हाम्रो उत्साहप्रद पहिलो बर्ष 

विशेष सम्पादकीय  

आदरणीय पाठक तथा शुभेच्छुकहरु, आज असोज १० अर्थात सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगारी भन्ने अभियान सहित देशपरदेश डटकम सुरु गरिएको दिन । गत बर्ष १० गते १० बजे सामाजिक सञ्जाल मार्फत सयौं व्यक्तिले एकैसाथ देशपरदेश डटकमलाई सार्वजनिक गर्नुभएको थियो । यो नेपालमा एउटा नविनतम सुरुवात पनि थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट सहित विभिन्न शाखा, प्रतिष्ठान, एशोसिएट, प्रवास शाखा लगायतका अध्यक्ष र पदाधिकारीहरु, पत्रकार मित्रहरु तथा विभिन्न पेशाकर्मीहरुले फेसबुक मार्फत देशपरदेशको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँहरु सवैलाई हामी यो अवसरमा धन्यवाद सहित सम्झन चाहन्छौं । 

हाम्रो एक बर्षको यात्रा अत्यन्त उत्साहप्रद रह्यो । हामीले यो एकबर्षमा सीप सिक्न प्रेरित गर्ने सामग्रीहरु पस्कियौं, सीप सिकेर प्रगति गरिरहेकाहरुलाई हाम्रा पाठक माझ पुर्यायौं र बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्धेश्यका सामग्रीहरु समेट्यौं । 

हामीले सुरुवाती बर्षको पछिल्लो खण्डमा सुरु गरेको गरे के हुन्न र ? सीप सिकेर स्वदेशमा नै राम्रो आर्थिक उपार्जन गरिरहेका युवाहरुको कथा श्रृंखला हो । यसमा हामीले विभिन्न सीपमूलक तालिम पश्चात स्वदेशमा उद्यम गरिरहेका २३ जना युवाका उन्नतीका कथा प्रस्तुत गरिसकेका छौं । यो क्रम जारी नै रहनेछ । यसलाई पाठकहरुले पनि अत्यन्त रुचाएका छन् । यसले स्वदेशमा गरिखाने अवशरको खोजिमा रहेका युवालाई प्रेरित गरिरहेको छ भनें बैदेशिक रोजगारीका क्रममा रहेकाहरुले समेत स्वदेश फर्केपछि के गर्ने भन्ने प्रश्नमा उत्तर पाएको प्रतिकृया हामीले समय समयमा प्राप्त गरिरहेका छौं । केहि पत्रिकाले यो सामग्रीलाई साभार समेत गरेर थप पाठक माझ पुर्याउने काम गरेका छन् ।  

वितेका एक बर्ष भित्र हामीले बैदेशिक रोजगारी भित्रका बेथिति, विसंगतिलाई नाँगेझार पार्ने काम गर्यौं । बैदेशिक रोजगारीका नाममा भइरहेको मानवतस्करीलाई रोक्न हामीले आफूले सकेको पहल, प्रयत्न गर्यौं । कन्सल्ट्यान्सीका नाममा भइरहको मानवतस्करी देखि भारतको बाटो भएर बैदेशिक रोजगारीमा पठाइने कार्यको विरुद्धमा हामीले निरन्तर सामग्रीहरु तयार पारिरहेका छौं । 

हामीले एनआरएनएको नेतृत्व पदको आडमा वा दुतावासकोे कर्मचारी भएर गरेका अन्यायलाई कुनै हिचकिचाहट विना लेख्यौं । यसबीचमा हामीलाई धम्क्याउने अनेकौं प्रयत्नहरु भए । तर हामीले त्यसको डटेर प्रतिवाद गर्यौं । अन्ततः यसले खाडीका मुलुक र मलेसियामा कार्यरत नेपालीलाई ठग्नेहरु हच्किए, हाम्रो अभियान निरन्तर जारी नै छ । बैदेशिक रोजगारका नाममा स्वदेशमा होस् वा विदेशमा ठगि गर्नेहरु विरुद्ध हाम्रो खवरदारी आगामी दिनमा पनि जारी नै रहनेछ । 

देशपरदेशले यो एक बर्षमा केहि नविनत सुरुवात पनि गरेको छ । बैदेशिक रोजगारीमा गएर हराएका परदेशी खोज्ने अभियान स्वरुप हामीले नै हराएका परदेशी स्तम्भ सुरुवात गरेका हौं । यो एकबर्ष वीचमा त्यसरी नै समाचार प्रकाशित गरेपछि लामो समयदेखि हराएका भनिएका तीनजना परदेशीले परिवारमा सम्पर्क गरेका छन् । यो कम खुसीको विषय होइन । हामीले सुरु गरेको यो अभियानको प्रभावकारिताकै कारण हुनुपर्छ पछिल्लो समयमा अन्य पत्रिका तथा केहि अनलाइनले हराएका परदेशी खोज्ने अभियान थालेका छन् । यसलाई हामीले आफ्नो सफलता ठानेका छौं । 

हामी निरन्तर नविनतम प्रयोगमा विश्वास गर्छौं । आदरणिय पाठकको सुझाव अनुरुप हामीले केहि समय अगाडी मात्र अनलाइनको शैली र ढाँचामा केहि फेरवदल गरी नयाँ स्वरुप दिएका छौं भनें केहि सामग्रीहरु थपेका छौं । हामीले मुख्य गरी फलैंचाको सुरुवात गरेका छौं । यो सीप र बैदेशिक रोजगारीमा केन्द्रीत भएर गरिने साझा छलफलको थलो हो । जसरी गाउँमा फलैंचामा बसेर छलफल गरिन्छ, हामीले त्यहि रुपमा यसलाई अगाडी बढाउने छौं । जसअनुरुप काम प्रारम्भ भइसकेको छ ।   

देशपरदेशका पाठक नेपालसँगै युएई, कतार, मलेसिया र भारतमा क्रमैसँग रहेका छन् । यसले हामीले जुन उद्धेश्यले अनलाइन सुरुवात गरेका थियौं त्यो उद्धेश्यमा सफल भएका छौं भन्ने लागेको छ । यस अनलाइनलाई ति देशमा पठनीय बनाउन हाम्रा स्तम्भकार तथा सम्वाददाताहरुले गरेको निरन्तर मेहनतले नै सम्भव भएको हो । 

हामीले वितेका एक बर्षमा धेरै सिक्न पाएका छौं । एक बर्षे यात्राका क्रममा हामीले हाम्रा पाठक र शुभेच्छुकहरुबट पाएको साथ, सहयोगले हामीलाई अझ मजबुत बनाएको छ । र, सीप सिकेर स्वदेशमै अवशर खोज्न वा बैदेशिक रोजगारीमा जानेहरु वा रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई आवश्यक सुचना पुर्याई उनीहरुलाई बलियो बनाउने अभियानमा हामीले हातेमालो गर्न पाएको अनुभव गरेका छौं । हामी यो एक बर्षमा नील हिरा समाज, रोजगार कोषको सचिवालय/हेल्भेटास स्वीस ईण्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना (सामी) र यसका विभिन्न जिल्लामा क्रियाशिल साझेदारसंस्थाहरु, प्लान नेपाल लगायतका साझेदार संस्थाहरुबाट पाएको सहयोगलाई विशेष रुपमा सम्झन चाहन्छौं । 

हाम्रा पाठक हाम्रा लागि सदैव सर्वोपरी हुन् । शुभेच्छुकहरुबाट आगामी दिनमा पनि उहि सद्भावको अपेक्षा राख्दछौं । सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि समाचार, सुचना र जानकारीका लागि हामी दृढ संकल्पित रहेको पुनः दोहोर्याउँछौं । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय