काठमाडौं, असोज २२- खाडीबाट नेपाल उड्ने यात्रु बिमानहरुले आफूलाई चाहिने इन्धन बोक्नुपरे पछि यात्रु कटौती गर्न थालेका छन् । त्रिभुवन बिमानस्थलमा फर्कदा इन्धन भर्न नपाएपछि विमानहरुले थप इन्धन बोक्नु परेको हो ।
दशैको मुखमा बिदामा घर जानेहरुले टिकट पाउन छोडेका छन् । सबैभन्दा धेरै उडान भर्ने कतार एयरवेजले समेत दुई वटा उडान कटौती गरेर ठूला जहाज पठाउन थालेको छ ।
‘दैनिक चार उडान भर्ने गरेको नेपालमा इन्धन पाउन समस्या हो’, कतार एयरवेजका एक अधिकारीले भने,‘अहिले दुई उडानमा सिमित राखेका छौं । ठूलो ट्याङकी भएको ठूलो बिमान पठाउन थालेका छौं ।’
नेपाली ध्वजाबाहक बिमान नेपाल एयरलाइन्सले पनि क्षमता अनुसार यात्रु बोकेको छैन । ‘यसबेला यात्रुको निकै ठूलो दबाब छ । कतारबाट यात्रु जाने मुख्य सिजन हो’, कतारस्थित नेपाल एयरलाइन्सका एक अधिकारीले भने,‘हामीले यात्रु कटौती गरी तेल बढी बोक्न थालेका छौं ।’
बिश्वभरबाट नेपाल आउने विमानको मुख्यरुपमा कतार, युएई र ओमन ट्रान्जिट पर्छ । खाडीबाटै उल्लेख संख्यामा बिदामा जाने कामदार त्यति नै हुने गरेका छन् ।
‘सबैभन्दा धेरै यात्रु कतार एयरवेजमै भर पर्छन् । झन बिमानले उडान सख्या नै कटौती गरेपछि सिस्टममै टिकट देखाएको छैन’, ट्राभल एजेन्सीमा कार्यरत उमेश श्रेष्ठले भने,‘ टिकट नपाएर घर जान नपाएका नेपालीहरु निराश छन् ।’
दुई बर्षमा बिदा पाएर घर जान खोजेकाहरु टिकट नपाएपछि निरास छन् । ‘यसपाली बल्ल तल्ल दशैमा घर जान पाउने भनेर फुरुङ्ग भएको थिएँ’, दोलखाका रीत अधिकारीले भने,‘कतै टिकट नै पाइएन ।’
घर फर्कन पाउनेहरु भने काठमाडौंबाट घरसम्म पुग्न नसकिने हो कि भन्ने चिन्तामा छन् । ‘यहाँबाट टिकट त पाइयो’, एक महिने बिदा पाएका दाङका गणेश बन्जाडेले भने,‘काठमाडौंबाट टिकट पाउने हो कि चिन्ता लागेको छ ।’
कान्तिपुरबाट