
पाल्पा, असोज १३- युवा विदेश पलायनको लर्को लागेका बेला पाल्पाका युवक चाउमिन उद्योग सञ्चालन गरेर अघि बढ्न थालेपछि विदेशको भूमिमा टेक्न परेन ।
रोजगारीका लागि विदेश पलायन हुनैपर्ने बाध्यताबाट मुक्ति पाउनका लागि सञ्चालन गरेको उद्योगबाट मासिक रु २५ देखि रु ५० हजारसम्म आम्दानी हुने गरेको छहरा गाविस–१ का मानबहादुर थामी बताउनुहुन्छ ।
“नेपालमा बसेर राम्रै आम्दानी भएको छ, विदेश पैसा कमाउन जानुपर्ने स्थिति छैन, चाउमिन उद्योगमा राम्रै आम्दानी भएको छ । विदेशमा जति मेहनत गर्ने हो भने नेपालमा त्यहाँ दुःख गर्ने पैसाभन्दा दोब्बर आम्दानी गर्न सकिन्छ” उहाँले भन्नुभयो ।
थामीले चार वर्षअघिदेखि सञ्चालन गरेको चाउमिन उद्योग यस क्षेत्रका होटल व्यवसायीको समेत गतिलो आम्दानीको स्रोत बन्न पुगेको छ । उद्योगबाट उत्पादित चाउमिन मुझुङ, छहरा, सोमादी, सिद्धेश्वर, भुवनपोखरी, फेक र कचल गाविसका होटलमा बजार पाएकामा थामी खुसी छन् ।
चाउमिन बेचेर मात्र आम्दानी गर्ने युवा निकै कम छन् । त्योभन्दा बढी आम्दानी होटलमा चाउमिनको परिकार बनाएर बेच्नेहरुको रहेको छ । चाउमिन उद्योग सञ्चालन गरी मनग्य आम्दानी हुन थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा चाउमिन उद्योग फस्टाउन थालेको छ ।
आजभन्दा झन्डै १०÷१५ वर्षअघि जिल्लाका ग्रामीण क्षेत्रमा चाउमिनका बारेमा स्थानीय बासिन्दा अनभिज्ञ रहेका थिए । सदरमुकाम तानसेन, रामपुर, ताहुँ छहरालगायतका स्थानमा चाउमिन उद्योगबाट ठूलो मात्रामा चाउमिन उत्पादन हुँदै आएको छ ।
रासस । तस्वीरः ईण्टरनेट