भिसा भएको पासपोर्ट अव के हुन्छ ? 

मलेसिया, कात्तिक २०

मलेसियामा हालसम्म करिब १ लाख नेपालीहरुले मेसिनले पढ्न मिल्ने राहदानी (एमआरपी) लिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधानबमोजिम यही नोभेम्बर २४ भित्रै एमआरपी नलिए उक्त मितिपछि हस्तलिखित राहदानीबाहक सबै नेपालीहरु स्वतः गैरकानुनी हैसियतमा हुनेछन् ।

‘नोभेम्बर २४ पछि हस्तलिखित राहदानी (हस्तलिखित राहदानीमा पछिल्लो बर्षसम्म भिसा भएकासमेत) चल्दैन ।’ दूतावासका द्धित्तिय सचीव उत्तम कुमार शाहीले भने ‘त्यसैले यही मितिभित्रै सबैले एमआरपी लिइसक्नुपर्नेछ ।’ शाहीका अनुसार हस्तलिखित राहदानीमा भिसा भए पनि नोभेम्बर २४ पछि उक्त राहदानी प्रयोग गरेर घर फर्कन समेत मिल्दैन ।

कतिपय नेपालीको हस्तलिखित राहदानीमा सन् २०१६ सम्म भिसा छ । हस्तलिखित राहदानी विस्थापन गर्ने सरकारी निर्णयले कतिपय नेपालीहरु अन्यौलमा परेका छन् । ‘मेरो हस्तलिखित राहदानीमा आउँदो बर्ष मार्च महिनासम्म भिसा छ ।’ बातुपहातस्थित एक कम्पनीमा कार्यरत सर्लाहीका बिजेश्वर रायले जिज्ञासा राखे ‘के अब नोभेम्बर २४ पछि म अवैध हुन्छु ?’

सन् २०१६ सम्म म्याद र भिसा भएको हस्तलिखित राहदानी बोकेका रायजस्तै नेपालीहरु यतिखेर अन्यौलमा छन् । सरकारले उनीहरुजस्ता नेपालीहरुको सन्दर्भमा भने कुनै विकल्प सार्वजनिक गरेको छैन । यसबारे बेलैमा नसोचिए उनीहरु समस्यामा पर्ने निश्चित छ । हस्तलिखित राहदानीमा भिसा भएकाहरुले यथासक्य चाँडो (नोभेम्बर २४ भित्रै) दुतावासमार्फत एमआरपी लिएर पूरानो राहदानीको भिसा एमआरपीमा सार्नुपर्नेछ । उक्त समयावधि सकिन करिब ३ साता मात्रै बाँकी छ ।

दुतावासले यसअघि विदाको दिनसमेत कार्यालय संचालन गरि सेवा दिएको थियो । उसले बढी संख्यामा नेपालीहरु कार्यरत रहेका राजधानी बाहिरका क्षेत्र जोहोर र पेनाङ सहरमा सम्पर्क कार्यालय र कन्सुलेट कार्यालयसमेत स्थापना गरी एमआरपीको फाराम वितरण र संकलन गरेको थियो । दूतावासले पटक–पटक समयसीमाभित्रै एमआरपी बनाइसक्न आग्रह गर्दै आएको भए पनि अझै कयौं नेपालीले एमआरपी लिएका छैनन् । आफ्ना कामदारका लागि एमआरपी दिलाउन रोजगारदाताले समेत गम्भीरताका साथ चासो नदिँदा कतिपयले अझै हस्तलिखित राहदानी अबलम्बन गरिरहेका छन् । उनीहरु गैरकानुनी हुने खतरा छ ।

विदेशस्थित नेपाली दुतावासले आफुहरुले संकलन गरेको फारम राहदानी विभागमा पठाउने र विभागले एमआरपी बनाएपछि कुरियरद्वारा सम्बन्धित दूतावासमा पठाउने हुँदा कम्तीमा डेढ महिनादेखि बढीमा ६ महिनासम्म लाग्दै आएको छ । म्याद गुज्रने बेलामा मात्र तात्ने बानीले पनि कतिपय समस्यामा पर्ने गरेका छन् ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: