विदेश पठाइदिने भन्दै भतिजोले नै ठगेपछि ….

रञ्जना लम्साल, नवलपरासी असोज १७ 

अरुले ठगेको भए त मन बुझाउने केहि ठाउँ पनि हुन्थ्यो होला । तर आफ्नै दाईको छोराले ठग्दा बाबुराम थापालाई त्यो असह्य भएको छ । विदेश पठाइदिने भन्दै छोरालाई आफनै दाईको छोराले ठगेपछि नवलपरासी नयाबेलहानी ४ का थापालाई सहि नसक्नु भएको हो ।  

छोरो रोमनले कमाउन विदेश जाने रटान लगाइरह्यो । उमेरले २२ टेक्दै थिए रोमन । पढाइ एसएलसीसम्म थियो । अरुका अल्लारे कुरामा लाग्दा कसैले ठगिदेलान् की भन्ने चिन्ता थियो बाबुलाई । त्यसैले छोरो विदेश पठाउन बाबुरामले आफ्नै दाईको छोरालाई भर गरे ।  

भिसा पर्खिंदा पर्खिंदै महिना वित्यो । गत साउन ११ गते भिसा आएको खवर पाए बाबुरामको परिवारले । खर्च लाग्ने भयो १ लाख ४० हजार । रोमनसँगै छिमेकी प्रेमबहादुर कुमाल पनि पैसा बोकेर हिंडे काठमाडौं । अव छोरो विदेश उड्ने पक्का भयो । 

तर अर्को महिना वित्यो काठमाडौंमै । तर रोमन र उनका साथिको मलेसिया उड्ने दिन आएन । रोमन र प्रेमले ‘कि मलेसिया उडा, नत्र पासपोर्ट र पैसा फिर्ता दे’ भनेर एजेण्टको काम गर्ने दाई बिमल थापालाई दवाव दिन थाले । दवावपछि बिमलले गत भदौ २१ मा उनीहरुलाई मलेशिया उडाए पनि । 

छोराले अव कमाएर पैसा पठाउँछ भन्ने आशमा बसेका बाबुराम त्यतिबेला जिल्ल परे जव रोमन मलेसियाबाट फिर्ता आएको खवर आयो । मलेशिया गएका रोमन र प्रेम २४ घन्टा अध्यागमनमा थुनिएर नेपाल फिर्ता भए । 

एकातिर कमाउन गएको छोरो हैरानी खेपेर फर्कियो । अर्कातिर उसलाई पठाउँदाको ऋण । ठगिमा नपरिएला, कहिं कतै समस्या भइहालेमा पनि पैसा डुव्दैन भन्ने विश्वास त्यतिबेला भत्कियो जव आफ्नै भतिजो पैसा फिर्ता दिन तयार भएन । 

आफू अन्यायमा परेको भन्दै बाबुरामले पैसा फिर्ता गराइदिन सहयोगका लागि हिकोडेफले कावासोतीमा सञ्चालन गरेको सुचना केन्द्रमा निवेदन दिएका छन् । बाबुराम भन्छन् ‘घरको कुरा किन अन्यत्र गर्नु भनेर चुप लागेर बसें तर साहुको ऋणको ब्याज बुझाउनै गाह्रो भएपछि अनि छोरो पनि टोलाएर बस्न थालेपछि सहयोग पाइन्छ की भनेर आएको हुँ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय