तीन हजार युवालाई सीप र स्वदेशमा नै रोजगारीको अवशर 

काठमाडौँ, असोज १३- रोजगार कोष/हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले पुनर्निर्माणका लागि सीप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम गत बैशाख १२ को विनाशकारी भूकम्पबाट अति प्रभावित १४ मध्येका ६ जिल्लाहरु गोरखा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गामा सुरु हुन लागेको हो । यस अन्तर्गत ३ हजार युवालाई पुनर्निर्माणसम्बन्धी सीप दिइने कोषले जनाएको छ । 

कार्यक्रम अन्तर्गत ६ जिल्लाका अति प्रभावित विपन्न तथा गैर लाभान्वित समुदायका घरधुरीका १६ देखि ४० वर्षसम्मका महिला तथा पुरुष युवाले भूकम्प प्रतिरोधी प्रविधिसहितको पुनर्निर्माण सम्वन्धि सीप सिक्नेछन् । सो तालिम निःशुल्क हुने रोजगार कोषका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमको पहिलो चरण हो ।  

यसरी सिकाइने सीपबाट तालिमका सहभागी आफ्नो घर आफैं निर्माण गर्न सक्षम हुने र निर्माण/पुनर्निर्माण क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकतालाई सहयोग पुर्याउने लक्ष्य राखिएको सञ्चार अधिकृत भट्ट बताउँछन् । 

यो तालिममा प्रशिक्षार्थीले तालिम अवधिमै तालिम सँगसँगै भूकम्प प्रतिरोधी प्रविधिसहितको वास्तविक घर बनाउने अभ्यास समेत गर्नेछन् । तालिम ५० दिनको हुने जनाइएको छ । दुई जना प्रशिक्षकको संलग्नतामा १०/१० जनाको समूहले त्यसरी तालिम लिने र प्रशिक्षार्थीहरुले तालिम अवधिमै ६ सयवटा भूकम्प प्रतिरोधी प्रविधिको घर निर्माण गर्ने कोषको लक्ष्य छ । यस कार्यक्रमबाट तालिम लिने युवाले आगामी डिसेम्वर महिनाभित्रमा आफू लगायत अन्यको गरी कम्तीमा पनि ४ हजार भूकम्प प्रतिरोधी घर निर्माण गरिसक्ने अपेक्षा गरिएको छ । यो कार्यक्रम आगामी सन् २०१६ को डिसेम्बरसम्म सञ्चालन हुने जनाइएको छ । 

तालिम सुरु गर्नुअघि प्रशिक्षार्थीहरूलाई निर्माण क्षेत्रका प्रविधिसँग अद्यावधिक गराउने उद्धेश्यले रोजगार कोषले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) लाई भूकम्प प्रतिरोधी प्रविधि सहितको घर निर्माण पाठ्यक्रम परिमार्जनका लागि सहयोग समेत गरेको थियो ।  

तालिमलाई प्रभावकारी बनाउन तालिममा संलग्न हुने प्रशिक्षकलाई सुरुमा भूकम्प प्रतिरोधात्मक प्रविधियुक्त सीपको प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिने र उनीहरुले नै पुनर्निर्माणका लागि सीप कार्यक्रम अन्तर्गत प्रशिक्षित हुने प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन पाउने कोषको भनाई छ । 

यसअघि प्राविधिक व्यावसायिक तालिम तथा रोजगारी कार्यक्रम सञ्चालन मार्फत करिब एक लाख युवालाई सीपयुक्त तुल्याइसकेको कोषलाई यो कार्यक्रम सञ्चालनका लागि स्वीस सरकार विकास सहयोग (एसडीसी) ले आर्थिक सहयोग गरेको छ ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय