बन्दले संकटमा कुखुरापालन व्यवसाय 

चितवन, असोज १६- झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि यहाँका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पुर्याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ कुखुरा पनि बचाउन सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

ह्याचिङ मेसिन चल्न छाडेका छन् भने यस अघि दिइँदै आएकोभन्दा आधा कम मात्र दाना कुखुरालाई खुवाउँदै आएको पनि एक हप्ता नाघेको व्यवसायीले बताएका छन् । देशभरका कुखुरा पाल्नका लागि दैनिक दुई हजार ७०० मेट्रिकटन दाना आवश्यक पर्दछ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेलका अनुसार ६० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुँदै आएको छ । दाना बनाउन आवश्यक पर्ने भटमास, ढुटो, मकै, सूर्यमुखीको पिना, तोरीको पिना, तिलको पिना, जनावरको हड्डीलगायतका सामग्री भारतबाट झिकाइन्छ ।

यसका अतिरिक्त आवश्यक पर्ने भिटामिन तथा मिनिरल्सहरु पनि भारतबाट आयात हुँदै आएको थियो । अन्य विकल्प नभएपछि बाच्न सक्ने गरी मात्र दाना खुवाउँदै आएका अध्यक्ष कँडेलले बताए । नेपालमा दैनिक २० लाख अण्डा, २५ लाख ब्रोईलर चल्ला उत्पादन हुन्छ । त्यसैगरी प्रतिहप्ता एक लाख २५ हजार लेयर्स चल्ला उत्पादन हुन्छ भने प्रतिदिन पाँच लाख किलो तयारी मासु उत्पादन हुन्छ ।

ती कुखुराका लागि आवश्यक पर्ने दाना नहुनु, उत्पादित सामग्री बजारसम्म लैजान इन्धनको अभाव हुनु, चलिरहेका ह्याचरी उपकरण लोडसेडिङका समयमा नचल्नुजस्ता समस्याले पोल्ट्री व्यवसायमा संकट उत्पन्न भएको छ ।

विदेशबाट आयात गरिएका माउ कुखुरा ९प्यारेन्ट० बचाउन नसके आत्मनिर्भर पोल्ट्री व्यवसाय धारासायी हुने पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले बताए । 

देशको कूल ग्राहस्थ उत्पादनको चार प्रतिशत योगदान पोल्ट्री व्यवसायको रहेको छ । नेपाल ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले चल्ला उत्पादनदेखि मासु बजारसम्म पु¥याउने कार्य पूर्ण प्रभावित भएपछि व्यवसायी अन्यौलमा परेको बताए । 

देशभर करिब एक लाख ५० हजार व्यक्तिलाई रोजगार दिएको यस व्यवसायमा झण्डै रु ७० अर्ब लगानी भएको उहाँको भनाइ छ । जसमध्ये आधाभन्दा बढी चितवनमा मात्रै लगानी भएको छ । दुई वर्षअघि बर्डफ्लुबाट प्रभावित बनेको पोल्ट्री व्यवसाय क्रमिक सुधार हुने क्रममा भूकम्पबाट प्रभावित बनेको थियो । पुनःसुधारकै क्रममा रहँदा बन्द हड्तालसँगै नाकाबन्दीका कारण यो व्यवसाय झन सङ्कटमा परेको छ ।

व्यवसाय जोगाउन नसके आउँदा दिनमा विदेशबाट आयातको विकल्प नहुने व्यवसायी बताउँछन् । अरबौं रुपैयाँ बैंकको लगानी भएकाले व्यवसाय धरासायी भएमा बैंकसमेत प्रभावित हुने बैंकरहरुको भनाइ छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: