साउदीबाट शेष घलेलाई पत्रः ‘एनआरएन भवन दोश्रो कार्यकालको बहानावाजी थियो’ 

आदरणीय अध्यक्षज्यु,

नमस्कार

तपार्इको कार्यकालमा एउटा कुराको वाह वाही भयो (पैसाको) । तपार्इ आफैंले कहिले १ करोड त कहिले १ अरब नै दिने घोषणा गर्नुभयो यद्यपी त्यो १ करोड के का लागि, कसका लागि घोषणा गर्नुभएको थियो र तपार्इको कार्यकाल बित्नै लाग्दा समेत कुनै पनि पीडित नेपाली श्रमिकहरूले त्यो १ करोड त के १ रूपैया पनि कहीं कतै देख्न पाएनन । यद्यपी केही अरूहरूले पनि त्यही अर्थहिन, अनुपयोगी, सस्तो प्रचारमुखी घोषणाको सिको (नक्कल) गर्दै त्यही प्रचलित शब्द कल्याणकारी कोष बनाउने नारामा भुलाउन खोजिरहेका छन । यसरी करोडकै अत्तो पत्तो नभएपछि अरब त झन कता कता १ अरबको परिचालनका लागि तपार्इले आंफैले नेतृत्व गरेको यो सामाजिक संस्थालार्इ नरोजेपछि हामी एनआरएनहरूले त्यसबारे कुनै जिज्ञासा राख्ने अधिकारै भएन ।

तपार्इले मागेभन्दा झण्डै ३ गुना बढी स्वतः स्फूर्त रूपमा भुकम्प पीडितहरूका लागि चन्दा सहयोग प्रदान गर्ने खाडीकै केही एनसिसीहरूमा भुकम्प पीडित एनआरएन सदस्यहरूका निवेदनहरू परेका छन (राहत तथा पुनर्बासको सहयोगका लागि) । यी एनसिसीहरू तपार्इले घोषणा गर्नुभएको १ हजार घर भित्र यी भुकम्प पीडित सदस्यहरू कसो नपर्लान भनी अझै पनि आशा गरि बसेका छन । तर तपार्इको रोडम्याप, इच्छा र योजना फरक दिशाउन्मुख देखिदा निराशा छाउन थालेको छ । त्यसो त ब्यक्तिगत हैसियतमै सरकारको दूत बनिसकेपछि, सरकारकै अनुमति, आदेश, निर्देशन मान्नै पर्ने तपार्इका आफ्नै बन्धन र बाद्यता होलान, एनआरएन सदस्यहरूलार्इ जसरी मनिषा कोइराला या मह जोडीले सम्झिनु आवश्यक हुंदैन त्यसैगरी उद्योगपति ब्यापारी (नियुक्तिपत्रमा उल्लेखित शब्दावली) शेष घलेले पनि सम्झिन आवश्यक नभएरै होला, पीडित एनआरएन सदस्यहरूमा अन्यौल र निराशा छाउने नै भयो । 

भवन निर्माणको लागि पनि अपेक्षा गरेभन्दा बढी रकम उठे उठाइएको छ, यो आंफैमा नराम्रो होइन, तर २ बर्षभित्र निर्माण गर्ने तपार्इको वाचा (प्रतिबद्धता र जनादेश) आज कार्यकाल समाप्तीमा आइपुग्दा फगत एउटा शिलामा सिमित रहेको छ । भवनलार्इ दरबार बनाउने महत्वाकांक्षी योजना जब बन्यो, हामीलार्इ अब यो भवन यो कार्यकालमा बन्दैन, यो अध्यक्षज्युको कार्यकाल दोहोर्याउने सुनियोजित चाल (जाल) र बहानाबाजी हुनेभयो भन्ने हामीलार्इ त्यतिखेरै लागेको थियो, अहिले थप आशंका जन्मेको छ कि अब एनआरएनए हामीजस्ता सर्वसाधारण नागरिकको हैन, राजा महाराजाहरूको मात्र हुनेभयो भन्ने चिन्ता छ किनकि दरबारमा राजा महाराजा नै बस्छन, हामी साधारण बस्ने भवन त बन्नै सकेन । 

अध्यक्षज्यु, अब यो इमेलको मुख्य बिषय बस्तु र संलग्न समाचारप्रति तपार्इको ध्यानाकर्षण गर्न चाहन्छु । यो बिषय मुलतः मलेशिया र खाडीमा कामगर्ने श्रमिक एनआरएनहरूको सुरक्षा र अधिकारसंग प्रत्यक्ष जोडिएको गम्भीर र मर्मस्पर्शी छ । यो त्यस्तो अधिकार हो, जुन करोड र अरबले न किन्न सक्छ, न दिन, दिलाउन सक्छ । तर यो अधिकार हामी श्रमिकहरूलार्इ नभर्इ नहुने अधिकार हो जसको हनन स्वयम संरक्षक (राजदूत)ले गर्दैछन । साउदीमा म स्वयम ठिक यस्तै, यही प्रकरणबाट गुज्रेकाले मलार्इ यसका सबै पहलुहरूको जिबन्त भोगार्इ पनि छ । 

यी पत्रकार पनि मलेशियामा कार्यरत हामी जस्तै नेपाली श्रमिक नै हुन । हामीले सुरक्षित बैदेशिक रोजगारको सुगा रटार्इ थालेको धेरै भैसक्यो तर के कसो गर्दा बैदेशिक रोजगार सांच्चै सुरक्षित बन्छ? जिम्मेवार पदाधिकारीहरूमै ठूलो अलमल र अन्यौल देखिदै आएको छ । एनआरएनएमा बैदेशिक रोजगारलार्इ कोही बुझ्नै नचाहने, कोही बुझ्नै नसक्ने अनि कोही बुझेर पनि बुझ पचाउने थरी थरीका (कु)पात्र र (कु)प्रबृत्तीले ग्रस्त बनिरहेको छ बैदेशिक रोजगार अनि हामी श्रमिकहरूको बर्तमान नियति, भाग्य र भबिश्य । 

नेपाल पत्रकार महासंघका सदस्य पत्रकार गणेश कुमार आचार्यमाथि राजदूतले जुन हर्कत गरेका छन, यो तपार्इ हाम्रो नजर र बुझार्इमा निन्दा र भर्त्सना लायक छ या छैन ? यी पत्रकारलार्इ न्याय दिलाउन र अख्तियारको दुरूपयोग गर्दै अन्याय र ज्यादती गर्ने राजदूतलार्इ दण्डित गराउन तपार्इ अध्यक्ष र सिंगो संस्था (एनआरएनए)को कुनै दायित्व र कर्तब्य बन्छ कि बन्दैन ? तपार्इको इच्छाशक्ति, (कुट)नीति र निर्णय क्षमता अनि त्यसको प्रभावकारिता जांच्ने छ यो केशले । 

त्यसो त पासपोर्ट सहजिकरणमा साउदी अरबका दर्जनौं स्वयमसेवकहरूले एउटा परिचय पत्र माग्दा नपाएर, पुलिसले लछारपछार गरेको र अन्ततः राजदूत स्वयमले नै कमिशनका लागि त्यो निशुल्क स्वयमसेवा बन्द गराएको र उनको वापसी (पदमुक्ती) संगै का.बा. राजदूतले एनआरएनए साउदीलार्इ सम्मान गर्दै पत्र नै लेखेर पुनः सेवा सुचारू गरे गराएको ताजा नजिर हामीसंगै छ । 

तपार्इले मन्त्रालयमा पत्राचार गरेको, शायद भेटवार्तामा पनि कुरा (मागं) उठाएको तर राजदूतले अटेर (मनोमानी) गरिरहंदा तपार्इका ती पहलहरूले कुनै सकारात्मक परिणाम दिन नसकेको तितो अनुभव पनि हामीसंगै छंदैछ । 

जसरी संस्थाकर्मीहरू ब्यक्ति हुंदैनन, समाजका प्रतिनिधी पात्र हुन्छन, त्यसरी नै पत्रकार पनि ब्यक्ति हुंदैनन, सिंगो समाजको खबर दिने, खबरदारी गर्ने, सामुहिक आवाज र साझा प्रतिनिधी कलम हुन्छन भन्ने ठान्दै मान्दै पत्रकार गणेश आचार्यको न्याय, सुरक्षा र अधिकारसंग कमसेकम मलेशियामा कार्यरत ८-९ लाख नेपाली मजदूरहरूको न्याय, अधिकार र सुरक्षा पनि जोडिएको छ भन्ने बुझेर, मानेर तत्काल आवश्यक संस्थागत कदम चाल्न अनुरोध गर्दछु । 

शुभेच्छा सहित 

धरम के.सी.

सल्लाहकार, एनआरएनए आइसिसी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय