‘नयाँ संविधानलाई स्वागत’

काठमाडौं, असोज ३- नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)ले आजको दिनलाई एक जुगमा एक चोटी आएको दिन भन्दै यसको सम्मानमा घर घरमा दिपावली गर्न आव्हान गरेको छ । जनताद्धारा नै निर्माण गरिएको नयाँ संविधानलाई हार्दिकतापूर्वक स्वागत गर्न पनि जिफण्टले सम्पूर्ण श्रमिक नेपालीलाई आग्रह गरेको छ । 

जिफण्टका अध्यक्ष विष्णु रिमालले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नै प्रतिनिधिहरुद्धारा लेखिएको संविधान जारी गर्ने नेपाली जनताको झण्डै सात दशक लामो पर्खाई पुरा भएको बताएका छन् ।     

यसअघिको संविधानसभा पनि संविधान जारी गर्ने अवस्थामा पुगेपनि अन्त्यमा आएर केहि साना विषयले अल्झाएको स्मरण गर्दै अध्यक्ष रिमालले झण्डै–झण्डै दुर्घटनामा पुगिसकेको नेपाली राजनीतिलाई दोश्रो संविधानसभाले सही बाटोमा ल्याएको उल्लेख गरेका छन् ।  

विज्ञप्तीमा भनिएको छः पछिल्लो निर्वाचनसंगै फेरिएको शक्ति सन्तुलनमा टेकेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भन्ने गर्नुहुन्थ्यो ‘यो संविधानसभाले अघिल्लो संविधानसभाको नियती बोक्दैन । संविधान नलेखि घोसेमुण्टो लगाएर लुरुक्क फर्किदैन’ आज त्यो घोषणा, सहि साबित भएको छ । अघिल्ला संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरी बाँकी काम यसले फत्ते गरेको छ । 

२०६३ सालको ऐतिहासिक परिवर्तनसंगै जारी पट्यारलाग्दो राजनीतिक संक्रमणकाल नयाँ संविधान बनेसँगै आइतवारदेखि अन्त्य हुने जिफण्टले विश्वास व्यक्त गरेको छ । नयाँ संविधान बनेसँगै हालसम्मको आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धी संस्थागत भएको भन्दै देशका चार लाख श्रमिक सदस्य रहेको संस्थाका तर्फबाट अध्यक्ष रिमालले खुशी प्रकट गर्दै यो प्रकृयामा संलग्न सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । 

वर्तमान संविधानसभामा विभिन्न वर्ग र तहका महिला, दलित, आदिवासी÷जनजाती, मधेसी, थारु, मुस्लिम, पिडिएको वर्ग तथा तमाम धार्मिक एवं साँस्कृतिक अल्संख्यकहरु र खस–आर्यहरुको जनसंख्याको हिसावले समानुपातिक प्रतिनिधित्व रहेको जिफण्टको ठहर छ । त्यसैले नेपालको संविधान, २०७२ प्रकृयाको हिसावले जनताको व्यापक संलग्नतामा निर्मित सबैभन्दा समावेशी संविधान भएको अध्यक्ष रिमालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

लोकतन्त्र, संघीयता, बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गरेको लोकतान्त्रिक संरचनामा निर्मित नयाँ संविधान, आजसम्मको सबैभन्दा प्रगतिशिल संविधान भएको पनि जिफण्टले जनाएको छ । यसले कुनै न कुनै रुपमा सबै तह र तप्काका जनताको आकांक्षालाई समेटेको भन्दै राज्य पुनसंरचना गरी मुलुकलाई बहुसंख्यक जनचाहना बमोजिम एकात्मक शासन व्यवस्थाबाट संघीयतामा प्रवेश गराएको धारणा जिफण्टको रहेको छ । 

नयाँ संविधानमा समेटिनु पर्ने गरी सार्वभौम संविधानसभामा जिफण्ट सहित नेपाली ट्रेड यूनियन आन्दोलनले प्रस्तुत गरेका केही विषयवस्तु छुटेको हुँदा तिनिहरुलाई समयक्रममा समेटिने अपेक्षा जिफण्टले गरेको छ । विज्ञप्तीमा भनिएको छः यो संविधान, अघि बढ्नका लागि मूख्य आधार हो । यसैमा टेकेर हामी छुटेका विषयहरु समयक्रममा संवोधन हुने अपेक्षा गर्दछौं । 

संविधान, तत्कालको शक्ति सन्तुलनको सहमतीको राजनीतिक दस्तावेज भएकाले कुनैपनि संविधान शतप्रतिशत गुनासोमुक्त हुन्न भन्दै देशका विभिन्न भागमा संघीय सीमाका सन्दर्भमा देखिएको अन्तोषलाई रुपान्तरित संसद मार्फत पूरा गराउने तर्फ लाग्न जिफण्टले आग्रह गरेको छ । यसैगरी असन्तुष्ट पक्षका गुनासाहरु मध्ये न्यायोचित, उपयुक्त र तर्कसंगत गुनासालाई संवादद्धारा सम्बोधन गर्न पनि सबद्ध पक्षसंग आग्रह गरिएको छ । 

तीन पुस्तादेखिको संघर्षलाई निस्कर्षमा पुर्याएकोमा संविधानसभा भित्र र बाहिर रहेका सम्पूर्ण दलहरु तथा संविधानसभाका सम्पूर्ण सदस्यलाई धन्यवाद ज्ञापन गर्दै जिफण्ट अध्यक्ष रिमालले विज्ञप्तीमा भनेका छन्ः नयाँ संविधान हाम्रो हो, यसमाथि हाम्रो आफ्नो स्वामित्व छ । तसर्थ, हामी नयाँ संविधानको हार्दिक स्वागत गर्दै हाम्रा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरुलाई असोज ३ गते देशभरी घरघरमा दिपावली गरी स्वागत गर्न आव्हान गर्दछौं । यसैगरी सर्वपक्षीय राजनीतिक शक्तिद्धारा  देशभर आयोेजना हुने विजय उत्सवमा समेत आ–आप्mनो पहिचान सहित संयुक्त रुपमा सामेल हुन अध्यक्ष रिमालले निर्देशन दिएका छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय