साउदीबाट एक नेपाली महिलाको उद्धारको अपिल 

काठमाडौं, असोज २७– तीन महिना देखि साउदीको एक जेलमा थुनिएका एक नेपाली महिलाको उद्धारका लागि परिवारले अपिल गरेका छन् । सन् २००९ मा घरेलु कामदारको रुपमा काम गर्न साउदी पुगेकी रुपन्देही, मक्रहर प्रगतिनगरकी जुनु परियारको उद्धारका लागि उनका बाबु बुधे दर्जीले अपिल गरेका हुन् । 

दर्जीले आफ्नी छोरीले केहि महिना अगाडी देखि फोन नगरेको भन्दै उनको सत्यतथ्य पत्ता लगाईदिन भन्दै नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) मा निवेदन दिएका थिए । 

परिवारको निवेदन पश्चात उनको खोजि गर्दा उनी साउदीको सगर मुकर जेल, रियादमा रहेको पत्ता लागेको जिफन्टको माइग्रेण्ट डेस्क प्रमुख निशा बानियाँले बताइन् । उनका अनुसार जुनुको जेलबाट रिहाई र स्वदेश फिर्तिका लागि साउदी स्थीत नेपाली दुतावासले नै आवश्यक प्रकृया अगाडी बढाउनु पर्नेछ । 

साउदीमा जेल परेकी जुनुको रिहाईका लागि आवश्यक व्यवस्था मिलाउन जिफन्ट सपोर्ट ग्रुप साउदी अरेवियाले त्यहाँस्थीत नेपाली दुतावासलाई आग्रह गर्दै निवेदन दिएको छ । 

सपोर्ट ग्रुपका संयोजक राज तामाङले दुतावासलाई एक नेपाली चेली विदेशी भूमिका जेलमा परेको जानकारी आएको भन्दै उनको जीउधनको रक्षा गरी स्वदेश झिकाउने वातावरणका लागि निवेदन मार्फत आग्रह गरेका हुन् । 

जुनु गत जुलाई २२ मा पक्राउ परेको प्रहरी अभिलेखमा देखिएको छ । जुनुकी भाउजु रुपाका अनुसार उनले आज(बुधवार) पनि घरमा फोन गरेर आफूलाई नेपाल फर्काउन कसरी सकिन्छ प्रयास गर्न भनेकी थिइन् । ‘छोराहरुको पीर लागिरहन्छ, म त यतै मर्छु होला भन्दै चिन्ता गर्दै हुनुहुन्थ्यो’ रुपाले भनिन् ‘उनलाई नेपाल फर्काउन कसरी सकिन्छ प्रयास गरिदिनु पर्यो ।’   

जिफन्ट सपोर्ट ग्रुपले उनलाई नेपालबाट पठाउने दलाल र कम्पनीलाई पनि हदैसम्मको कानूनी कारवाहीको माग समेत गरेको छ । उनी के अभियोगमा थुनामा परेकी हुन् भन्ने प्रष्ट नभएपनि उनले आफ्नो साथमा पासपोर्ट नभएकाले थुनेको परिवारलाई बताएकी छिन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय