
सोल, कात्तिक १३
कोरियाले एक नेपाली महिलालाई मानार्थ नागरिकता प्रदान गरेर सम्मान गरेको छ । समाजसेवामा विशेष योगदान पु¥याएको भन्दै वोमन फर वोमनकी बरिष्ठ सल्लाहकार जुनु गुरुङलाई कोरियाको सोल महानगरपालिकाले सम्मानसहित मानार्थ नागरिकता प्रदान गरेर सम्मान गरेको हो ।
राजधानी सोलमा आयोजित विशेष समारोहका वीच सोलका नगरप्रमूख पार्क वोन सुनले जुनुलाई सम्मान सहित मानार्थ नागरिकता प्रदान गरेका थिए ।
झण्डै आठ वर्ष अघि व्यावसाय भिषामा कोरिया प्रवेश गरेकी जुनुले वोमन फर वोमन संस्था मार्फत दुःख पाएका नेपाली चेलीलाई उद्धार र सहयोग गर्दै आएकी छिन् । कृषि र कोरियन नागरिकसँग विहे गरी यहाँ आएर दुःख पाएका, विरामी परेर उपचार खर्चको अभावमा परेका, घरेलु हिंसा र यातना पाएर घर निकाला गरिएका नेपाली चेलीहरुलाई उद्धार र सहयोगमा यो संस्था सक्रिय रहदै आएको छ ।
संस्थालाई कसरी अगाडि बढाउनुपर्छ र दुःख पाएर चेलीलाई कसरी उद्धार र सहयोग गर्न सकिन्छ भन्ने बारेमा नयाँ नयाँ सोच ल्याउने गरेकी जुनुले संस्थाको अध्यक्ष पदमा रहदाँ झण्डै पाँच सय भन्दा बढीलाई सहयोग गरेकी थिइन् । जुनुले सन् २०१२ मा संस्थाको अध्यक्ष पद सम्हालेकी थिइन् ।
वोमन फर वोमन मार्फत दोङदोमूनस्थित महिला सेल्टरमा अहिले इपिएस मार्फत कोरिया प्रवेश गरेर काम छोडेर कामको खोजिमा रहेका नेपाली चेली र कोरियन श्रीमानबाट प्रताडित नेपाली महिलालाई आवास र खानाको व्यवस्था हुँदै आएको छ । संस्था र सेल्टर व्यवस्थापनका लागि आवश्यक आर्थिक जोहोका लागि जुनुको पहलमा कोरियन तथा नेपाली चाडहरुमा विभिन्न कार्यक्रम हुदै आएको छ ।
त्यस्तै संस्थाले विभिन्न समयमा नेपाली चेली तथा युवालाई लक्षित गरी फ्रि मेडिकल, कोरियन भाषा कक्षा, सिप मुलक तालिम पनि सञ्चालन गर्दै आएको छ ।
सोल महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै जुनु सहित सोह्र विदेशीलाई एक समारोहका वीच मानार्थ नागरिकता दिएको थियो । समारोहमा सोलस्थित नेपाली दुतावासका राजदूत कमानसिंह लामा सहित विभिन्न मुलुकका कुटनीतिक अधिकारीहरु सहभागि थिए ।
जुनु सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या चार पुगेको छ । यस अघि एनआरएनका पुर्व अध्यक्ष के पी सिटौला र वर्तमान अध्यक्ष राजु क्षेत्रीले पनि मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् । यसैगरी सोलले अहिलेसम्म ९२ मुलुकका झण्डै ७ सय ४० जनालाई मानार्थ नागरिकता दिइसकेको छ ।
यो वर्ष मानार्थ नागरिकता पाउने जुनु गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको वर्तमान उपाध्यक्ष समेत हुन् ।
हेल्लोकोरिया डटकमबाट