
काठमाडौं, असोज ११- तराई मधेसमा आन्दोलनकारीको आक्रमणमा परी गम्भिर घाईते भएका यातायात मजदुर दिपक राउत, खेमराज खरेल लगायतको उपचार गरिदिने आश्वासन सरकारले दिएको छ ।
सोमबार गृह मन्त्रालयमा यातायात मजदुर तथा व्यवसायीहरुसँग छलफल गर्दै गृह मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद ढकालले यस्तो जानकारी दिएको नेपाल यातायात स्वतन्त्र मजदुर युनियनका महासचिव भीमज्वाला राईले जानकारी दिए । राईका अनुसार क्षतिको विवरण जिल्ला प्रशासन मार्फत प्राप्त भएपछि क्षतिपुर्ति तथा उपचार खर्चको व्यवस्था सरकारले गर्ने आश्वासन सहसचिव ढकालले दिए ।
गत असोज ९ गते ढल्केवरमा काठमाडौंबाट काँकडभिट्टा जांदै गरेको एक बसका कण्डक्टर दिपक राउत र परिचालक खेमराज खरेललाई मोर्चाका कार्यकर्ताहरुले ढुँगा प्रहारगरी मरणासन्न बनाएका थिए । हाल उनीहरुको उपचार बिराटनगर स्थीत न्युरो अस्पतालमा भईरहेको छ ।
सोही राती सप्तरीको भारदहमा दुईवटा बसका चालकद्धय बिष्णु राई र मोहन थापा तथा कण्डक्टर सन्तोष मगरलाई पनि मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाईते बनाएका छन् । गत असोज ५ गते तेल लिन भारतको रक्सौल गएका टेंकर चालकहरु पशुपति पाठक र बलराम लामा विरगञ्जमा कुटिएका थिए ।
मजदुरहरुको सुरक्षा तथा घाईतेको उपचारको विषयमा छलफल गर्न सोमवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नेताहरु गृह मन्त्रालय पुगेका थिए ।
यसैबीच पेट्रोलियम पदार्थ लिन भारत गएका टेंकरका ५ सय ८८ जना मजदुरको उद्धार तथा अन्य व्यवस्थापन खर्च नेपाल आयल निगमले गर्ने भएको छ । निगमका उपमहानिर्देशक सुशील भटराईले यो जानकारी दिएका हुन् । उनीहरुको उद्धारका लागि यातायात संगठनहरुले यसअघि आग्रह गरेका थिए ।
रक्सौल नाका बाहेक अन्यन्त्रका नाका पारी रहेका मजदुरहरुमा खासै त्रास नरहेको र त्यहाँबाट क्रमश मजदुरहरु नेपाल आईरहेको भटराईको भनाई छ । आक्रमणमा घाईते भएका मजदुरहरुको उपचार तथा खानाको प्रवन्ध निगमले गर्ने समेत भट्टराईले बताए ।