
काठमाडौं, असोज १ – बेलायतको छोटो भ्रमणमा आएका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले आगामी अक्टोबरमा हुने संघको नयाँ नेतृत्व निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष लड्ने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ, बेलायतको नवनिर्वाचित कार्यसमितिले लन्डनस्थित नेपाली दूतावासमा बिहीबार साँझ गरेको पहिलो सार्वजनिक कार्यक्रममा घलेले उक्त घोषणा गरेका हुन् ।
घलेले आफू बसेको अष्ट्रेलियास्थित नेपाली समुदायले यहीँबाट अध्यक्ष घोषणा गर्न बारम्बार आग्रह गरेको स्मरण गर्दै भने, ‘अष्ट्रेलिया, अमेरिका र पोर्चुगलबाट बचेर आएको थिएँ । लन्डनबाट चाहिँ घोषणा गर्न प्रेरित भएँ ।’
उनले अर्को दुई वर्ष जिम्मेवारी लिन चाहेको जनाउँदै फेरि निरन्तरता दिँदा पहिलो कार्यकालमै दिएको जति समय र कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘मेरो प्रतिवद्धता, समय र कोशिसमा पहिलो भन्दा कत्ति पनि कम हुन दिने छैन्, घलेले दूतावासमा यसो भन्दा सयौं सहभागीले निरन्तर तालीले साथ दिएका थिए ।
यसअघि रतन झा र टीवि कार्कीले पनि अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन् । संघको सातौं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १४ देखि १७ अक्टोबर काठमाडौं हुँदैछ । नेपाल सरकारले गैर आवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति समेत गठन गरिसकेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले गैर आवासीय नेपालीले नेपालको समृद्धि र आर्थिक विकासमा सघाउन सक्ने उल्लेख गरे । उनले एनआरएनले भूकम्पका बेला दूतावासलाई सहयोग गरेकामा सबैमा धन्यवाद समेत दिए । क्षेत्रीले भूकम्प लगत्तै घलेलाई नेपाल सरकारले विशेष दूतको कार्यभार दिएको जनाउँदै घलेको योजना सफल हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा तमुधि यूकेले अध्यक्ष घलेमार्फत भूकम्प पीडितका लागि १ करोड, ११ लाख, ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेको छ । तमुधि यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले उक्त चेक प्रदान गरेका हुन् । तमुधि यूकेले यसअघि लन्डनस्थित नेपाली दूतावासमार्फत १० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइसकेको थियो ।
कान्तिपुरबाट