हिउँदे तरकारी कसरी लगाउने ? 

सिन्धुली, कात्तिक १९

सिन्धुली रतनचुराका डम्बर पद्यमा एग्रोभेट सञ्चालक विवस थापा हिउँदे तरकारी कसरी लगाउने भन्ने चिन्तामा छन् । हिउँदे तरकारी लगाउने समय भइसकेकाले इन्धनको अभावमा ट्याक्टरले जोत्न समस्या भएको उनले बताए ।

‘‘घरमा हल गोरु छैन्, ट्याक्टरले जोत्न इन्धन छैन्’’ उनले भने तरकारी लगाउने समय भइसक्यो, गोरु लगाउन समस्या छ । भनेको बेला पाइदैन । ट्याक्टरले एक घण्टा जोत्दा चार हलको मेलो जोतिन्छ । गोरु लगाउँदा चार दिन लाग्छ । गाउँघरमा ६ सय रुपैयाँ भन्दा घटिमा पाइदैन । हामी कृषिकलाई समस्या नै समस्या छ ।’’

थापा मात्र हैन इन्धनको अभावले सिन्धुलीका धेरै कृषकलाई हिउदे बाली लगाउन समस्या परेको छ । धान बाली भित्र्याएर हिउदे बाली लगाउने तयारीमा रहेका कृषकले इन्धन अभावका कारण हाते ट्याक्टर सञ्चालन गर्न पाएका छैनन् । तरकारी खेतिमात्र गर्ने कृषकहरु झन समस्यामा परेका छन् । उत्पादित तरकारी बजारसम्म ल्याउन पनि समस्या छ भने तरकारी लगाउन पनि समस्या भएको छ । बेलैमा हिउदेबाली लगाउन नपाए कृषकहरु मर्कामा पर्ने र उत्पादन पनि घट्ने थापाले बताए ।

धान काटेपछि हिउदे बालीको रुपमा कृषकहरुले गहुँ, जौ, आलुलगायतका बाली लगाउने गर्दछन । तर इन्धन अभाव भएपछि बाली लगाउन नपाउने भएपछि उनीहरु चिन्तामा छन् ।

जिल्लाका कृषकहरुले हिउदे बाली लगाउने वातावरण बनाइदिन जिल्ला कृषि विकास कार्यालय सिन्धुलीलाई आग्रह गरेका छन् । जिल्लाको विभिन्न गाविसमा कृषिमा आधुनिकिकरणका लागि भन्दै कृषि विकास गत वर्षमात्रै  ५० वटा हाते ट्याक्टर वितरण गरेको थियो भने यो वर्ष १४ वटा वितरण गरेको छ । अझै १५ वटा वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयले कृषिमा आधुनिकरण भन्दै अहिलेसम्म हजारौ हाते ट्याक्टर वितरण गरिसकेको छ । कृषकहरुले खेतिपातीमा हाते ट्याक्टरको प्रयोग गर्दै आएका थिए ।

जिल्लाको कुल २५१८७९ हेक्टर क्षेत्रफल जमिन मध्ये ६२ हजार ७१३ हेक्टर कुल खेतियोग्य जमिन मध्ये हाल ४९ हजार ७८९ हेक्टर क्षेत्रफमा खेति हुँदै आएको कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत होम राज विष्टले जानकारी दिए । १३ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

कार्यालयले बाली लगाउने कृषकहरुको लागि इन्धन उपलब्ध गराउन नसके पनि धान झार्ने समय भएकाले थ्रेसरको लागि २५ लिटर इन्धन दिने बताएको छ । कार्यालय प्रमुख विष्टका अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको प्रशासन र राजनीतिक दलका प्रतिनिधिहरुको छलफलबाट जोत्नको लागि भन्दा धान झार्नको लागि एउटा थे्रसरलाई एक पटकमा २५ लिटर इन्धन दिने सहमति भएको छ ।

कृषि विकास कार्यालयको अनुरोधमा प्रशासनको सिफारिसमा एक पटक २५ लिटर इन्धन लगेपछि उसले कुन किसानको कत्ति धान झार्यो सबै विवरण ल्याएपछि मात्र अर्को पटक इन्धन दिने सहमति भएको उनले जानकारी दिए । कृषकहरुलाई पाकेको धान भित्र्याउन समस्या नहोस भन्दै थे्रसरलाई इन्धन दिने सहमति भएको उनले बताए ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: