काठमाडौं, असोज ७- कतारले आगामी बर्षको सुरु देखि ‘ईलेक्ट्रोनिक कन्ट्रयाक्ट’ प्रणाली लागु गर्ने सरकारी अधिकारले जानकारी दिएका छन् । कतारमा सो प्रणाली पहिलो पटक लागु गर्न खोजिएको कतारको श्रम मन्त्रालयका वरिष्ठ अधिकारी मोहम्मद अली अल मिरले जनाएको एएफपीले जनाएको छ । उनका अनुसार सन् २०१६ को मार्च अन्त्यसम्ममा सो व्यवस्था लागु भइसक्नेछ ।
हामी यो प्रणालीलाई सन् २०१६ को पहिलो त्रैमासिक भित्रै लागु गर्ने प्रयासमा छौं मिरले भनेका छन् यसले कामदारलाई आफ्ना अधिकारका बारेमा जानकारी दिन मद्धत गर्ने हामीले अपेक्षा गरेका छौं ।
नयाँ प्रणाली लागु भएपछि कामदारले सरकारी वेभसाइटमा आफ्नो नाम, परिचयपत्र वा भिसा नम्वर हालेर आफ्नो कामको करारपत्रका बारेमा विस्तृतमा जानकारी लिन सक्नेछन् ।
यो प्रणाली लागु भएपछि कामदारले आफूले हस्ताक्षर गरेको सम्झौतापत्रमा के कुरा छन् भन्ने कुरा आफ्नै भाषामा पढ्न सक्नेछन् । हालसम्म कतारमा सम्झौतापत्र धेरैजसो अरवी भाषामा र केहि अंग्रेजी भाषामा गराउने चलन रहेको गल्फ टाइम्सले जनाएको छ । अव सुरु हुने प्रणालीमा नेपाली, उर्दु सहितका १० भाषा हुनेछन् । सम्झौतामा नै ठगिएको कतारमा कामदारको अधिकारका पक्षमा उठाउँदै आइएको एउटा मुख्य विषय हो । यसपछि समयमा तलव नदिनु अर्को रहेको समाचारमा जनाइएको छ ।
यो प्रणाली लागु भइसकेपछि रोजगारदाताले एउटा सम्झौता पत्रमा सही गराएर अर्कै तलव दिएमा कारवाही गर्न सहज हुने श्रम मन्त्रालयका वरिष्ठ अधिकृत मिरले बताएका छन् । त्यस्तो अवस्थामा हामीले कारवाही गर्नेछौं उनले भने । कतारमा १७ लाखको हाराहारीमा आप्रवासी कामदार कार्यरत छन् । सन् २०२० सम्ममा त्यो बढेर २० लाख पुग्ने अनुमान गरिएको छ ।
५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत कतारमा रोजगारदाताले दुःख दिएका खवर सार्वजनिक भइरहन्छन् । यसैगरी रोजगारदाता फेर्न नपाइने व्यवस्था र रोजगारदाताले अनुमति नदिएसम्म कैदी झैं बस्नु पर्ने प्रावधानका कारण कतारको आलोचना भइरहेको छ । विश्वव्यापी आलोचनाका बीच सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारले सुधारका उधारो प्रतिवद्धता प्रकट गर्दै आएको छ ।