काठमाडौं, कात्तिक १४
अगाडि–पछाडि बसको लामो लाइन । बीचमा रहेको आफ्नो गाडीमा साथीभाइसँगै टाइम पास गर्दै थिए, चालक सुमनकुमार श्रेष्ठ । तास राम्रै परेजस्तो देखिन्थ्यो तर उनले सबै कुरा हार्दै गएको सुनाए। म जुवाडे होइन, डिजलका लागि लाइन बसेको, टाइम पास गर्न यसो खेलेको, सगरमाथा यातायात अन्तर्गत काठमाडौं–मन्थली रुटका चालक श्रेष्ठ भन्छन्, तर यही तेलसँग मैले सबै कुरा हार्दैछु ।
मंगलबार अपराह्नबाट भक्तपुर, थिमीस्थित सशस्त्र प्रहरीद्वारा सञ्चालित गुह्येश्वरी तेल पम्पमा लाइन लागेका श्रेष्ठले बिहीबारसम्म पालो पाएका थिएनन् । लामो समय तेलको लाइनमा रोकिनुपर्दा गाडीको किस्तासँगै बालबच्चाको फी र परिवारको रोजिरोटी सबै रोकिँदैछ, उनले भने, यो क्रम कहिलेसम्म चल्ने हो, अझै थाहा छैन ।
२०–३० लिटर डिजलका लागि लामो समय लाइनमा बिताएका उनले त्यतिले रामेछापको मन्थलीसम्म पुग्न नसकिने सुनाउँछन् । यसपछि अर्को पम्पमा लाइन लाग्ने हो, उनले सुनाए, तेल खोज्दाखोज्दै भएको पनि सकिने अवस्था आइरहेको छ ।
भूकम्पले भर्खरै तंग्रिन थालेको यातायात व्यवसाय नाकाबन्दीको मारमा पर्दा धेरैको अवस्था सुमनकुमारको जस्तै भएको छ । स्टेयरिङ घुमाउँदै गाडीलाई उकाली–ओराली गराउनुपर्ने उनीहरुको गतिशील जीवन अहिले तेलको लाइनमा लगभग रोकिएको छ । लामो समय तेलको लाइन बसेर पनि तेल नपाउने स्थितिले उनीहरुको बेहाल छ । परिवारको रोजिरोटीका लागि सवारी चलाउने उनीहरु भोकभोकै लाइनमा छन् । नाकाबन्दी भूकम्पपछिको अर्को ठूलो कम्पन बनेको छ ।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले औपचारिक घोषणाबिनै नाकाबन्दी लगाएको हो । मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै गरिएको भारतीय नाकाबन्दीका कारण वीरगन्ज, नेपालगन्ज, विराटनगर, काँकडभिट्टा, भिट्टामोड, भैरहवालगायत सबै नाकाबाट पेट्रोलियम पदार्थसहित अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति प्रभावित बनेको छ जसबाट सर्वसाधरणमा सकस बढ्दो छ ।
मध्यपुर यातायातअन्तर्गत बोडे–रत्नपार्क रुटमा चल्ने बा३ख ४११३ नंम्बरको मिनिबसका चालक कर्णबहादुर देउजा भूकम्पले जस्तै नाकाबन्दीले झनै पिरोलेको सुनाउँछन् । वैशाख १२ को भूकम्पले घर भत्किँदा आफ्ना पिता गुमाएका देउजाको काँधमा अहिले परिवारको जिम्मेवारी थपिएको छ तर डिजल नपाउँदा आम्दानी भने घट्दो छ ।
भक्तपुरमा रहेका श्रीमती र एकवर्षे छोराको सँगै गाउँको घरमा रहेका साना भाइ र बहिनीको पढाइ खर्च तथा आमाको घरखर्च सबै यही गाडीको कमाइ हो, उनले भने, तेल अभावमा गाडी रोकिँदा सबै कुरा रोकिन थालेको छ । भत्केको घर ठड्याउने उनको सपना नाकाबन्दीले फेरि भत्काएको छ ।
तेल अभावमा गाडीसँगै परिवारको गति पनि रोकिएको उनले सुनाए । म तेलको लाइनमा छु, परिवार मैले पठाएको खर्च आउने प्रतीक्षामा छ, उनी भन्छन्, अहिले निकै तनाबमा छु । बिहीबार बिहानैदेखि लाइनमा बसेका उनले दिउँसोसम्म पनि तेल पाउने/नपाउने केही पत्तो नभएको सुनाए । नियमसियम त्यस्तो केही छैन, बाग्मती आयलमा लाइन लागेका उनले भने, कहिले पाइन्छ, कहिले पाइन्न ।
६ वर्ष सहचालक रहेका कर्णबहादुर डेढ वर्षयता चालक बनेका थिए । साहुको सवारी चलाएर परिवारलाई नयाँ मोड दिने उनको सपना थियो । आम्दानी राम्रै थियो । भूकम्पले घरबार भत्काए पनि काम जारी रहेकाले उनी जीवनप्रति आशावादी थिए । अब त कामै भत्केको छ, उनले भने, यस्तो बेला खुसी हुन सकिँदो रहेनछ । आफूहरुजस्ता चालकको समस्या बुझेर राज्यले बेलैमा पहल गर्नुपर्ने उनले सुनाए । हामीले हिम्मत नहार्दै राज्यले आँट देखाउनुप¥यो, उनले भने, नत्र हामीलाई उठ्न निकै कठिन छ ।
लामो समय लाइन बसेर पाइने तेलले सवारी राम्रोसँग चल्न नसक्ने चालकका साझा गुनासो हो । पालैपालो गरेर भए पनि चाहिने मात्रामा तेल दिए केही सहज हुने उनीहरु सुनाउँछन् । काठमाडौंबाट जिरीसम्म आउन–जान १ सय ४० लिटर आवश्यक पर्छ, अरनिको यातायातका चालक दीपक चौलागाईं भन्छन्, तर हामीले एउटा पम्पबाट ३० लिटर मात्र पाउँछौं, बरु सातामा एकपटक तेल देओस् फुल ट्यांकी देओसर । तेल दिने पम्पहरुले पनि दुःख दिने गरेको उनीहरुको गुनासो छ । कति तेल दिने हो, लाइनको कुन गाडीसम्मले पाउँछन्, पहिल्यै प्रस्ट गर्दिए सवैलाई सजिलो हुने चालकहरु सुनाउँछन् ।
रोवालिङ यातायातका राम कार्कीको भनाइ उस्तै छ । काठमाडौंबाट दोलखा जाने गाडी चलाउने उनी यसैको आम्दानीबाट परिवारको गुजारा चल्ने सुनाउँछन् । तेल अभावले अहिले उनको लय बिग्रिएको छ । तेलको लाइन बस्दा दसैंको टीका लगाउन घर जानसमेत पाइएन,ु उनले भने, ुतेलसँगै सबै कुरा जोडिएको छ । तेल पाए गाडी चल्छ, गाडी चले मेरो संसार चल्छ, उनले भने, तेल नहुँदा सबै ठप्प हुन्छ ।
नागरिकबाट