काठमाडौं, असोज १२- अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ(आइटीयूसी) ले नेपालमा नयाँ संविधान जारी भएकोमा खुशी व्यक्त गर्दै नेपालको ट्रेड यूनियन आन्दोलन र नेपाली जनतालाई बधाई दिएको छ । आइटीयुसीका महासचिव सरोन बरोले नेपाल ट्रेड यूनियन महासंघ(जिफण्ट) का अध्यक्ष विष्णु रिमाललाई सन्देश पठाउँदै नेपालले एसिया तथा बाँकी विश्वलाई पनि गतिलो सन्देश दिन सफल भएको उल्लेख गर्नुभएको छ ।
समानता, लोकतन्त्र, स्वतन्त्रता तथा न्याय प्राप्तीसम्वन्धि आम नागरिकको चाहनालाई वाह्य राजनीतिक दवावले पनि रोक्न सकिन्न भन्ने कुरा नेपालले प्रमाणित गरेको सन्देशमा उल्लेख गरिएको छ । यो ऐतिहासिक अवशर भएको भन्दै यसले हिजोका दिनमा खोसिएको स्वतन्त्रता, प्रजातन्त्र तथा ट्रेड यूनियन अधिकारलाई स्थापित गरेको आइटीयूसीको धारणा छ ।
नेपालमा ८ बर्षदेखि जारी राजनीतिक गतिरोध र अन्यौलतालाई चिर्दैै नयाँ संविधान जारी भएकोमा त्यसलाई स्वागत गर्दै आइटीयूसीले नयाँ संविधानले गणतन्त्र, धर्म निरपेक्षता तथा सम्पूर्ण नागरिकको आधारभूत अधिकारको संरक्षण गरेको ठहर गरेको छ । यसैगरी संगठित हुन पाउने अधिकारसँगै आप्रवासी कामदारको अधिकारलाई थप कानूनी संरक्षण दिलाउन आग्रह गरिएको छ । नेपालमा ९० प्रतिशत भन्दा धेरै कृषि र अनौपचारिक क्षेत्रमा कृयाशिल श्रमिक रहेको तथा लाखौै नेपालीले बैदेशिक रोजगारका क्रममा ज्यादै कष्टकर रुपमा काम गरिरहेको सन्देशमा उल्लेख गरिएको छ ।
नेपालको ट्रेड यूनियन आन्दोलनले नयाँ संविधान लागु भएको नयाँ युगमा यसअघि जस्तै सक्रिय भूमिका खेल्दै लोकतन्त्रलाई बलियो बनाउने र मुलुकको पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्ने आइटीयूसीले विश्वास व्यक्त गरेको छ ।
यसअघि गत सेप्टेम्वर ४ मा काठमाडौंमा सम्पन्न भएको ऐक्यवद्धता बैठकको स्मरण गर्दै सन्देशमा सो अवशरमा नेपालका मुख्य तीनवटा ट्रेड यूनियनहरु जिफण्ट, एनटीयुसी र अण्टुफले मुलुकको पुनर्निर्माणको साझा अवधारणा बनाएको स्मरण गरिएको छ । नीति निर्माण तहमा ट्रेड यूनियनको संस्थागत प्रतिनिधित्व अनिवार्य रहेको भन्दै आइटीयुसीले पुनर्निर्माणको रोडम्याप कार्यान्वयनमा सरकारले ट्रेड यूनियनहरुलाई सँगैसँगै लिएर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
मर्यादित काम, कामदार र ट्रेड यूनियनहरुको आधारभूत अधिकारको संरक्षण तथा पुनर्निर्माणमा यथासम्भव स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिइनेमा आइटीयूसीले विश्वास व्यक्त गरेको छ । स्वदेशमा नै मर्यादित कामको अवशर प्राप्त गर्दै बैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था आएको समयमा अर्को खुशीयाली साट्न पर्खिइने आइटीयूसीका महासचिव सरोन बरोले लेख्नुभएको छ ।