काठमाडौं, असोज १६- नेपालमा अघोषित नाकाबन्दी गरेको भन्दै स्पेनमा रहेका नेपालीहरुले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै प्रदर्शन गरेका छन् । म्याड्रिडस्थित दूताबासको कार्यालय र बार्सिलोनामा रहेको कन्सुलर कार्यलयमा पुगेर नेपालीले बिरोध जनाएका हुन् ।
नेपालमा बनेको नयाँ संविधानको अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै स्वागत तथा बधाइ दिइरहेको बेला छिमेकी मुलुक भारतले गरेका गतिबिधिहरु अप्रजातान्त्रिक रहेको भन्दै नेपालीहरूले ज्ञापनपत्र बुझाएका हुन् । अन्तराष्ट्रिय नियम विपरित नै नाकाबन्दी गर्नु अस्वभाबिक रहेको भन्दै ज्ञापन पत्रमा नेपालको सार्वभौमिकतामा हस्तक्षेप नगर्न सचेत गराइएको छ ।
विरोध कार्यक्रम गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको समन्वयमा नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च लगायत स्पेनस्थित सम्पूर्ण जातीय, क्षेत्रीय संघ संस्थाहरुसमेतको सहभािगतामा भएको थियो ।