
काठमाडौं, कात्तिक ११
दुई महिनादेखि तलव नपाएका ३७ नेपालीले आफूहरुलाई तलव दिलाइदिन र नेपालमा गरिएको सम्झौता अनुरुप तलव सुविधा दिलाइदिन अपिल गरेका छन् । उनीहरुले आफूहरुलाई सम्झौतापत्रमा उल्लेखित तलव र सुविधा नदिइएको भन्दै सहयोगका लागि जिफन्ट सपोर्ट ग्रुप, साउदीमा निवेदन दिएका हुन् ।
जिफन्ट सपोर्ट ग्रुप साउदी अरेवियाका संयोजक राज तामाङका अनुसार ९ महिना अघि रोजगारीका लागि साउदी अरव पुगेका उनीहरुले आफूहरुले नेपालमा गरिएको सम्झौता बमोजिमको तलव माग्दा कम्पनीले दिन नमानेको र दुई महिनादेखि तलव समेत रोकेर राखेको बताएका छन् । साउदी अरव पुगेपछि उनीहरुले आफूहरुलाई नेपालमा भनिएको भन्दा थोरै तलव, सुविधामा कम्पनीले हस्ताक्षर गराएको बताएका छन् ।
यस बारेमा नेपालबाट पठाउने म्यानपावर कम्पनीमा फोन मार्फत जानकारी गराउँदा उल्टै धम्क्याएको पीडित मध्येका एक अलउद्धिन मियाँले बताए । उनीहरु काठमाडौंको सिनामंगलमा रहेको म्यानपावर लिंक प्राली मार्फत रोजगारीका लागि साउदी अरव पुगेका थिए ।
निवेदनमा उनीहरुले आफूहरु काम गर्न ईच्छुक रहेको भन्दै सम्झौता बमोजिमको तलव दिने वातावरण बनाइदिन आग्रह गरेका छन् ।