
काठमाडौं, असोज १०- तराई मधेसमा जारी अन्दोलन र भारतद्धारा गरिएको अघोषित नाकावन्दीका कारण तेल भर्न गएका ट्याँकरमा कार्यरत ५ सय ८८ मजदुर भारतमा अलपत्र परेका छन् । नेपालगञ्ज, विरगञ्ज, विराटनगर र काँकडभिट्टाबाट भारत पसेका २ सय ९४ वटा ट्याँकरलाई नेपाल फर्किन नदिईंदा उनीहरु त्रासदिपूर्ण रुपमा भारतमै फसिरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।
यसैगरी आफ्ना सदस्यहरुमाथि तराईका विभिन्न भाग तथा नेपाल भारत सीमा क्षेत्रमा कुटपिट भएको भन्दै त्यसलाई तत्काल रोक्न पनि संगठनले अपिल गरेको छ ।
संगठनले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो संगठनका सदस्यहरु दिपक राउत, खेमराज खरेल, बिष्णु राई, सन्तोष मगर, पशुपति पाठक, बलराम लामा लगायतका मजदुरहरुलाई मधेशी मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेको घटनाको विरोध गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईद्धारा जारी विज्ञप्तीमा विभिन्न स्थानहरुमा आक्रमण भइरहेको हुँदा मजदुरहरुको सुरक्षाको व्यवस्था गर्न र त्यस्ता हिंसात्मक गतिविधि तत्काल रोक्न सरकार र आन्दोलनरत मोर्चालाई अपिल गरिएको छ ।
गत असोज ९ गते शनिबार राती करिव १२ बजे ढल्केवरमा काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको रोकेर राखिएको रात्री बसभित्र रहेका कण्डक्टर दिपक राउत र परिचालक खेमराज खरेललाई मोर्चाका कार्यकर्ताहरुले ढँुगाले अन्धाधुन्ध आक्रमणगरी मरणासन्न बनाएको घटनाको संगठनले भत्र्सना गरेको छ । हाल उनीहरु दुवैजनाको बिराटनगरस्थीत न्युरो अस्पतालमा उपचार भईरहेको छ । कण्डक्टर राउतलाई भेन्टीलेटरमा राखेर उपचार गरिंदै छ भने परिचालक खरेल खतरामुक्त छन् ।
यसैगरी असोज ९ गते राती नै सप्तरीको भारदहमा बस चालकहरु बिष्णु राई र मोहन थापा तथा कण्डक्टर सन्तोष मगरलाई मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाईते बनाएका छन् । यसअघि गत असोज ५ गते तेल लिन भारतको रक्सौल गएका ट्याँकर चालकहरु पशुपति पाठक र बलराम लामालाई पनि विरगञ्जमा हातपात गरिएको थियो ।
गत साउन ३० गते नवलपरासीको वासावसाहीमा आन्दोलकारीद्धारा हत्या गरिएका ट्याँकर चालक रवी गुरुङको परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन तथा घाइते एकदर्जन भन्दा बढी मजदुरको उपचारको व्यवस्था गर्न सरकारलाई संगठनले आग्रह गरेको छ ।
आन्दोलनको नाममा भएका हिंसात्मक क्रियाकलापले ६ लाख यातायात मजदुरहरु प्रत्यक्ष प्रभावित भएको भन्दै श्रमिकको सुरक्षा र यात्रुको सहज यात्राको वातावरण बनाउन सरकारसंग आग्रह गरिएको छ ।