
काठमाडौं, भदौ ३१- तपाई कतारमा हुनुहुन्छ ? कतै दुर्घटना भएको ठाउँमा पुग्नुभएको छ भनें हतार हतार मोवाइलले तस्वीर खिचेर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हाल्ने बानी छ की ? छ भनें त्यो बानी आजै त्याग्नुहोस् नत्र सजायको भागिदार हुनुपर्नेछ । कतारको मन्त्रीपरिषदले बुधवार त्यस सम्वन्धि कानून पारित गरेको छ ।
कतार न्यूज एजेन्सीका अनुसार कतारको ल नम्वर ११(२००४) मा गरिएको फेरवदल अनुसार कुनै दुर्घटनाका घाइतेको तस्वीर सम्वन्धित व्यक्ति वा उनीहरुका नातेदारको अनुमति विना सार्वजनिक गरेमा त्यसरी तस्वीर हाल्नेलाई कारवाही हुनेछ । तर कस्तो कारवाही हुन्छ भनेर समाचारमा खुलाइएको छैन ।
यसअघि कानूनका जानकारहरुले त्यसरी कसैको अनुमति विना दुर्घटनाका घाइतेको तस्वीर सार्वजनिक गरेमा कतारको प्राइभेसी ल अनुसार कारवाही हुने बताएका छन् । तर हालसम्म कतारको प्राइभेसी ल ले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा गरिने पोष्टको विषयलाई समेटेको छैन । कतारका पूर्व न्याय मन्त्री डा. नजिव अल नाइमीका अनुसार मन्त्रीपरिषदले बुधवार साइवरक्राइम सम्वन्धि कानून पास गरेको हो । उनका अनुसार कुनै व्यक्तिको घाइते भएको वा मृत्यु भएको तस्वीरले सम्वन्धित व्यक्तिका नातेदारलाई थप पीडा दिने भएकाले त्यसलाई निरुत्साहित गर्न यो व्यवस्था गरिएको हो ।