नेपालमा सबैभन्दा बढी सफल हास्य अभिनेता हुन्, हरिवंश आचार्य । जीवनमा आफू धेरै रोएका, तर अरूलाई धेरै हासाउादै आएका कलाकार हुन् उनी । हरिवंशका जीवनी खोतल्दा दु:खका पाटा बग्रेल्ती भेटिन्छन् । उनलाई भेटेर अहिले सम्झिंदा हाँसो  छुट्ने ऊ वेलाका केही घटना हरिवंशले सुनाए :

ट्वाइलेटको पानी मुखभरि पर्दा

सन् १९९९ मा जापानको नागोयास्थित एउटा गल्फ क्लबमा जाने मौका मिलेको थियो । संसारकै राम्रोमध्येमा पर्ने गल्फ क्लब रहेछ । एकजना जापानका डाक्टरले त्यहाँ लाने व्यवस्था मिलाएका थिए । त्यहीँ ‘ब्रेकफास्ट’ लियौँ । केहीबेरमा मलाई ‘लङ ट्वाइलेट’ लाग्यो । बाथरुममा छिरेँ । ‘कमोड’मा बसेँ । कमोडमा रहेका स्विच बटनहरूमा जापनिज भाषा नै लेखिएको थियो । मैले भाषा बुझ्ने कुरै भएन । तर, ‘ट्वाइलेट कर्म’ सकिएपछि सफा गर्नुपर्ने भयो । अनुमानका आधारमा हरियो रङको बटन थिचेँ । सही बटन थिचेको रहेछु, चिसो पानीले सबै फोहोर ‘स्प्रे’ गरिदियो । फोहोर त सफा भयो, तर निस्किरहेको पानी बन्द कसरी गर्ने ? यो काम बाँकी नै थियो ।

मैले नजिकै रहेको अर्को रातो बटन थिचेँ, पानी बन्द भएन । बरु, मनतातो पानी पो आउन थाल्यो । १० मिनेटसम्म पनि समाधान खोज्न सकिनँ । के गर्ने के, तनाव भयो । एक्कासि दिमागमा एउटा आइडिया फुर्‍यो, ‘कमोडबाट उठ्यो भने पानी अटोमेटिक बन्द हुन्छ होला ।’ तत्काल जुरुक्क उठेर कमोडतिर हेरेँ । तर, पानी केको बन्द हुनु ? उल्टै पिच्करी छुटेर मेरो मुखभरि पर्‍यो । झनै तनाव पो भयो । भित्ता र भुइँसम्म पानी नै पानी भयो । आत्तिएर हत्त न पत्त कमोडमै बसेँ । अब के गर्ने भनेर यताउति हेर्न थालेँ । कमोडको बायाँतिर पनि अर्को एउटा बटन रहेछ । यो बटन पनि थिचेर हेर्नुपर्‍यो भन्ने निर्णयमा पुगेँ । बटन थिचेको त पानीको फोर्स ठ्याक्कै बन्द भयो । त्यस्तो ट्वाइलेट कहिल्यै प्रयोग नगरेको मान्छे त्यसमाथि बटनमा लेखिएको भाषा नबुझ्दा त्यो बिजोग भयो ।

कटक्क पेट काटेपछि झन्डै २० वर्षअघि होला, स्टेजमा ‘विज्ञापन’ नाटक गर्दै थिएँ । त्यो दिन मेरो पेट निकै गडबड थियो । न त नाटक छोड्न मिल्ने अवस्था थियो, न त पखालाका कारण स्टेजमा रहिरहन सक्ने परिस्थिति । कटक्क पेट काट्दा ‘डायलग’ नै बिर्सेलाजस्तो हुन थाल्यो । तीन घन्टा लामो नाटकमा कसरी अभिनय गर्ने भन्ने समस्या पर्‍यो । पखाला रोकेर नाटक खेल्न सक्ने अवस्था नै रहेन । अब के गर्ने त ? तत्काल निर्णय गर्नुपर्ने भयो ।

आफ्नो भागमा पर्ने डायलगको समय हिसाब गरेँ । ‘मैले बोलेपछि मदन दाइले यो डायलग बोल्नुहुन्छ, उहाँपछि राजाराम पौडेलले यो डायलग बोल्छ र राजारामपछि यतिखेर मेरो पालो आउँछ’ भनेर समय अड्कल गरेर ट्वाइलेटतिर दौडिएँ । राजारामको डायलग सकिन लागेछ । तर, मलाई नदेखेपछि मदन दाइ आत्तिन थाल्नुभएछ । हरि कता गयो भनेर छटपटी भएछ । तर, राजारामको डायलग सकिनै लाग्दा म ठ्याक्क स्टेजमा उपस्थित भएँ । स्टेजबाट गायब भएको मान्छे एकाएक देखिँदा मदन दाइ पनि दंग पर्नुभयो । त्यो दिन समय अड्कल्दै ट्वाइलेट र स्टेज गरेर मैले तीन घन्टा लामो नाटक सकाएको थिएँ ।

हिम्मत क्षत्रीले ‘अन्डरवेयर’ नलाउदा

०३४ सालतिर ‘हाम्रो पनि कथा छ’ भन्ने नाटक गरेका थियौँ । गायक कमल क्षत्रीले पाँडेकाजीको रोल गरेका थिए । म भने पाँडेकाजीको ‘चम्चा’ बनेको थिएँ । ‘ड्रामा आर्टिस्ट’ हिम्मत क्षत्रीले चाहिँ पाँडेकाजीको ऋणीका रूपमा ‘कटुवाल’को रोल गरेका थिए । नाटकको कथाअनुसार पाँडेकाजी स्टेजमा आएर टुलमा बसे । कटुवाल पनि भुइँमा टुक्रुक्क बसे । काजीको आडैमा रहेको मैले कटुवाललाई भनेँ, ‘ए कटुवाल, तैँले पाँडेकाजीको ऋण कहिले तिर्छस् ?’ उसले जवाफ फर्कायो, ‘भए पो तिर्ने काजी ?’

कटुवाल बनेका हिम्मतले छोटो कछाड बेरेका थिए । खुट्टा फट्टाएर बसेका थिए । मैले देखिहालेँ, भित्र ‘अन्डरवेयर’ लगाएका रहेनछन् । भित्रैसम्म सबै देखियो । कमल क्षत्रीले पनि देखेछन् । मुखामुख गर्दै हामी मुसुमुसु हाँस्न थाल्यौँ । सुशीला रायमाझीले पनि देखेपछि हाँसो झन् बाक्लो भयो । नाटकमा रायमाझीको रोल बौलाहीको थियो । अर्की कलाकार बहिनी ईश्वरीले पनि हिम्मतको लाज देखिछिन्, हाँस्न थालिन् । हामी सबै हाँसिरहेको हिम्मतले पनि देखिरहेका थिए । तर, उनैको चिज देखेर हामी हाँसेको भन्ने भेउ पाएका थिएनन् । अन्जान उनले हाम्रो हाँसोको प्रसंगलाई नाटकमै जोडेर सोधे, ‘हैन पाँडेकाजी किन हाँस्नुभएको ?’ मसँग लठ्ठी पनि थियो ।

हिम्मतले थाहा पाऊन् भन्ने उद्देश्यले मैले त्यहाँ लठ्ठीले घोचेर भनिदिएँ, ‘तेरो कछाड छोप्छस् कि फुकालेर फालिदिउँ ?’ त्यसपछि मात्रै उनले ‘ए’ भन्दै खुट्टा जोडे । उनी पनि हाँस्न थाले । यो सबै यथार्थलाई नाटकमै मिलाएकाले अडियन्सले पत्तो पाएका थिएनन् । स्टेज अँध्यारो भएकाले अडियन्सले सानातिना कुरा देख्ने सम्भावना पनि थिएन । तर, हिम्मतले आफ्नो देखिएको चिजबारे थाहा पाएपछि हाम्रो हाँसो झन् बढ्न थाल्यो । हिम्मत स्वयं हाँसेपछि त अरूको हाँसो रोकिने कुरै भएन । हाँस्दाहाँस्दै यस्तो परिस्थिति आयो कि पर्दा लगाएर नाटक नै बन्द गर्नुपर्‍यो । भित्र गएपछि हाँसोका फोहोरा झनै छुटे । ‘यस्तो पनि गर्न हुन्छ ?’ हामीले हिम्मतलाई भन्यौँ । उनले ‘थाहै भएन’ भने । १० मिनेटसम्म नाटक ‘ब्रेक’ गर्दा पनि हाँसो थामिएन । पछि पनि मुसुमुसु हाँस्दै नाटक सकायौँ ।

मट्टीतेलले नुहाउनुपर्दा

झन्डै २० वर्षअघिको कुरा हो, नाटक देखाउन सिक्किम गएका थियौँ । मदन दाइ र राजाराम पौडेलको बूढो बन्नुपर्ने रोल थियो । मेरो भने अधबैँसेको रोल थियो । तर, हामीले ‘ह्वाइटनर’ (कपाल सेतो बनाउने रङ) लान भुलेछौँ । आइतबारको दिन भएकाले त्यहाँका बजार पनि बन्द थिए । बित्याँसै पर्‍यो, अब केले रंगाउने कपाल भनेर । नजिकैको कुनै स्कुलमा गएर चक ल्याउने र धुलो बनाएर रंगाउने जुक्ति तत्काल निस्कियो । चक लिन भन्दै गए, त्यहीँका एक व्यक्ति । तर, ‘स्कुल पनि बन्द रहेछ, यसले काम चल्छ’ भन्दै ग्रिलमा लगाउने सेतो रङ पो बोकेर फर्किए । नाटक गर्नैपर्‍यो, कपाल सेतो बनाउनैपर्‍यो । त्यही रङ लगायौँ । मदन दाइ र राजाराम पौडेलले पूरै कपाल रंगाए । मैले पनि कन्सिरीतिर अलि–अलि दलेँ । अरू दिनमा भन्दा त्यो दिन खुबै राम्रो सुहाएको थियो सबैलाई । स्टेजमा नाटक सुरु गरियो । केहीबेरमै मेरो त टाउको पोल्न थाल्यो । रङ दलेको ठाउँतिर कक्रक्क पर्‍यो । नाटक चलिरहेकै वेला मैले मदन दाइलाई खुसुक्क सोधेँ, ‘दाइ तपाईंलाई रङले केही गरेको छैन ?’ उहाँले भन्नुभयो, ‘हरि, मेरो टाउको त ‘डोरम्याट’जस्तो भइरहेको छ । राजारामलाई पनि त्यस्तै भएको रहेछ । तीनघन्टे नाटक सकेर पखाल्न गएको त पानीले केको पखालिने ? साबुन लगाउँदा पनि गएन । रङ ल्याउने व्यक्तिले नै फेरि सुनायो, ‘मसँग उपाय छ’ । हामीले उपाय सुनाउन भन्यौँ । उसले भन्यो, ‘मिट्टीको तेल’ लगाउनु न हो दाजु, पूरै जान्छ । मट्टीतेल पनि उसैले खोजेर ल्याइदियो । त्यो व्यक्तिले भनेजस्तै मट्टीतेल लगाएर नुहाउँदा रङ धेरै नै पखालियो । तर, रातभरि टाउको पोलेर सुत्न सकिएन ।

स्टेजमै सुरुवालको इजार चुँडिदा

राष्ट्रिय नाचघरमा म र सूर्यमाला शर्मा ‘एक्टिङ’ गरिरहेका थियौँ । किन ढिला आएको भन्ने डायलगसहित सूर्यमालाले मलाई धकेलेर लडाउनुपर्ने रोल थियो । कथाअनुसार उनले मलाई लडाइन् । तर, उनले धकेल्दा मेरो सुरुवालको इँजार चुँडियो । सबै दर्शक गलल हाँसे । मलाई समस्या पर्‍यो । हत्तपत्त सुरुवाल माथि तान्दै अगाडितिर सोहोरेर च्याप्प समाउँदै दौडेर भित्र गएँ । अगाडिको पाटो सोहोर्दा सुरुवालको पछाडिको भाग त तलै रहेछ । पछाडिबाट सबै ह्वांगै देखिएछ । त्यो दिन डिबी लामा पनि नाटक हेर्न जानुभएको रहेछ । नाटक सकिएपछि हामीले उहाँलाई सोध्यौँ, ‘दाइलाई कस्तो लाग्यो त नाटक ?’ उहाँले भन्नुभयो, ‘सबै राम्रो लाग्यो, तर यति राम्रो नाटकमा तपाईंले पछाडिबाट सबै ह्वांगै हुने गरी देखाएको ‘सिन’चाहिँ ‘ओभर एक्टिङ’ लाग्यो ।’ सुरुवाल फुस्किएको सिन जानी–जानी थियो भन्ने उहाँले सोच्नुभएछ । यति राम्रो नाटकमा त्यो सिन नराखेको भए हुन्थ्यो भन्ने चिन्ता उहाँको थियो । तर, मैले यथार्थ घटनाबारे बताएपछि उहाँ ‘ए हो र !’ भन्दै हाँस्नुभयो ।

पाकिस्तानी ड्राइभरलाई कोरियामा गफ दिदा

जापान घुम्न जाँदा ‘नेभिगेटर बक्स’ (आवश्यक लोकेसन र सडकलगायतको अवस्थाबारे जानकारी दिने प्रविधि)बारे जान्ने मौका पाएको थिएँ । नेभिगेटर बक्सले देखाएको लोकसनकै आधारमा हामी त्यहाँ बस्ने होटेलमा पुगेका थियौँ । सन् २००० तिर पहिलोपटक जापानमा त्यस्तो देख्दा मलाई लागेको थियो, ‘हाम्रो नेपालमा यस्तो प्रविधि कहिले भित्रिएला ?’ त्यसको झन्डै पाँच वर्षपछि हामी कोरिया गएका थियौँ । त्यहाँ हामीलाई ड्राइभ गराउने ड्राइभर पाकिस्तानी थिए । नेभिगेटर बक्स त्यो गाडीमा पनि थियो । प्रसंग निस्किँदा ड्राइभरले कोरियाको बयान गर्दै आफ्नो देश पाकिस्तानमा यस्तो प्रविधि नभएको बतायो । तर, मैले त्यतिखेर उसलाई धाक लगाउँदै हाम्रो नेपालमा त यस्तो प्रविधि रहेको गफ हानिदिएँ । उसले भनेको थियो, ‘अच्छे, नेपालमे हे ?’ मैले भनिदिएको थिएँ, ‘हाँ, चार–पाँच वर्ष हुआ ।’ मेरो धाक सुनेर उसले टाउकोमा हात राख्दै भनेको थियो, ‘हमारी पाकिस्तान बहुत पिछे पड्ता हा ।’

मरेको मान्छेलाई लामखुट्टेले टोक्दा

०३३ सालतिरको कुरा हो । राष्ट्रिय नाचघरमा नाटक ‘अमरसिंह’ देखाएका थियौंँ । ब्रिटिससँगको लडाइँमा गोली खाएर ढलेको रोल मैले गर्नुपथ्र्यो । त्यतिखेर नाचघरमा लामखुट्टेले निकै सताउँथ्यो । जब म डायलग सकेर मरेतुल्य लड्थेँ, तब लामखुट्टेले अनुहारभरि टोक्न थाल्थे । मरेको मान्छे चलमलाउनै भएन । निकै समस्या हुन्थ्यो । अर्का साथी महेश थापा पनि नजिकै वीरगति प्राप्त गरेर ढलिरहेका हुन्थे । एक दिन अति नै टोकेपछि मैले महेशलाई मेरो अनुहारमा फुकेर लामखुट्टे धपाइदिन भनेँ । त्यतिखेर एफएम माइक थिएन, सानो स्वरले बोल्दा अडियन्सले सुन्दैनथे । तर, महेशले आफैँलाई टोकेर हैरान पारेको भन्दै फुकिदिन मानेन । लामखुट्टेको समस्या सधँै नै थियो, तर त्यो दिन अति नै टोकिरहेको थियो । नाटकमा किरण केसीले अमरसिंहको रोल निभाएका थिए । हामी सिपाही मरेपछि उनले चक्कु निकालेर आफू पनि आत्महत्या गर्न लागेको देखाउनुपथ्र्यो । मैले सोच बनाएँ, किरणले चक्कु निकालेर डायलग दिँदै गर्दा अडियन्सको ध्यान चक्कुतिरै जान्छ अनि त्यतिखेरै मजाले लामखुट्टे धपाउनुपर्ला । आखिर गर्न पनि त्यही गरेँ । तर, ‘मरेको मान्छे चल्यो’ भन्दै केही केटाकेटी हलको पछाडिबाट चिच्याउन थाले । सबैको ध्यान अमरसिंहको चक्कुतिर नगएर मतिर पर्न थाल्यो । केटाकेटीले समस्यामा पारिदिए । ती केटाकेटीको घर नाचघरअगाडि नै थियो । स्कुलबाट फर्केपछि उनीहरू दिनहुँ नाटक हेर्न आउँथे । गेटपालेले छिर्न दिएन भने नाचघरको छानामा ढुंगा हानेर पूरै डिस्टर्ब गरिदिन्थे । त्यसैले उनीहरूलाई ‘फ्री’मै नाटक हलमा छिर्न दिइन्थ्यो । सधैं एउटै नाटक हेरिरहने हुनाले उनीहरूको नजर मैले सोचेजस्तो अमरसिंहको चक्कुमा भुलेनछ । भोलिपल्टदेखि सधैँ ‘मरेको मान्छे चल्यो’ भन्दै कराउन थाले ती केटाकेटी । तिनीहरूकै कारणले केही दिनमै नाटक रोक्नुपर्‍यो । नाचघरमा झन्डै तीन महिना चलेको थियो, अमरसिंह । 

नयाँ पत्रिकाका प्रकाशित यो सामग्री प्रवीण देवकोटाले तयार पारेका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय