
दमाम (साउदी अरब), कात्तिक १२
वैदेशिक रोजगारीको सिलसिलामा १० महिनाअघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् । धन कमाउने सपना बोकर विदेसिएका उनी अहिले खाडीको जेलमा परेका हुन् । बुबाको निधन भएपछि काजकिरियाका लागि स्वदेश जाने विषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसकेपछि श्रेष्ठ जेल जान परेको हो ।
म साउदी अरब आएको एक महिनापछि घरमा आगलागी हुँदा बुबाको जलेर मृत्यु भएको खबर पाएँ, रियादको सफर जेलबाट टेलिफोन गरेर पीडित श्रेष्ठले भने, बुबाको किरिया गर्न स्वदेश जान्छुभन्दा जेल जानुपर्यो । बाबुको मृत्युको खबरले भावबिह्ल भएका श्रेष्ठ काजकिरियाका लागि स्वदेश जान छुट्टी माग्दा रोजगारदाताले नौ महिनादेखि आलटाल गर्दै आएको र अहिले प्रहरीमा उजुरी गरिदिएपछि बिनाकसुर जेल जान बाध्य पारेको उनले बताए ।
सुरुमा त यो विषयमा कहाँ कसलाई जानकारी गराउने भन्ने थाहा नै भएन, श्रेष्ठले भने साथीहरुको सहयोगमा नेपाली दूतावास रियादमा सम्पर्क गरेर दूतावासबाट आपत्कालीन समस्या परेकाले स्वदेश पठाउन अनुरोधसहितको पत्र लगेर कम्पनीलाई बुझाएँ ।
पीडित श्रेष्ठका अनुसार उक्त पत्र कम्पनीलाई बुझाएपछि कम्पनीले अनावश्यक दोष देखाएर उहाँकै विरुद्धमा प्रहरीमा उजुरी दिएपछि आफैँ आत्मसर्मपण गरेर जेल जानुभएको हो । स्वदेश जाने विषयलाई लिएर रोजगारदाताले महिनौदेखि मानसिक तनाव दिँदै आएको श्रेष्ठले सुनाए ।
रोजगारदाताले प्रहरीमा उजुरी गरिदिएपछि साउदी अरबमा स्वतः अवैध ठहर्ने प्रावधान छ । जेल आएपछि दूतावाससँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको श्रेष्ठले गुनासो गरे। रियादको सफर जेलमा रहेका श्रेष्ठले दूतावासको टेलिफोन नं ९६६ ११ ४६१११०८ र ९६६ ११ ४६४५१७० मा कयौँंपटक सम्पर्क गर्दा पनि फोन नै नउठ्ने गरेको दुःखेसो पोखे ।
रियादमा रहेको मोहम्मद अल हुसेन डोसरी कम्पनीमा ड्राइभर भिसामा आएका श्रेष्ठले दुई महिनाको पारिश्रमिक समेत पाउनुभएको छैन । बुबाको निधनपछि घरमा रहेका वृद्ध आमा र श्रीमती थप समस्यामा परेको उनले बताए । श्रेष्ठसँगै तीन महिनादेखि बिनाकसुर जेल जीवन बिताइरहेका स्याङ्जा आरुखर्कका राजु परियारले जेलमा रहेका नेपालीको उद्धारमा दूतावासले बेवास्ता गरेको गुनासो गरे ।
आफू कार्यरत कम्पनीले पारिश्रमिक नदिएपछि भागेर अन्यत्र काम गर्दा अवैध कामदारका रुपमा आफू जेल जानुपरेको उनले बताए। दूतावासले पहल नगरेसम्म आफूहरु स्वदेश जान असम्भव रहेकाले जतिसक्दो छिटो स्वदेश फिर्तीका लागि पहल गरिदिन उहाँले आग्रह गरे । परियारका अनुसार उक्त जेलमा विभिन्न समस्यामा परेका र भगौडा अवैध कामदार गरी हाल ५० जना नेपाली रहेका छन् ।
यता नेपाली राजदूतावास साउदीका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले भने नेपाली कामदार जेलमा आउने–जाने क्रम सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिए । जेल परेका नेपालीको उद्धारका लागि यसअघि दैनिकजसो दूतावासबाट कर्मचारी पठाउने गरिएको भए पनि अहिले दसैं बिदामा रहेकाले कर्मचारी पठाउन नसकिएको शर्माले बताए । ‘जेल परेका नेपालीको मुद्धा अनुसन्धानका लागि प्रहरीले समय लगाउने भएकाले ढिलाइ भएको हो’, शर्माले भने, ुजेलमा रहेका नेपालीलाई स्वदेश फिर्तीका लागि दूतावासले जतिसक्दो छिटो पहल गर्छ ।
अन्नपूर्ण पोष्टबाट