एनआरएनए भ्रम र यथार्थ

अमृत पन्त

सन् २००३ मा स्थापना भएको एनआरएन भन्ने संस्थाको बारेमा नेपाली जनमानसमा केही गम्भीर भ्रमहरु रहन गएकोमा यो लेखमार्फत् यी भ्रमहरु चिर्ने र यथार्थ पस्कने कोशिश गरिएको छ।

धनाढ्य क्लब
गएको केही दशक यता मातृभूमि छोडेर बिदेसमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या एकदमै बढेर गएको छ। बिशेष गरी सन् २००० यता माओबादी जनयुद्दको कारण देखाइ एसाइलम लिने र डिभी परेर बिकसित मुलुकमा पलायन हुनेहरुको संख्या चुलिएको छ। यी मध्ये केहिले राम्रो आर्थिक सफलता पनि हासिल गरेका छन्। यस्तै मेसोमा मस्कोमा आफ्नो कर्मक्षेत्र बनाएर धनाढ्य बन्न सफल उपेन्द्र महतोले स्थापना गरेको यो एनआरएन भन्ने संस्था उनी जस्तै धनाढ्यहरुको क्लब बन्न पुगेको छ। यसको ज्वलन्त उदाहरण एनआरएनसँग गोरु बेचेको पनि साइनो नभएका अस्ट्रेलिया निवासी अर्का धनाढ्य शेष घलेले रातारात अध्यक्षता हात पार्नु। यसो प्रतीत हुन्छ कि नेपालीको ब्यवसायिक सफलताको बरोमीटर नै एनआरएनको अध्यक्ष बन्नु हो। यसै चाँजोमा जापानमा रहेका अर्का धनाढ्य भवन भट्ट अर्को सम्मेलनमा अध्यक्ष बन्न जमजमाएर बसेका छन्।

 

पेसागत जागिरेको अनाकर्षण 
एनआरएनले पढेलेखेका र पेसागत जागिरे जस्तै डाक्टर, इन्जिनियर, बैज्ञानिक र प्रोफेसरहरुलाइ पटक्कै आकर्षित गर्न सकेको देखिदैन। यो वर्गले स्पष्ट रुपले एनआरएन भनेको ब्यवसायिक धनाढ्यहरुको कन्ट्री क्लब हो भनेर चिनेको छ, अनि उसलाई यो पनि थाहा छ कि एनआरएनले उसका कुनै पनि समस्यालाइ समाधान गर्ने सामर्थ्य राख्दैन।

डिभीवालाको सपना 
आर्थिक रुपले त्यति उठिनसकेका र आफ्नो श्रम बेचेर खाने केहि नेतागिरी प्रवृत्तिका नेपालीलाई एनआरएनको केहि मोह भने देखिन्छ। उनीहरुलाई एनआरएनको कुनै समितिको पदाधिकारी भएर अरुलाई आफु पनि सफल भएको देखाउन पाइन्छ भन्ने आशा देखिन्छ। यो कुरा फेसबुकको पोस्टहरुबाटै स्पष्ट देख्न सकिन्छ।

आधिकारिकताको भ्रम 
एनआरएन भन्ने संस्थाको नाम नै एक किसिमले भ्रमात्मक छ। नन रेजिडेण्ट नेपाली भन्ने नामैले कतै यो संस्था सम्पूर्ण नन रेजिडेण्ट नेपालीहरुको आधिकारिक र साझा संस्था पो हो कि भन्ने भ्रम धेरैमा रहेको पाइएको छ। वास्तविकता के हो भने एनआरएन विशुद्ध एउटा क्लब हो, यसमा प्रवेश गर्न निश्चित रकम तिर्नु पर्छ। यो क्लबमा छिर्नुको प्रमुख फाइदा भनेकै यसमा सिर्जना गरिएका र लोभलाग्दो गरी नामाकरण गरिएका विभिन्न पदमा प्रत्यासी हुन पाउनु हो। जेनरल एसेम्बली, इन्टर्नेशनल को-अर्डिनेशन काउन्सिल, नेशनल को-अर्डिनेशन काउन्सिल, रिजनल को-अर्डिनेटर, डेपुटी रिजनल को-अर्डिनेटर, प्याट्रोन काउन्सिल एंड एड्भाइजर आदि इत्यादी। त्यस्तै प्रत्येक देशको राष्ट्रिय समिति, अनि त्यो देशका राज्यहरुमा गठित समितिले धेरै पद सिर्जना गर्दछ र तपाई पनि लागिपर्नु भयो भने तपाँईले पनि एउटा पद उछिट्याउन सक्नु हुन्छ, अनि आफ्ना इस्टमित्र, नातागोताको अगाडि नेपालमा आएर डिङ्ग हाक्न पाउनुहुन्छ। तर निकै थोरै लगानीमा पनि नेपालका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीको अघिल्तिर अर्थ न बर्थ को प्रवचन सुनाउन पाउने अन्तर्राष्ट्रिय अध्यक्ष पदको सपना चाँही नेदेख्नुहोला, किनकि त्यो पद पैसावालाको पेवा हो।

प्रचारको भोक
नेपालमा हामी सबैले जेसिज र रोटरी क्लबको बारेमा सुनेकै छौ। मलाई यी संस्थाहरुको बारेमा धेरै नकारात्मक टिप्पणी गर्नु छैन तर यति चैं भन्नै पर्छ कि यी संस्थाहरुले सय रुपैंयाको काम गरे भने हजार रुपैंयाको पब्लिसिटी खोज्छन्। नजिकै बाढीपीडितहरुलाई १० थान कम्बल बाँडे भने यो कुराको योजना गर्न र पोस्ट-मोर्टम गर्न तारे होटेलमा हजारौ रुपैंया खर्च गर्छन्। प्रायस: शहरका अभिजात्य र ब्यापारिक घराना परिवारको सोसियलाइज गर्ने क्लब हुन् यी। यति हुँदाहुँदै पनि यी संस्थाहरुको एउटा सकारात्मक कुरो के छ भने यी संस्थाहरुले क्लब सदस्यहरुको व्यक्तित्व विकास गर्ने एउटा प्लेटफर्म दिन्छन् । शहरका कुलीन परिवारका छोरी बुहारीलाई घरबाट बाहिर निस्केर सामाजिक अभियानमा सरिक हुन प्रेरणा दिन्छन् ।

प्रवासी नेपालीको हकहितको लागि भन्ने अमूर्त उद्देस्य बोकेको एनआरएनको कथा अलिक भिन्न छ। बास्तवमा भन्ने हो भने एनआरएन जस्तो संसारभरि समिति रहेको संस्थाको औचित्य पुष्टी गर्न गारो छ। सयौं देशमा छरिएर रहेका प्रवासी नेपालीहरुको ठाउँ अनुसारको आफ्नै समस्या छन्, पेशा अनुसारका आफ्नै कठिनाईहरु छन्। यी समस्याहरुको समाधान त्यँही ठाउँको स्थानीय संगठनबाट हुनु पर्छ। अमेरिकाको एचवानबी भिसावालाको समस्या र कतारको हवालावाला श्रमिकको समस्या कसरी एनआरएनले सुल्झाउन मद्दत गर्नसक्छ, बुझ्न गारो छ। समिति बनाएर पदाधिकारी नियुक्त गर्दैमा समस्या सुल्झने त पक्कै पनि होइन होला।

नेपालमा यस वर्ष विनासकारी भूकम्पले गर्दा नेपालीले भोग्नु परेको पीडाले स्वदेश र विदेशमा बसेका नेपालीको आँखा भिजायो। त्यो दिन क्यालिफोर्नियाको सनिवेलमा बस्ने हामी नेपाली एकाबिहानै झिसमिसेमा दुख: साट्न र नेपालमा कस्तो सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्न भेला भयौं। सबैले मन खोलेर सहयोग गरे। यसै मेसोमा एनआरएनले पनि नेपालमा, विशेष गरेर अध्यक्ष घलेले सक्दो सहयोग गरे र राम्रै वाहवाही पनि पाए। हाम्रै संस्था सनी सगरमाथाले पनि राहत लिएर केहि पदाधिकारीलाई नेपाल पठायो। केहि एनआरएनवालाले हामी यसो गर्दिम्छ्म्, उसो गर्दिम्छम् भनेर उधारो आश्वासन बाँडेर हिडेको राष्ट्रिय टेलिभिजनमै देखियो। तर आजको जमिनी यथार्थता के हो भने एनआरएन त परै जावोस्, स्वयम् नेपाल सरकारले पनि ती भुकम्पपीडितहरुको निम्ति कुनै दिर्घकालिन बसोबासको जोहो गर्न सकेको छैन, यी सबै समस्याहरुको समाधान ती दुखी: परिवारका मलेसिया र कतारमा श्रम गर्ने तन्नेरीहरुले गर्नु पर्नेछ।

एनआरएन ले केहि पनि गरेकै छैन भनेको पनि होइन। उसले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा केहि थान ट्रली उपलब्ध गराएको छ। केहि एनआरएन पदाधिकारीहरुले व्यक्तिगत खर्चमा केहि परोपकारी काम पनि गरेका छन्। तर यस्ता झिनामसिना उपलब्धिहरुका बीच त्यो अरबौ डलरको लगानी भित्राउने पुरानो हावादारी गफ लाजमर्दो भएन र?

एनआरएनले अहिलेसम्म केहि गर्न सकेको छैन र भविष्यमा पनि केहि गर्न सक्नेछैन किनकि यस किसिमको संस्थाको हिजो पनि आवस्यकता थिएन र भोलि पनि हुने छैन। छिमेकी मुलुक भारतबाट संसारभर करोडौको संख्यामा आप्रवासीहरु फैलिएका छन् , के तपाईले एनआरआइ (नन रेजिडेण्ट इन्डियन) भन्ने संस्थाको नाम सुन्नु भएको छ? के त्यस्तो संस्था भए पनि त्यसले फिजी, सुरिनाम, मरिसस, अमेरिका, युरोप अस्ट्रेलिया, साउथ अफ्रीका आदि देशमा रहेका प्रवासी भारतीयहरुको समस्या समाधान गर्न सक्षम होला?

थाहा छ उपेन्द्र महतो धनि छन्, शेष घलेले पनि राम्रै उन्नति गरेका छन्। उनीहरुमा मातृभूमिको प्रति अगाध प्रेम छ भन्नेमा कुरामा पनि शंका नगरौ तर एउटा बास्तविकता के हो भने नेपालको समस्या महतो वा घलेको मिलियन डलरभन्दा महँगा छन्। घले र महतोले आफ्नो सबै श्रीसम्पति नेपालको निम्ति दान दिएपनि त्यसले यी यावत् समस्याको एकांश पनि समाधान गर्नेवाला छैन। नेपाल एउटा गरिब देश हो तैपनि यसले आफ्ना प्राथमिक स्कुलको लागि एक बर्षमा गर्ने खर्च महतो र घलेको संयुक्त सम्पत्तिभन्दा कैंयौ गुना धेरै छ। यदि महतो र घलेलाई साँच्चिकै देशको निम्ति केहि गर्न मनै लागेको हो भने आफ्नो सम्पतिको ट्रस्ट फन्ड बनाएर त्यस मार्फत अगाडी बढ्नुहोस्, अरु देशका मनकारी धनाढ्यहरुपनि त्यसै गर्छन्, न कि अर्थ न बर्थको जालो संगठन बनाएर त्यसको मुखिया बनेर आफ्नो पब्लिसिटी गर्ने। कुरो नचपाइकन भन्ने हो भने के कुरा जान्न पर्छ भने महतो र घले ब्यापारी हुन्, यिनीहरुको नेपालमा लगानी पनि छ। के उनीहरुले एनआरएनको माध्यमबाट नेपालका शक्ति केन्द्रहरुलाइ प्रभावमा पारेर ब्यापारिक फाइदा नेलेलान् भन्ने के ग्यारन्टी छ?

गर्नु पर्ने कुरा:
एनआरएनवालाहरु:
आजको समाज स्वतन्त्र समाज हो, तपाईहरु के गर्नु हुन्छ, कसरी संगठित बन्नुहुन्छ त्यो मेरो सरोकारको विषय भएन तर मलाई एउटा कृपा गर्दिनुहोस्, प्रवासी नेपालीहरुको हकहितको आधिकारिक संस्था भनेर मेरो फेसबुक नकोर्दिनुहोस् । माफ गर्नुहोस्, तपाईको संस्थाले मलाइ एकरत्ति पनि आकर्षित गर्न सकेको छैन। एउटा सुझाब पनि छ – बार्षिक १००० डलर सदस्यता शुल्क लिएर बिदेशमा सफलता हासिल गरेका नेपालीको कन्ट्री क्लब स्टायलको ढाँचा निर्माण गर्नुहोस् ।

प्रवासी नेपाली दिदीबहिनी र दाजुभाइहरु:
एनआरएन एउटा धनाढ्यहरुको क्लब हो बनेर बुझ्नुहोस्। मलाई थाहा छ तपाईहरु नेपाललाई औधि माया गर्नुहुन्छ, त्यसकारण आफ्नै बलबुतामा स्थानीय नेपालीहरुलाई समावेश गरेर नेपालको निम्ति केहि गर्नुस्, यो बढी प्रभावकारी हुन्छ।

नेपाल सरकार:
नेपाल सरकारले यस वर्ष पनि एनआरएन सम्मेलनको लागि भनेर लाखौ रुपैया खर्च गरेको खवर आएको छ। यो बडो आपत्तिजनक कुरो हो। महाभुकम्पले घर भत्किएर चुहिने पालमुनि सुत्न बाध्य जनताको एउटा ठूलो हिस्सालाई केहि गर्न नसक्ने सरकारले एउटा नितान्त निजी क्लबको सम्मेलनमा नेपाली करदाताहरुको पसिनाको कमाइ खर्च गर्नु अक्षम्य अपराध नै हो। त्यसमाथि राष्ट्रपति र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रीमंडल नै यो क्लबको सम्मेलनमा साझेदार जस्तो भएर उपस्थित हुनु नसुहाउने कुरो भयो। के भोलि मैले अर्को एनआरएन – एकीकृत भन्ने संस्था खोले भने यसले पनि त्यस्तै पहुँच पाउने छ ? सुन्नमा आएको छ, बेलायतमा बुद्धिजीवी र प्रोफेसनलहरु मिलेर अर्को संजाल बनाउने जमर्को गरेका छन् रे, के उक्त संस्थाको सम्मेलनमा पनि राष्ट्रपति पुग्ने छन्?

छिमेकी मुलुक भारतमा झैँ आफ्ना प्रवाशी नागरिकहरुको निम्ति हरेक वर्ष सरकारी रुपमै आप्रवाशी महोत्सव बोलाउनु पर्छ। यस्तो सम्मेलनमा एनआरएन पनि एउटा सहभागी भएर आउनु पर्छ। अनि त्यस सम्मेलनमा आफुले बिदेशीको बच्चा हेरेर आएको पैसाबाट केहि बचाएर नेपालमा वृद्धाश्रम चलाउनु भएकी मिना दिदी, अमेरिकाको सान फ्रान्सिस्कोमा आफ्नो गाँस कटाएर नेपालमा अनाथालय चलाउने मित्र विश्व भट्ट र क्यालिफोर्नियाको सनिवेलमा नेपालीहरुलाई सुख-दुख:मा साथ दिदै आएको संस्था सनी सगरमाथा पनि आ-आफ्नो बुथ लिएर त्यहाँ उपस्थित हुनेछन् ।

माइसंसारबाट 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय