ऐतिहासिक र नयाँ विहानीको सुरुवात: एनआरएन

काठमाडौं, भदौ ३१ -बुधबार साँझ संविधानसभाबाट ‘नेपालको संविधान–२०७२’ पारित भएकोमा गैरआवासीय नेपाली संघले खुसी ब्यक्त गर्दै यसलाई ऐतिहासिक र नयाँ विहानीको सुरुवात भएको बताएको छ । 

एनआरएन अध्यक्ष शेष घलेले एक बिज्ञप्ति जारी गर्दै संविधान पारित भएको खवरले संसारभरीका गैरआवासीय नेपालीहरु हर्षित भएको वताएका छन् । यो ऐतिहासिक खुसीको क्षणमा सम्पूर्ण नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दै मुलुकको सम्बृद्धि र प्रगतिका लागि संघले शुभकामना समेत दिएको छ । 

‘नयाँ संविधान जारी भएसँगै अव मुलुकले राजनीतिक स्थितरता पाउने र आर्थिक सम्बृद्धिको युग सुरुवात हुने हामीले बिश्वास लिएका छौं’ अध्यक्ष घलेले भने –‘मातृभूमीको सम्बृद्धिमा योगदान दिन बिदेशमा सिकेको सीप र पूँजी भित्राएर लगानी गर्ने हाम्रो झण्डै एक दशकदेखि अथक प्रयासले पनि अब सार्थकता पाउने हाम्रो विश्वास छ ।’  

गैरआवासीय नेपालीले लामो समयदेखि माग गर्दै आएको ‘नेपाली नागरिकताको निरन्तरता’को मागलाई सम्बोधन गर्दै नयाँ संविधानले गैरआवासीय नेपाली नागरिकताको प्राबधान पारित गर्नु गैरआवासीय नेपालीहरुका लागि अर्को खुसीको बिषय भएको अध्यक्ष घलेले बताए । ‘यसका लागि म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई हार्दिक बधाई ज्ञापन गर्दै यसलाई साकार पार्न योगदान गर्नुहुने गैरआवासीय नेपाली अभियन्ताहरु, सभासदज्यूहरु, राजनीतिक नेतृत्व एवं सम्पूर्ण सहयोगीहरुमा हार्दिक आभार प्रकट गर्दछु’ अध्यक्ष घलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

एनआरएनको चाहना बमोजिम नेपाल सरकारले नागरिकताको ब्यवस्था गरिसकेको अबस्थामा अब गैरआवासीय नेपालीको काँधमा आफुले गरेका वाचा पुरा गर्ने र नेपालमा सीप र ज्ञानको लगानी बढाउने दायित्व आएको उहाँले सम्पूर्ण एनआरएन समुदायलाई स्मरण गराउनुभएको छ ।

‘नयाँ संविधान जारी हुने दिन नेपालको इतिहासमा नयाँ बिहानी सावित होस्, यसले मुलुकमा स्थायित्व र सम्वृद्धिको ढोका खोलोस् भनी हामी हार्दिक शुभकामना ब्यक्त गर्दछौं’ अध्यक्ष घलेले बिज्ञप्ति मार्फत् भनेका छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय