन नसकेकाले यसपाली उखु खेतीमा निकै ह्रास भएको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ।
मधेसी मोर्चाको महिनौं जारी आन्दोलनका कारण किसानलाई दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै घर चलाउन समेत कठिनाइ परेको छ। रकम अभावमा हिन्दुको महान चाड दसैं मनाउन नपाएका किसानले छठ पर्वसमेत राम्रोसँग मनाउन नपाउने त्रासले सस्तोमा उखु बेच्नु परेको समनपुरका कामेश्वर सहनी बताउँछन्।
लामो समयको बन्दले इन्धन अभावका साथै सबै दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले किसानसँग कम मूल्यमा उखु किनिरहेको गढीमाई क्रसर उद्योगका सञ्चालक कृष्णनन्दनप्रसाद साहले बताए।
नागरिकबाट