कुखुरामा मात्र दिनमा १४ करोड घाटा 

काठमाडौं, कात्तिक १६ 

भारतले गरेको अघोषित नाकाबन्दीका कारण कच्चापदार्थ आयात र इन्धन अभावका कारण पोल्ट्री व्यवसायमा मात्रै दैनिक १४ करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ। महिना दिनदेखि उक्त रकम दैनिक घाटा जाने गरेकाले व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले जनाएका छन्। कुखुरालाई खुवाउन उत्पादन हुने दाना, चल्ला र अन्डामा दैनिक १४ करोड क्षति बेहोर्नु परेको हो। नेपाल पोल्ट्री महासंघका अनुसार करिब ६० अर्बको लगानी छ। 

नाकाबन्दीका कारण कच्चापदार्थ आयात गर्न नसक्दा दैनिक करिब १४ करोड घाटा बेहोर्नु परेको महासंघका प्रथम उपाध्यक्ष एवं नेपाल दाना उद्योगका केन्द्रीय अध्यक्ष नारायण खत्रीले बताए। दाना बनाउने करिब ७० प्रतिशत कच्चा पदार्थ भारतलगायत अन्य देशबाट आयात गर्ने गरेका छन्। तराईमा भइरहेको बन्द हडताल र भारतको नाकाबन्दीका कारण दुई महिनादेखि कच्चा पदार्थ आयात ठप्प छ। 

कोलकाता, रक्सौल, खुक्खा बन्दरगाहमा कुखुरालाई खुवाउने दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ रोकिएको दाना उद्योग संघले जनाएको छ। ‘दाना उत्पादनमा प्रयोग हुने मकै, भटमासको पिना, ढुटो, मिनो एसिडलगायत औषधि भारतबाटै आयात हुँदै आएको थियो,’ खत्रीले भने, ‘दाना उत्पादन गर्ने कच्चा पदार्थ नाकामा रोकिँदा दाना उत्पादन व्यवसायीले दैनिक करिब ६ करोड घाटा बेहोर्दै आएको छ।’ नेपालको ११२ दाना उद्योगबाट दैनिक दुई हजार टन उत्पादन हुँदै आएको थियो। दुई महिनादेखि दाना उत्पादन ठप्प छ। 

त्यस्तै नेपालमा एक सय ७० ह्याचरी उद्योग छन्। जसबाट सातामा २५ लाख चल्ला उत्पादन हुँदै आएको छ। ह्याचरीबाट उत्पादित चल्ला ७२ घण्टाभित्र कृषकको खोरमा पुगिसकेको हुनुपर्छ। भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभावले कृषकसमक्ष चल्ला पुर्‍याउन नसकिएर उद्योगमै चल्ला नष्ट गर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन्। ‘सातामा ३० हजार चल्ला गाड्नुपरेको छ,’ देवी फिल्ड ह्याचरी उद्योगका राम लामाले भने, ‘उत्पादित चल्ला बिक्री गर्न नसक्दा सातामा १२ लाख रुपैयाँको घाटा बेहोर्दै आएका छौं।’ 

उत्पादित चल्ला इन्धन अभावले ढुवानी ठप्प हुँदा कृषकसमक्ष पुर्‍याउन नसकेको व्यवसायीले दुखेसो पोखे। प्रतिगोटा ५५ रुपैयाँको लागतमा बिक्री गर्नुपर्ने चल्ला ३० रुपैयाँमा दिँदासमेत कृषकसमक्ष पुर्‍याउन नसकेको व्यवसायीले जनाएका छन्। चल्लामा मात्र सातामा करिब ७ करोड ५० लाख घाटा बेहोर्दै आएको व्यवसायीले जनाएका छन्। त्यस्तै, दैनिक २१ लाख प्रतिगोटा अन्डा उत्पादन हुँदै आएको थियो। 

नाकाबन्दीका कारण अन्डा उत्पादनमा ४० प्रतिशतले ह्रास आएको व्यवसायीहरू बताउँछन् । ‘दाना र औषधिको मूल्यमा अत्यधिक वृद्धि भएको छ,’ अन्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले भने, ‘बढी पैसा तिरेर किन्छुभन्दा पनि पाउन सक्ने अवस्था छैन।’ इन्धनको चरम अभावले अन्डाको ढुवानीमा समस्या परेको उनले बताए। प्रतिगोटा अन्डा ३ रुपैयाँमा दिँदासमेत बिक्री हुन नसकेको बताए। इन्धन अभावले व्यवसायीले दैनिक ६३ लाख घाटा बेहोर्दै आएको उनले बताए। 

दुई वर्षअघि बर्ड फ्लुका कारण डुबेको पोल्ट्री व्यवसाय केही उठ्न लागेको समयमा भूकम्प र नाकाबन्दीले पुनस् लत्याएको खत्रीले बताए। सरकारले रातो नम्बर प्लेटको सवारीसाधनलाई इन्धन नदिँदा ढुवानीमा थप समस्या परेको व्यवसायीको गुनासो छ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: