काठमाडौं, असोज १२ -एक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि संयुक्त अरब इमिरेट्स (युएइ)को दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ब्लडमनी बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन् ।
न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गर्दै युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अलनह्नले ुनेपाली नागरिक बमले ब्लडमनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने जानकारी गराएका हुन् ।
दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ बर्षिय बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेशमन्त्रीले मृतक परिवारलाई ब्लडमनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिने आश्वासान दिएका थिए ।
दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबइ गएका थिए । भारतीय मार्बल कम्पनीको मालिकले युएइमा राम्रो रोजीरोटी दिलाउने भनेर लगेकोमा दुबइ उत्रिएको एक महिनामैं उनी भारतीय नागरिक शरद सेठ्ठीको हत्या अभियोगमा पक्राउ परेका थिए । भारतीय दुइ ब्यापारीको निजी सवारी चालक रहेकै अवस्थामा बुरदुबइस्थित एक इण्डियन क्लबमा भएको हत्या प्रकरणमा चालक बमसहित अरु तीनजना भारतीय जेल चलान भएका थिए ।
आफूले अरबी बोलचाल र लेखिएको कागजी भाषा समेत नबुझेकाले दुबइको प्रारम्भिक अदालतमा भारतीय नागरिकको हत्यामा संलग्न रहेको भन्दै बयान दिएको बमले बताउँदै आएका थिए । तर अमरबहादुर परिबन्दमा परेको हो, थुनामा रहेका भारतीय नागरिकले अर्को बयानमा भन्दै आएका छन्ः अमर हत्यामा संलग्न छैन । समाचार अनुसार, उक्त हत्या घटनामा भारतीय नागरिक मनोज मुदन्ना कुक्यिन, राजपुत करनसिंह नरसिंह र स्मिथ भासा कुलत बुनाबानसमेत कारावास सजाय बेहोरिरहेका छन् ।
अमरलाई आममाफी दिलाउन युएइस्थित नेपाली समाजका प्रतिनिधिको आग्रहमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि युएइ सरकारलाई आग्रह पत्र लेखिसकेका छन् । तर, ब्लडमनी बुझाएमा बमले आममाफी पाउन सक्ने सूचना युएइ सरकारको उच्चपदस्थबाट पहिलोपटक आएको हो ।
कान्तिपुरबाट