
काठमाडौं, असोज ३- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान चाहनेले पास गर्नुपर्ने भाषा परीक्षामा शनिबार १७ जना नक्कली परीक्षार्थी फेला परेका छन्। काठमाडौंका विभिन्न केन्द्रमा नक्कली परीक्षार्थी फेला परेका हुन्।
कोरिया भाषा परीक्षा काठमाडौं र पोखरामा भइरहेको छ। इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाका अनुसार लिटिल एन्जल्स स्कुलमा ५, लिटिल एन्जल्स कलेजमा २, एपिएस स्कुलमा १, भिएस निकेतनमा २, एलआरआईमा ३ जना नक्कली विद्यार्थी फेला परेका हुन्। ल्याबोरेटरी स्कुलमा २ र ह्वाइट हाउस केन्द्रमा २ नक्कली फेला परेका थिए।
तीनजना महिलासहित सबै नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। अर्काको नाममा परीक्षा दिइरहेको सुराकी पाएका अधिकारीहरूले सुक्ष्म जाँच गर्दा नक्कली परीक्षार्थी फेला परेको बास्तोलाले बताए। सन् २००८ मा सरकारले कोरियामा कामदार पठाउन थालेपछि यसमा युवायुवतीको आकर्षण बढ्दो छ।
कोरिया सरकारका अधिकारीले नै परीक्षा लिने र उत्तरपुस्तिका जाँच्ने भएकाले भाषामा दख्खल राख्नेहरू मात्र जान पाउँछन्। कृषि र निर्माण क्षेत्रमा काम गर्नेले महिनामा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म तलब पाउँछन्। आकर्षक तलबले धेरै युवायुवतीलाई तानेको छ।
कोरिया सरकारले अहिलेसम्म ३३ हजार नेपाली कामदार लिइसकेको छ। गत वर्ष मात्र ६ हजार कामदार कोेरिया गएका थिए। यो वर्ष ६ हजारभन्दा बढीलाई लैजाने बताइएको छ।
यो वर्ष ५१ हजार १ सय ३७ जनाले आवेदन दिएकोमा शनिबार काठमाडौं र पोखरामा गरी २५ हजार ५ सय ७० भाषा परीक्षामा सहभागी भए। बाँकी परीक्षार्थीले आइतबार परीक्षा दिनेछन्। नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बास्तोलाले बताए।
पक्राउ परेका १७ जनाले कसको परीक्षा दिइरहेका रहेछन् त्यो पनि पत्ता लगाएर कारबाही गर्छौं, उनले भने। कोरिया जान पाइने भन्दै कोरियन भाषामा दक्ष व्यक्तिलाई ठूलो रकम खर्चेर परीक्षा दिन लगाउने तयारी भइरहेको केही दिनयता व्यापक चर्चा थियो। कतिपय परीक्षार्थीले नक्कलीको संख्या पक्राउ परेभन्दा बढी हुन सक्ने आशंका गरेका छन्। आवेदन फारम भर्नेमा महिलाको संख्या करिब ५ हजार छ। परीक्षाको नतिजा यही असोज २१ गते सार्वजनिक गर्ने कार्यक्रम छ।
जिटुजी अर्थात नेपाल सरकारले नै कोरिया सरकारलाई कामदार उपलब्ध गराउने भएकाले कोरिया जाँदा कामदारले ७० हजार रुपैयाँ मात्र खर्च गरे पुग्छ। यसमा कामदार ठगिने सम्भावना कम रहेको अधिकारी बताउँछन्।
२०७२ वैशाख ३ देखि ६ गतेसम्म फारम भरेकाहरूको परीक्षा वैशाख १२ गते हुने कार्यक्रम थियो। भूकम्पका कारण परीक्षा सरेको हो। भाषा परीक्षामा उत्तीर्ण हुनेहरू दुई वर्षभित्र कोरिया गइसक्नु पर्नेछ।
नागरिकबाट