
काठमाडौं, असोज ११- कतार विश्वकै धनी तथा माथिल्लो पदमा काम गर्ने आप्रवासी कामदारका लागि कमाईको आकर्षक गन्तव्य मुलुक भएपनि स्वास्थ्य, संस्कृति तथा सामाजिक एकताका हिसावले राम्रो नभएको एक अध्ययन रिपोर्टले देखाएको छ ।
दोहा न्यूजका अनुसार हालै गरिएको आप्रवासी कामदार सम्वन्धि सर्वे रिपोर्ट २०१५ का अनुसार समग्रमा कुल ३९ देश मध्ये कतार २२ औं स्थानमा परेको छ । गत बर्ष भन्दा कतार १३ स्थान तल झरेको हो ।
यो अध्ययन विभिन्न देशका २२ हजार आप्रवासी कामदार माझ गरिएको प्रश्नोत्तर पश्चात तयार पारिएको समाचारमा जनाइएको छ । सर्वेका अनुसार सिंगापुर आप्रवासी कामदारका लागि पहिलो रोजाईको मुलुक भएको देखिएको छ ।
रिपोर्ट अनुसार कतारमा कार्यरत आप्रवासी कामदारहरु कतारको अर्थतन्त्रको स्थायीत्व प्रति भनें निक्कै विश्वस्त रहेको देखिएका छन् । तर आफैं उद्यम गर्नेसक्ने वातावरण, रोजगारीको सुरक्षा तथा जीवन सम्वन्धि अन्य कुरामा भनें कतारमा कार्यरत आप्रवासी कामदार साह्रै कम मात्र सन्तुष्ट देखिएका छन् ।
कतारमा बस्नका लागि दिइने कोठाहरु, त्यहाँ उपलव्ध सुविधा ज्यादै निम्नस्तरको हुने गरेको छ । कतारमा अपराधका घटनामा भनें कमि हुने भएकाले सो कुरामा भनें आप्रवासी कामदारले सन्तोष मानेका छन् ।