झण्डै डेढ बर्षदेखि साउदीमा वेपत्ताको खोजिका लागि अपिल   

रञ्जना लम्साल, नवलपरासी, असोज १४- बैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका चितवनका ढकप्रसाद श्रेष्ठ झण्डै डेढ बर्षयता परिवारको सम्पर्कमा नभएको भन्दै उनको खोजिका लागि उनकी श्रीमति लक्ष्मीले आग्रह गरेकी छिन् । 

उनी बैदेशिक रोजगारीका लागि साउदी गएको १२ बर्ष भयो । उनी १६ महिनायता परिवारको सम्पर्कमा नभएको परिवारले जानकारी दिएको छ । उनी २०६० सालमा साउदी हिंड्दा १५ दिनको छोरा अहिले ६ कक्षामा पढ्ने भइसकेका छन् । यसबीचमा ढकप्रसाद एकपटक पनि नेपाल फर्केका छैनन् । 

ढकप्रसाद साउदी जाँदा नेपालमा मोवाइलको चलन उति थिएन । त्यसैले श्रेष्ठ परिवारमा फोन थिएन । नाता पर्ने देवरले मोबाईल दिएपछि श्रीमान साउदी गएको ५ बर्षपछि मात्र लक्ष्मीले फोनमा श्रीमानसँग सञ्चो विसञ्चोको कुरा गर्न पाइन् । त्यसपछि महिनामा एक पटक श्रीमान् श्रीमतिवीच कुराकानी भइरहन्थ्यो । कमाई नभएकाले भागेर काम गरिरहेको बताउँथे ढकप्रसाद । लक्ष्मीले भनिन्—आफ्नै भाईले पठाउनु भएको हो तर आज उहाँको खोजी गरिदिने कोहि भएन ।

ढकप्रसादले साउदीमा १२ बर्ष काम गरेर परिवारलाई १ लाख १५ हजार रकम पठाए । त्यसमध्ये पनि १ लाख त भाइलाई नै पठाएको लक्ष्मी बताउँछिन् । आज मरे जिम्दाको पनि खबर छैन आँखा भरि आँशु पार्दै लक्ष्मीले भनिन् ३/३ जना छोरा छोरी छन् छोरालाई त बाबा कस्ता छन् भन्ने पनि थाहा छैन । मेलापात गरेर ३ जना छोराछोरी पाल्न नसकेपछि जेठी छोरीलाई माईतिमा लगेर छोडेको र उतै पढिरहेको लक्ष्मीले बताइन् । 

श्रीमानलाई बिदेश पठाईदिने देवर हाल दुवईमा रहेको लक्ष्मीको भनाई छ ।  श्रीमानको खोजखबर गरिदिन बारम्बर उनलाई  भन्दा किन खोज्न पर्यो भन्दै वास्ता नगरेको लक्ष्मीको गुनासो छ । खोजिखवरीका लागि अरु कुनै विकल्प नभेटेकी लक्ष्मी श्रीमान् कसो घर नफर्कलान् भनेर आशा गरेर बसेकी छिन् । 

बैदेशिक रोजगारीमा गएर सम्पर्कमा नआएका ब्यक्तीको खोजीका लागि केहि अप्ठ्यारो भएको सुचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ । उनको खोजिका लागि सञ्चार माध्यमको प्रयोग नै उपयुक्त हुने कार्यक्रम संयोजक खगराज गौतमले जानकारी दिए । कसैले ढकप्रसादलाई देखेमा नवलपरासीको कावासोतीमा रहेको सुचना तथा परामर्श केन्द्रमा सम्पर्क गरिदिन पनि उनले अनुरोध गरेका छन् । 

(उनको खोजिमा तपाईको भूमिका महत्वपूर्ण हुन्छ । यसलाई सकेसम्म धेरै साथिहरुको वीचमा पुर्याएर पनि उनको खोजिमा मद्धत गर्न सकिन्छ । यसरी नै परिवारको सम्पर्कमा नरहेका चारजना हराएका परदेशी यसअघि भेटिएका छन् । त्यसैले आशा छ, तपाईले पनि यो अभियानमा सहयोग गर्नुहुनेछ ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय