सीपले फेरिएको जीवन (भिडियो सहित)

सुनिल न्यौपाने(कैलालीबाट फर्केर) असोज १९ 

प्रमिलादेवी चौैधरी(३४) हामी उनलाई खोज्दै उनको घरमा पुग्दा पसलमा सिलाई मेसिनमा खरर्रर कपडा सिलाउँदैै गरेकी भेटिइन् । कैलालीको एउटा ग्रामिण भित्रि बस्तीमा उनको घर छ र त्यहि घरको बाटोसँगै जोडिएको सानो घरमा पसल । पसल थालेको पनि अव त दुई बर्ष टेक्यो । 

भित्री तराईको त्यो थारु गाउँमा सिलाईकटाईको काम गर्ने उनी एक्ली नै हुन् । त्यसैले कामको धेरै खाँचो छैन । एक्लैले भ्याउने अवस्था छैन । त्यसैले एकजना काम गर्ने स्टाफ पनि राखेकी छिन् । दुईचार बर्ष अघिको कुरा भनें फरक थियो । 

२०५४ सालमा विवाह भयो । एउटा छोरी र एउटा छोरा जन्मे । उनीहरु हुर्किंदै थिए । आफ्नै जग्गा थोरै नै थियो । ९ कठ्ठा । त्यतिको उव्जनीले खान पुग्दैनथ्यो । त्यसैले अरु १० कठ्ठा उनीहरु अधियाँ(आधा उव्जनी जग्गाधनीलाई दिनेगरी गरिने खेती) मा कमाउँथे । त्यतिको उव्जनीले खानलाउन पुगिरहेको थियो । 

तर २०६४ साल प्रमिलाका लागि जीवनको एउटा कष्टकर समय बोकेर आयो । उनका श्रीमान जण्डिसले बिते । अस्पताल लगेको तीन दिनसम्म त पत्तै लागेन उनलाई के भयो भनेर । तेश्रो दिन उनलाई जण्डिस भएको डाक्टरले बताए । त्यहि दिन उनले प्राण त्यागे ।   

श्रीमान वितेपछि दुःख बढ्यो । दुई छोराछोरीको पालनपोषण, घर व्यवहार सवै प्रमिलाको काँधमा आइलाग्यो । “त्यसपछि त के गरौं, कसो गरौं भयो । जता पनि अँध्यारो मात्र देख्थें” उनी त्यो समयलाई सम्झिंदै थिइन् ।    

आफ्नै ९ कठ्ठा जमिनमा समेत खेती लाउन सकिनन् उनले । पहिले अरुको १० कठ्ठा समेत थपेर खेती लाउने  प्रमिलाले आफ्नै जमिन अधियाँमा दिइन् । गाउँमा रोजगारीका अरु विकल्प थिएनन् । त्यसैले ज्यादै दुःखका दिन सुरु भए । 

एकपटक छोरा विरामी भयो । अस्पताल लैजाने पैसा भएन । गाउँमा सरसापट माग्दा कसैले पत्याएन । “त्यो दिन मलाई के भयो त्यो केवल मलाई थाहा छ” झण्डै चार बर्ष अघिको कुरा सम्झिंदा उनको गह अहिले पनि भरिन्छ । धन्य, गाउँकै एउटा महिला समुहले ऋण दियो र उनले छोराको उपचार गर्न पाइन् । 

श्रीमान वितेपछि उनलाई आर्थिक समस्या मात्र थिएन सामाजिक रुपमा लाञ्छना लगाउनेहरु पनि मौका पर्खेर बस्थे । “आफूले गर्न नसक्ने काम गर्न जसलाई बोलायो उहिसँग पाप लगाइदिन्थे, म हैरान थिएँ” उनी भन्छिन् एक्लो भएपछि सवैले हेप्न खोज्दा रहेछन् । 

तर भनिन्छ नी दुःख पछि सुख आउँछ । प्रमिलाको जीवनमा पनि त्यस्तै भएको छ । उनलाई रेडक्रसले पसल खोलिदियो । ६ हजारको सामान हालिदियो । त्यसैबाट दुईचार पैसा कमाई हुन थाल्यो । नुनतेल र छोराछोरीलाई कापि पेन्सीलको समस्या हट्यो । जीवनमा थोरै सुविस्ता भयो । 

त्यो भन्दा केहि कमार्ई हुने कामको खोजिमा थिइन् उनी । त्यहि क्रममा गाउँकै एकजनाले निःशुल्क तालिम सञ्चालन गर्न लागेको सुनाए । प्रमिलाले तालिम लिने निधोे गरिन् । तीन महिनाको तालिम उनले दत्तचित्त भएर सकिन् । त्यसपछि एउटा सिलाई मेसिन, कैंची, ईञ्चिटेप लगायतका सामान समेत तालिम दिने संस्थाबाट नै पाएपछि उनलाई आँट आयो पसल खोल्ने । तालिम सकिए लगत्तै उनले आफ्नै घरमा पसल सुरु गरिन् । 

सुरुमा त खासै कमाई भएन । महिनामा ३, ४ हजार हुन्थ्यो । तर दुईतीन महिना पछि कमाइ बढ्दै गयो । अहिले सवै खर्च कटाएर मासिक १० हजारको हाराहारीमा कमाई हुन्छ । छोरीले एसएसलसी दिइन् । छोरा कक्षा ५ मा पढ्दैछन् । त्यसैले जीवनमा केहि सुख फर्किएको छ ।  

तालिमले के फरक पार्योे जीवनमा ? प्रश्न भुईमा झर्न नपाउँदै प्रमिलाले जवाफ फर्काइहालिन् मुख्य कुरा त आत्मबल बढ्यो । केहि गरेर अव आफैं छोराछोरी पाल्न सक्छु भन्ने लाग्यो । अव उनलाई दुर्ईचार पैसाले अप्ठ्यारोमा परिन्न भन्ने लागेको छ । दैनिक रुपमा सय रुपैंयाँको बचत पनि अव त २५ हजार नाघिसकेको छ । अप्ठ्यारो पर्दा त्यहि निकालेर चलाउन सक्छु भन्ने आँट छ । 

पसलमा सामान थप्दै लगेकी छिन् । अर्को एउटा सिलाई मेसिन, ईण्टरलक, मोटर लगायतका मेसिन थपेकी छिन् । अव त उनको गाउँ समाज पनि बदलिएको छ । सवै राम्रोसँग बोल्छन् । जीवन जिउनको लागि कुनै न कुनै सीप चाहिने रहेछ उनले बुझेको पछिल्लो कुरा यहि हो । 

(प्रमिलादेवी चौधरी रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था साथि ईण्टरप्राइजेज, कैलालीले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) 

भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/4dOOJGtmq0k” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय