
काठमाडौं, असोज ४
– इजरायल जान चाहनेले अहिले तालिम नलिनू, पैसा नबुझाउनूः प्रवद्र्धन बोर्ड
– ३ सय कामदारको कोटामा पुराना १६ सयलाई प्राथमिकता
– रोजगारदाताले नै कामदार छान्ने भएकाले मैले पनि आफूले चाहेका मान्छे पठाउन सक्तिनँः श्रम राज्यमन्त्री
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले इजराजल जान चाहने कामदारलाई ‘केयर गिभर’ को प्रशिक्षण दिन अनुमति नदिएको प्रस्ट्याएको छ । इजरायल जान चाहने कामदारलाई लक्षित गरी ‘केयर गिभर’ तालिम दिने भन्दै प्रशिक्षण केन्द्रहरूले सूचना प्रवाह गरिरहेका बेला बोर्डले यस्तो जनाएको हो ।
‘इजरायल जाने कामदारलाई केयर गिभरको प्रशिक्षण दिने अनुमति कसैलाई दिइएको छैन,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘पत्रपत्रिकामा विज्ञापन छापिएको देखें । इजरायल जान चाहनेले अहिले प्रशिक्षण नलिनुहोला । कसैलाई पैसा पनि नबुझाउनुहोला ।’ उनले केयर गिभरको प्रशिक्षण दिन सबैभन्दा पहिले पाठ्यक्रम बन्नुपर्ने बताए । ‘पहिला १ महिनाको पाठ्यक्रम थियो । अहिले ३ महिनाको प्रशिक्षण दिने भन्ने इजराजय सरकारसँग सहमति भएको छ,’ उनले भने, ‘प्रशिक्षण दिन पाठ्यक्रम बन्नुपर्छ । प्रशिक्षण शुल्क तोकिनुपर्छ,’ उनले भने, ‘इजरायलको सहमतिबिना त्यो सम्भव छैन ।’ उनले पाठ्यक्रम बनेर र शुल्क तोकिएपछि मात्र सूचीकृत संस्थाबाट प्रशिक्षण लिन सकिने बताए ।
काफ्लेले इजरायल जाने कामदारलाई प्रशिक्षण दिन भनेर २०६८ मै २२ वटा संस्था बोर्डमा दर्ता भएको बताए । ‘अहिले ती संस्थाको अवस्था के छ ? तालिम सञ्चालन गर्ने सक्ने अवस्थामा छन् वा छैनन् हेरिएको मात्र हो,’ उनले भने, ‘तीमध्ये कतिपय संस्थाले तालिम सञ्चालन गर्न सक्ने अवस्थामा छौं र मापदण्ड पनि पहिला तोकिएबमोजिम छ भनेर दाबी गरे पनि हामीले तीमध्ये ११ वटा संस्थाको अनुगमन सकेका छौं । अहिले त सूचीकरणको प्रक्रिया समेत सकिएको छैन ।’ उनले सूचीकरणको प्रक्रिया सकिएपछि मात्र कसले केयर गिभरको प्रशिक्षण दिन पाउने र कसले नपाउने भन्ने टुंगो हुने बताए ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पहिला प्रशिक्षण लिएका कामदारलाई प्राथमिकता दिएर इजरायल पठाइने उल्लेख गर्दै तत्काल नयाँ कामदार पर्ने सम्भावना कम भएको बताए । ‘अहिले पाइलट प्रोजेक्टका रूपमा आएको ३ सय जनाको कोटामा पहिले प्रशिक्षण लिएका १६ सय जनालाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘पहिले प्रशिक्षण लिइसकेका अयोग्य भए मात्र नयाँले मौका पाउँछन् । पाइलट प्रोजेक्ट सफल भए थप कोटा आउँछ । त्यसपछि मात्र नयाँ कामदारलाई प्रशिक्षण दिएर पठाउँछौं ।’
इजरायल र नेपालबीच कोरियाली मोडेलमा सरकारी स्तरमै केयर गिभर आपूर्ति गर्ने सम्झौता भएपछि एजेन्ट र प्रशिक्षण केन्द्रहरू सल्बलाएका छन् । उनीहरू आफू केयर गिभरको प्रशिक्षण दिन योग्य भएको भन्दै आफ्नो प्रशिक्षण केन्द्र सूचीकृत गरिदिन राज्यमन्त्री गुरुङलाई दबाब दिइरहेका छन् । तर, राज्यमन्त्री गुरुङले इजरायलको कोटा तत्काल थोरै भएका कारण प्रशिक्षण लिएका सबैले केयर गिभरमा जान नपाउने भन्दै सूचीकरणका लागि आएको दबाब अस्वीकार गरिरहेका छन् ।
केही दिनअघि प्रशिक्षण केन्द्र सूचीकरण गरिदिन दबाब दिन सिंहदरबारस्थित आफ्नो कार्यकक्ष पुगेका एक हूल प्रशिक्षण केन्द्र सञ्चालकलाई उनले भनेका थिए, ‘अहिले कोटा नै थोरै छ । धेरै संस्थालाई प्रशिक्षणको अनुमति दिन मिल्दैन । अनुमति दिएर मात्र के गरेर प्रशिक्षण केन्द्रको खर्च धान्नुहुन्छ ?’
ग्राहक बनेर फोन गर्दा सार्वजनिक सूचना जारी गर्ने केही प्रशिक्षण केन्द्रले अर्को सातादेखि नै प्रशिक्षण सुरु हुने भन्दै विस्तृतमा बुझ्न कार्यालय आउन आग्रह गरे भने केहीले फोनमा सबै कुरा भन्न नमिल्ने भन्दै भेटेरै कुरा गर्न अनुरोध गरे ।
एजेन्टले इजरायल पठाउने भन्दै प्रति कामदार १२ लाख रुपैयाँसम्म असुलेपछि केही वर्षअघि इजरायलले नेपालीका लागि रोजगारी बन्द गरेको थियो । त्यसयता नेपाली कामदारलाई भिसा नै जारी नगर्ने भन्दै सेटिङ मिलाएर पनि कामदार इजरायल पठाउन सम्भव नभएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
पछिल्लो पटक सरकारको पहलमा इजरायल र नेपालबीच सरकारी स्तरबाटै कामदार पठाउने सहमति भएको हो । अहिले एजेन्टले केयर गिभरमा सरकारी कोटामा इजरायल पठाइदिने भन्दै कामदारसँग ९ लाख रुपैयाँसम्म मागिरहेको व्यवसायीहरू बताउँछन् ।
केयर गिभरका रूपमा इजरायल जान हिब्रु भाषा आवश्यक छैन । तर, कम्तीमा १० कक्षा उत्तीर्ण गरेको र प्रमाणपत्र तहको अंग्रेजी भाषामा दख्खल हुनु अनिवार्य छ । त्यसबाहेक कामदारको उचाइ कम्तीमा १ दशमलव ४ मिटर र तौल कम्तिमा ४५ किलो हुनैपर्छ । तस्वीरः ईण्टरनेटबाट
कान्तिपुरबाट