
काठमाडौं, असोज २- संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी)ले नयाँ संविधानलाई स्वागत गर्दै असोज ३ गते दिपावली गर्न सम्पूर्ण श्रमिकलाई आव्हान गरेको छ । केन्द्रका तर्फबाट अध्यक्ष विष्णु रिमालले एक प्रेस विज्ञप्ती जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
दवावहरु र आशंकालाई चिर्दै संविधानसभाबाट गत असोज १ गते संविधान प्रमाणीकरण हुनुले नेपालीको ६५ बर्षयताको आकाँक्षा पूरा भएको जेटीयूसीसीको ठहर छ । यसले जेटीयूसीसीमा आवद्ध भएका २० लाख बढी श्रमिक हर्षित भएको विज्ञप्तीमा जनाइएको छ ।
नयाँ संविधान लेख्ने कार्य सम्पन्न हुनुले नेपालमा दशकौं देखि जारी राजनीतिक संक्रमणकालको अन्त्य भइ आन्दोलनहरुबाट प्राप्त उपलव्धी संस्थागत हुने र मुलुक समृद्धिको मार्गमा अघि बढ्ने जेटीयूसीसीले विश्वास व्यक्त गरेको छ । संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरी संविधानसभाका अध्यक्षले प्रमाणीकरण गरिसकेको नेपालको संविधान २०७२ प्रकृयाका हिसावले हालसम्मकै व्यापक जनसहभागितामा निर्मित र समावेशी संविधान भएको विज्ञप्तीमा जनाइएको छ ।
लोकतन्त्र, संघियता, बहुदलिय प्रतिस्पर्धालाई आत्मसात गरेको नेपालको नयाँ संविधानले कुनै न कुनै रुपमा सवै तह र तप्काका जनताको आकाँक्षालाई समेटेको जेटीयूसीसीले ठहर गरेको छ । यसैगरी एकात्मक शासन व्यवस्थाबाट संघियतामा राज्यलाई पुनसंरचना गर्ने अहिलेको संविधान हालसम्मकै प्रगतिशिल संविधान भएको समेत विज्ञप्तीमा जनाइएको छ ।
नेपालका ट्रेड यूनियनहरुले दिएका कतिपय सुझाव नयाँ संविधानमा छुटेको भन्दै ति विषय आगामी दिनमा समेटिने अपेक्षा जेटीयूसीसीले राखेको छ । वर्तमान संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका विभिन्न पक्षलाई पनि आफ्ना माग तथा विषयहरु रुपान्तरित संसद मार्फत पूरा गराउने अवशर रहेको भन्दै त्यसतर्फ लाग्न आग्रह गरिएको छ । यसैगरी असन्तुष्ट पक्षका गुनासाहरु मुल रुपमा राजनीतिक मुद्धा भएकाले त्यसलाई संवादद्धारा सम्वोधन गर्न पनि जेटीयूसीसीले सम्वद्ध पक्षसँग आग्रह गरेको छ ।
जेटीयूसीसीका अध्यक्ष रिमालले कुनै पनि संविधान शतप्रतिशत पूर्ण नहुने यथार्थलाई स्वीकार गर्दै वर्तमान संविधानलाई सहर्ष स्वीकार गर्न र विजयोत्सव मनाउन आव्हान गर्नुभएको छ । त्यसका लागि असोज ३ गते संयुक्त रुपमा दिपावली गर्न र असोज ४ गते सर्वपक्षिय राजनीतिक शक्तिद्धारा आयोजना हुने विजय उत्सवमा आ–आफ्नो पहिचान सहित सामेल हुन जेटीयूसीसीमा आवद्ध सवै ट्रेड यूनियन महासंघहरुलाई अध्यक्ष रिमालले आग्रह गर्नुभएको छ ।
जेटीयूसीसी नेपालका ट्रेड यूनियनहरुको साझा संस्था हो । यसमा नेपालका २० लाख बढी श्रमिकहरुको प्रतिनिधित्व गर्ने ट्रेड यूनियन महासंघहरु सदस्य छन् ।