
आरती यादव, राजविराज, असोज १७
एउटा काममा भनेर मलेसियामा लगेर अर्कै काममा लगाइएका ८ जना युवाले उजुरी पश्चात भने अनुसारको काम पाएका छन् । मलेसिया पुगेपछि भने विपरितको काममा लगाइएका र होष्टलमा समेत अत्यन्त असुविधा भोगेका सप्तरीको महादेवा गाविस ३ का ति युवाका आफन्तले उनीहरुलाई नेपाल झिाइदिन भन्दै दवाव दिएपछि उनीहरुको समस्या समाधान भएको हो ।
महादेवा गा. वि.स.–३ का वीरेन्द्र रजक सहितका ९ जना युवाले स्थानीय एजेण्ट ओमप्रकाश साहलाई प्रतिव्यक्ति १ लाख ६० हजारको दरले बुझाएर मलेसिया गएका उनीहरुलाई त्यहाँ पुगेपछि भने अनुसारको काम दिइएको थिएन । नेपालबाट कम्पनीको काममा भनेर पठाइएका ति युवालाई मलेसियामा जंगलमा काठ काट्ने काममा लगाइएको थियो ।
अत्यन्त गाह्रो काम गर्न बाध्य उनीहरुको बस्ने ठाउँ समेत सुरक्षित थिएन । बासिभात खान बाध्य उनीहरुले खानेपानीको पनि राम्रो सुविधा पाएका थिएनन् । मलेसियाबाट आफुलाई कि त नेपालमा भनेअनुसारको काम दिन वा नेपाल फर्काइदिन उनीहरुले म्यानपावर कम्पनी र एजेण्टलाई आग्रह गरेपनि उनीहरुले त्यसको कुनै सुनुवाई नगरेको पीडित परिवार मध्येकी एक मानकी साफीले बताइन् ।
कुनै उपाय नलागेपछि आफन्त फर्काइदिन भन्दै उनीहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आएका थिए । सोही क्रममा उनीहरुले स्थानीय गणेशमान सिंह स्मारक फाउण्डेसनद्धारा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा आफन्त फर्काइदिन भन्दै निवेदन दिएको सुचना केन्द्रकी परामर्शदाता रिता चौधरीले बताइन् ।
उनीहरुको निवेदन पश्चात सुचना केन्द्रले एजेण्ट ओमप्रकाशलाई मलेसियामा समस्यामा परेकाहरुलाई या त नेपालमा भने अनुसारको रोजगारी दिलाउन वा नेपाल फर्काउन आग्रह गर्दै अन्यथा कानूनी उपचारमा जाने जानकारी गराइएको परामर्शदाता चौधरी बताउँछिन् । सो विषयमा एजेण्ट र म्यानपावर सञ्चालकले मलेसियामा कुराकानी गरेर समस्या सुल्झाउने आश्वासन दिएका थिए ।
हाल ति युवालाई मलेसियामा कम्पनीको काम दिइएको छ । ९ जना मध्ये एकजना भनें मलेसियामा काम गर्न नसक्ने भन्दै नेपाल फर्केका छन् भनें बाँकी ८ जनाले नेपालमा भने अनुसारको रोजगारी पाएका छन् ।