काठमाडौं, कात्तिक २०
अध्यागमन विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यात्रा अनुमतिपत्र सरकारले अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) सँग गरेको सम्झौताअनुरुप हरेक यात्रा अनुमतिपत्र यान्त्रिक बनाउन लागिएको विभागले जनाएको छ। सम्झौताबमोजिम आगामी मङ्सिर ८ गतेदेखि एमआरपी जस्तै सबै यात्रा अनुमतिपत्र यन्त्रले पढ्नसक्ने बनाउने तयारी भइरहेको विभागका निर्देशक विश्वप्रकाश न्यौपानेले जानकारी दिए।
उनले राहदानी विभागको समन्वयमा विभागले यात्रा अनुमतिपत्रलाई प्रविधिमैत्री बनाउन लागेको जानकारी दिए। ुविभागको काम कारबाहीलाई सुलभ र प्रभावकारी बनाउन अनलाइन निवेदनलाई सुधार गर्न लागिरहेका छौँ, यात्रा अनुमतिपत्रलाई यान्त्रिक बनाउने अन्तिम तयारी भएको छु, निर्देशक न्यौपानेले भने।
आइकाओले सन् २०१५ नोभेम्बर २४ देखि विश्वका सबै मुलुकले हरेक यात्रा अनुमतिपत्रलाई मेसिन रिडेबल बनाउनुपर्ने नियम जारी गरेपछि नेपालको अध्यागमन विभागले उक्त प्रक्रिया सुरु गर्न लागेको हो।
गृह मन्त्रालय मातहतको विभागले खासगरी स्वदेशी तथा विदेशी नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने र समयावधि थप्ने, यात्रा अनुमति दिने तथा कानुनबमोजिम भएका अपराधको अनुसन्धान गरी कारबाही गर्नेलगायत काम गर्दै आएको छ । रासस