झापा, कात्तिक १४
वैदेशिक रोजगारीको सकारात्मक चर्चा हुँदा रेमिट्यान्सको मात्रै र नकारात्मक चर्चा हुँदा सयौं विषय सरर आउँछन् । परिवार बिथोलिएकादेखि जिउज्यानकै असुरक्षाको कुरा पनि चर्चामा आउँछ । वैदेशिक रोजगारीबारे सकारात्मक कम तर नकारात्मक धेरै विषयबारे ठूला बहस पनि समाजमा प्रशस्त भएका छन् । यसका सकारात्मक पाटो अरू पनि छन्, जसले नेपाली समाजलाई समृद्ध बनाउन परोक्ष रूपमै भए पनि सघाइरहेको छ ।
जस्तो कि श्रमको महत्व र मेहनतमा विश्वासी हुन पनि नेपाली तन्नेरीलाई विदेशी भूमिले सिकाइरहेको छ । गाउँघरमा सानोतिनो काममा आँखा नलागेर विदेश हानिएका र गाउँघरमा गरिखाँदैन भन्ने छवि बनाएका धेरै तन्नेरी छोटो समयको विदेश बसाइपछि बदलिएर फर्केका मात्रै छैनन्, उतैको प्रेरणाले उद्यमी पनि बनेका छन् ।
झापा दुहागढीका ३५ वर्षीय पुष्कल तामाङ त्यस्तै एक प्रतिनिधि हुन्, जसले विदेशबाट फर्केपछि मात्रै आफ्नो खेतबारीको महत्व बुझे । कुनै बेला खेतीपाती राम्ररी गर्ने आमाबाबुको आग्रह लत्याएर उनले ठेक्कापट्टाको बाटो रोजे । घरमा झगडा गरेरै भए पनि बैंकमा जमिन राखेर पैसा निकालेँ अनि ठेक्कामा पैसा हालेँ, उनले ७ वर्षअघिको घटना सम्झिए, तर, पैसा डुब्यो । तैपनि खेतीमा मन गएन । अनि व्यापारमा ऋण गरेर पैसा हालें, त्यहाँ पनि डुब्यो । सबैतिर असफल हुँदा आफू झन्डै डिप्रेसनमा गएको उनको भोगाइ छ । केही नलागेपछि खाडीतिर गएका उनी २ वर्ष मलेसिया बसेर फर्किए । त्यहाँ गएर पनि गतिलो काम पाइएन । खेतीमै मजदुरी गरियो, उनी सुनाउँछन् ।
छुट्टीमा घर आउँदा नै उनले सोचिसकेका रहेछन्— त्यहाँ गर्ने मेहनत आफ्नै खेतमा गर्ने । ३-४ वर्षमै उनको परिवारको आर्थिक हैसियत फेरिएको छ । यत्ति कुरा थाहा पाउन उनलाई मलेसियामा २ वर्ष घोटिनुप¥यो ।
मेचीनगर–७ काहेद्लु मेचे एक त्यस्तै पात्र हुन्, जसले खाडीको बसाइबाट पैसामात्रै चिनेनन्, त्यसको आर्जनका लागि खर्चिनुपर्ने श्रमको महत्व पनि बुझे । ७ वर्षअघि मिठो सपना बुनेर दुबई हानिएका उनी अहिले फर्केर आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । यत्तिको मेहेनती हुन र कामको महत्व मलाई विदेशले सिकायो, हेद्लु भन्छन् ।
नागरिकबाट