
काठमाडौं, असोज ७ -नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुर्याई जोखिमपूर्ण कामका लागि बेच्ने गिरोह मधेस आन्दोलनसँगै सल्बलाएको पाइएको छ। स्थलमार्गबाट भारतको नयाँदिल्ली पुर्याकएर प्रतिबन्धित इराक पुर्याकउन हिँडाइएका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको छ।
सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका दुई दलालसमेत पक्राउ परेका छन्। प्रहरीका अनुसार ती युवतीलाई उग्रवादी इस्लामिक लडाकु आइएसआई प्रभावित इराकी सहर कुर्दिस्तान लगिँदै थियो।
मधेसमा आन्दोलन चर्किएयता उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा बढाइएको निगरानीका कारण सात चेली बेचिनबाट जोगिएको प्रहरी दाबी छ।
ती युवतीलाई मानव बेचबिखनमा सक्रिय दलालको समूहले मासिक ३ सयदेखि ३ सय ५० अमेरिकी डलर कमाइ हुने लोभ देखाउँदै द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र इराक र सिरियाको उत्तरी क्षेत्र कुर्दिस्तान लैजान झापा जाने बस चढाएका थिए।
झापाबाट स्थलमार्ग हुँदै दिल्ली पुर्याएर हवाइमार्गबाट कुर्दिस्तान लैजाने योजना पक्राउ परेकाबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए।
चार दिनअघि महानगरीय प्रहरी प्रभाग, नागढुंगामा तैनाथ प्रहरीले झापाका लागि हिँडेको बस जाँच गर्दा सात युवती फेला परेका थिए। उनीहरूसँग प्रहरीले सोधपुछ गर्दा दिल्ली हिँडेको बताएपछि प्रहरीले बसमा उनीहरूका सहयोगी खोजी गर्दा रहस्य खुलेको थियो।
ती युवतीलाई दाबादोर्जे तामाङ, दाबा तामाङलगायत पाँच दलालले घरेलु कामदारका रुपमा दिल्ली हुँदै कुर्दिस्तान लैजान लागेका थिए। प्रवक्ता पोखरेलका अनुसार युवतीसँगै नियन्त्रणमा लिइएका दाबादोर्जे र दाबासँग सोधपुछ गर्दा ती युवतीलाई झापाबाट नाका कटाएर दिल्ली पुर्यारउने तयारी थियो। त्यहाँबाट हवाइमार्ग हँदै कुर्दिस्तान लगेर घरेलु काममा लगाउन बिक्री गर्ने योजना खुलेपछि दुवै जनालाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
‘अनुसन्धानमा उनीहरूले वैदेशिक रोजगारको प्रलोभनमा पारेर बेचबिखन गर्ने उद्देश्य रहेको खुलेको छ’ एसपी पोखरेलले भने, ‘उनको समूहका अन्य सदस्यको पनि खोजी सुरु गरेका छौं।’
पोखरेलका अनुसार प्रहरीले उद्धार गरेका सातै युवती विवाहित हुन्। ६ जना सिन्धुपाल्चोकका र एक गोरखाकी युवतीले आफू रोजगारीका लागि विदेश जान लागेको जानकारी परिवारलाई समेत नगराई प्रलोभनमा परी दलालका पछि लागेको बताएका छन्। पक्राउ परेका दलाल पनि सिन्धुपाल्चोककै हुन्।
‘कुन देश लैजाने बताएका थिएनन्, राम्रो काम हो, महिनामा एक लाखभन्दा बढी तलब आउँछ भनेपछि जान तयार भएका हौं’ उद्धार गरिएका युवतीको भनाइ उद्धृत गर्दै एसपी पोखरेलले भने, ‘पतिलाई समेत भनेका थिएनौं, झन्डै बर्बाद हुनबाट जोगियौं।’
सोमबार पक्राउ परेका दलालको सञ्जालबारे महानगरीय प्रहरी वृत्त, थानकोटले अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त समूह मानव बेचबिखनमा सक्रिय समूहमध्येकै देखिएपछि विस्तृत अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिइने एसपी पोखरेलले जानकारी दिए।
नागरिकबाट