नाकावन्दीले बनायो बेरोजगार

बारा, कात्तिक २०

वीरगन्ज, पथलैया औद्योगिक कोरिडोरमा पर्ने त्रिवेणी टेक्सटाइलमा दैनिक ज्यालादारीमा काम गर्ने छातापिपराका नरेश मण्डल डेढ महिनादेखि बेरोजगार छन् । कपडा उद्योगमा दैनिक ज्यालादारीमा काम गर्दै आएका मण्डलले महिनाको ९ हजार रुपैयाँ कमाउँथे। नाकाबन्दी र मधेस आन्दोलन चर्केपछि उद्योगले ज्यालादारी मजदुरलाई काममा नआउन उर्दी गरेपछि मण्डलको रोजीरोटी गुम्यो। 

दैनिक ३ सय रुपैयाँ आउँथ्यो, अहिले एक रुपैयाँ पनि आम्दानी छैन, मण्डलले दुखेसो गरे, रोजगार खोसिएपछि छोराछोरी र आमाबुबालाई पाल्ने चिन्ताले सताएको छ। तीन छोराछोरी र आमाबुबा गरी सात जनालाई पाल्न अहिले समस्या भएको र गाउँको खेतमा कृषि काममा खट्दा मुस्किलले दिनमा सय रुपैयाँ पाउने भएकाले खेतमा काम गर्दा पनि परिवार पाल्न धौ–धौ भएको उनको गुनासो छ। चाडबाड नजिकिँदै गर्दा छोराछोरी र परिवारका सदस्यलाई नयाँ कपडा किन्न र मीठो खुवाउन थप कमाउनुपर्ने बेला आर्थिक समस्या परेको उनले सुनाए।

जगदम्बा इन्टरप्राइजेजमा डन्डी र पाइप बनाउने काममा दैनिक ज्यालादारी काम गर्दै आएका अर्का मजदुर वसन्तपुरका स्वायल ठकुराई दुई महिनादेखि घरै बस्न बाध्य छन्। कच्चा पदार्थ सिद्धिएपछि उद्योग नचल्ने अवस्था आएकाले ठकुराई कामविहीन छन्।

स्वायल ठकुराईले उद्योगमा काम गर्दा ओभर टाइमसहित ८ हजारभन्दा बढी कमाउने गरे पनि दुई महिनादेखि उद्योगबाट एक रुपैयाँ पनि कमाउन नपाएको बताए। आन्दोलन र नाकाबन्दी जागिर गुमेपछि उनलाई पनि परिवार पाल्न गाह्रो भएको छ। कृषिका लागि खेतमा काम गर्दा मिहिनेत धेरै हुने कम पैसा पाउने र सधैंभरि काम नपाउने ठकुराई बताउँछन् ।  

जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रुम्टाले उद्योगको उत्पादनदेखि बिक्रीवितरण पूर्ण रुपले ठप्प भएकाले दैनिक डेढ सयजति मजदुरलाई कामबिनै तलब दिनुपरेको बताए। सांसदसमेत रहेका व्यवसायी रुम्टाले लामो समयदेखिको बन्दले उद्योग धराशयी भएको र स्थायी मजदुरलाई त्यसै तलब दिनुपरेकाले ज्यालादारीका मजदुरलाई काम लगाउन नसकिएको जनाए। स्थायी मजदुरलाई तलब दिने पैसा छैन। कसरी ज्यालादारीलाई काम दिने उनले भने, एक महिनादेखि उद्योग बन्द हुँदा मजदुरको तलबमा मात्र ३० लाख रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको छ।

सूर्य नेपालमा समेत बन्दका कारण लोडअनलोड काम गर्ने ६० भन्दा बढी मजदुर महिना दिनदेखि कामविहीन छन्। चुरोट उत्पादन गर्न अन्य मुलुकबाट आयात हुने कच्चा पदार्थ नाकाबन्दीले रोकिएका कारण उत्पादनमा कमी आएको र गाडी लोडअनलोड गर्ने मजदुर कामविहीन भएको उद्योगले जनाएको छ। लोडअनलोड मजदुरले दैनिक ४ सय रुपैयाँसम्म कमाउँथे।

वीरगन्ज, पथलैया औद्योगिक करिडोरकै ठूलो उद्योग जगदम्बा स्टिलमा लोडअनलोड कार्यमा खटिने २ सय ५० मजदुर अहिले बेकामे छन्। डन्डी, फलाम किलाकाँटी, जाली, एंगललगायत फलामका वस्तु उत्पादन गर्ने जग्दम्बाले मधेस आन्दोलन लम्बिँदा ज्यालादारी मजदुरलाई काम लगाउन सकेको छैन । उद्योग अहिले बन्दकै अवस्थामा पुगेको र स्थायी एवं अस्थायी मजदुरलाई काम नै नगराई तलब दिनुपर्ने अवस्था आएकाले दैनिक ज्यालादारी मजदुरलाई काम लगाउन नसकिएको उद्योगका सञ्चालक पवनबाबु अग्रवालले जानकारी दिए।

मधेसी मोर्चाको ८२ दिनदेखिको आन्दोलन र ४२ दिनदेखिको नाकाबन्दीले यस क्षेत्रका उद्योग बन्दै अवस्थामा पुगेपछि ज्यालादारीमा काम गर्ने मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। नेपाल ट्रेड युनियन कांग्रेस, बाराका सचिव ध्रुव रायले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका हुलास स्टिल, जगदम्बा स्टिल, हामा स्टिल, सूर्य नेपाल, डाबर नेपाल, पतञ्जली ग्रामो उद्योग, कन्साइन नेरोलक पेन्ट्स, त्रिवेणी ग्रुपका त्रिवेणी टेक्सटाइल, स्पिनिङलगायत सानाठूला गरी १ हजार २ सय उद्योगमा दैनिक ज्यालादारी काम गर्दै आएका १० हजारभन्दा बढी मजदुर अहिले कामविहीन छन्।

 

रायले मधेस आन्दोलन र नाकामा जारी धर्ना लम्बिँदासमेत सरकारले समस्या समाधान गर्नतिर नजाँदा दैनिक ज्यालादारीका मजदुर काम नपाएर चाडबाडका बेलासमेत भोकै बस्ने अवस्था आएको बताए। उनका अनुसार आन्दोलन प्रभावले उद्योग बन्द हुँदा तिनमा काम गर्ने ज्यालादारी मजदुर र तिनका परिवार प्रभावित भएका छन्। बन्दले मजदुरका छोराछोरीको शिक्षा, स्वास्थ्य र दैनिकी नै प्रभावित भएको छ।

 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले उद्योग नचल्ने अवस्था आएपछि १० हजारभन्दा बढी ज्यालादारी मजदुरलाई काम लगाउन नसक्ने बाध्यता भएको बताए । करिब तीन महिनादेखि जारी मधेस आन्दोलनमा उठाइएका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिँदा त्यसको सबभन्दा बढी मार उद्योगी व्यवसायीलाई परेको केडियाले जनाए। उनले औद्योगिक कोरिडोरमा काम गर्ने अस्थायी र स्थायी गरी दैनिक ५० हजार मजदुरलाई दैनिक डेढ करोडभन्दा बढी रकम बिनाकाम तलबमा खर्च भइरहेको जानकारी पनि दिए। 

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय