रवि रोषी, दोहा भदौ ३०- कतारका व्यवशायी आर के शर्माले आसन्न एन आर एन ए को मध्यपुर्व क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको सल्लाहकार समेत रहिसकेका शर्माले यसपटक मध्यपुर्व क्षेत्रीय संयोजकमा जाने कुरा उनीबाट प्रेषित घोषणापत्रमा जनाईएको छ ।
यसको साथै मध्यपुर्व क्षेत्रहरुमा बैदेशिक रोजगारको सिलसिलामा आउने नेपालीहरुको उद्धारका लागि तथा विदेश जानु अघि नेपालमा नै तत्सम्बन्धी उपयोगीमूलक व्यवहारिक प्रशिक्षण दिने प्रयोजनमा सदुपयोग गर्न र दुर्घटना तथा अन्य कुराका सम्बन्धमा पूर्व सचेतना कार्यक्रममा खर्च गर्ने गरी व्यक्तिगत रुपमा ५१ लाखको कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
प्रेषित १५ बुँदे घोषणापत्रमा जे जति कुराहरु समावेश गरिएका छन्, त्यसलाई कार्यान्वयन गराउन संघका राष्ट्रिय अन्तर्राष्ट्रिय परिषदका व्यक्तित्वहरुको राय सुझाव अनुसार आफुले दिगो रुपमा लाग्ने कुरा पनि बताएका छन् ।
पढ्नुहोस् उनको घोषणापत्र
आदरणीय गैर आवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,
कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका ३८ लाखको हाराहारीका सम्पुर्ण गैर आवासीय नेपालीजनहरुमा नजिकिदै गरेको मुस्लिम धर्मावलम्बी दाजुभाईहरुको दोश्रो महान पवित्र इद उल अदा पर्व तथा हिन्दु धर्मावलम्बीहरुको आउँदै गरेको महान पर्व विजयादशमीको पावन अवसरमा सम्पुर्णमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।
यसको साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले २०१३—१५ को कार्यकालका लागि सल्लाहकार जस्तो गरिमामय पदमा रही जिम्मेवारी पुर्ण भूमिका निर्वाह गर्न अवसर सुम्पिनुहुने सम्पुर्ण कार्यसमिती सदस्य मित्रहरु तथा तत्कालिन सम्पुर्ण पार्षद सदस्य मित्रहरु प्रति पनि उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
यस अवधिभर यस संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपालमा हुने गरिएका गैर आवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैर आवासीय नेपाली संघको “नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा आफुले भूमिका खेल्दै आएको कुरा यहाँहरु समक्ष स्मरण गर्न चाहन्छु ।
यसको अलावो विभिन्न परोपकारी गतिविधी, जस्तै नेपालमा समय समयमा आईपरेका दैवी विपत्तीले पिडित नेपाली दाजुभाईहरुको लागि तत्काल राहत प्रदान गर्न गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले आव्हान गरेको विविध सहयोग कार्यक्रममा पनि आफ्नो क्षेत्रबाट यथाशक्य योगदान दिन कतै नचुकेको यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
यस २ बर्षे कार्यकालको अवधिमा यस पवित्र सामाजिक संस्थाबाट संग्रहित अनुभवलाई संगालेर आगामी कार्यकाल २०१५—२०१७ को लागि गल्फ संयोजकको पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको कुरा यसै पत्रकार सम्मेलन मार्फत पत्रकार मित्रहरु तथा कतारका सम्पुर्ण पार्षद सदस्यहरुमा अवगत गराउन चाहन्छु ।
यहि आउँदो २०१५ को १४ अक्टोबर देखि १७ अक्टोबर सम्ममा काठमाण्डौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको ७ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट मध्यपुर्व संयोजकको पदमा सर्वसम्मत वा चुनावी प्रकृयाबाट मलाई जिम्मेवारी सुम्पिनुभएमा विगतको २ बर्षे कार्यकालमा संगालेको अनुभवलाई परिष्कृत रुपमा अझ खारेर खाडी संघीयको तर्फबाट गैर आवासीय नेपाली संघको विश्वव्यापी अभियानमा आफुले कुनै पनि कसुर नराखी सेवा र सहयोग पुर्याउने प्रतिवद्धता गर्दै आफुले अक्षुण भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।
विगत लामो समय देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको हरेक गतिविधीमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न हुँदाको अवस्थामा आफुले जे बोल्ने गरेको छु, त्यसलाई अक्षरशः पालना गर्दै व्यवहारमा उतार्ने गरेको कुरा पनि यहाँहरुलाई आज यहि कार्यक्रमबाट पुनः स्मरण गराउन चाहन्छु । यो मेरो उच्च महत्वकांक्षा नभै यस पवित्र संस्थामा अझ बढि सक्रिय भै थप सेवा र सहयोग गर्ने पवित्र अभिलाषा हो भनेर बुझिदिनुहुन पनि सम्पुर्ण उपस्थितजनहरुलाई अनुरोध गर्दछु ।
माथि प्रस्तुत सवै कुराहरुलाई आत्मिक रुपमा नै मैले योगदान दिन सक्षम र इच्छुक छु भन्दै पूर्ण प्रतिवद्धताका साथ बुँदागत रुपमा तल उल्लेखित मेरो प्रतिबद्धता र मौलिक भावनाको कदर गर्दै तथा मेरो प्रतिवद्धता प्रति विश्वाश गर्दै मलाई मध्यपुर्व संयोजकमा रहेर सेवा गर्ने अवसर दिनुभएमा आगामी कार्यकालका लागि तल उल्लेखित निम्न एजेण्डालाई दृढताका साथ पुरा गर्न कटिबद्ध रहनेछु भन्ने विश्वाश दिलाउन चाहन्छु ।
१) वैदेशिक रोजगारमा कतार लगायत मध्यपुर्वमा कार्यरत सम्पुर्ण गैर आवासीय नेपाली जनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
२) श्रमिक समस्या समाधान गर्नका सरकारी स्तरको सम्बन्धित निकायसंग सहकार्य गर्दै पहल गर्नेछु ।
३) बैदेशिक रोजगारमा आएर थप शीप सिकी दक्ष भएकाहरुलाई शीप अनुसारको पारिश्रमिक दिलाउन पहल गर्ने ।
४) विदेशीहरुलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरी बैदेशिक लगानी भित्र्याउन पहल गर्नेछु ।
५) नेपालको बृहत्तर विकासको विकास प्रमुख मेरुदण्ड भनेको हाइड्रोपावर, आधुनिक तरिकाबाट गरिने कृषिजन्य उत्पादन तथा पर्यटन भएकोले यि ३ शिर्षकलाई विशेष जोड दिई आफुले अहम् भूमिका निर्वाह गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउन विशेष पहल गर्नेछु । जस अन्तर्गत पर्यटनका लागि नेपाल प्रमुख गन्तव्य हो भन्ने विश्वाश दिलाएर पर्यटक भित्र्याउनु पर्छ भन्ने अभियानमा विगतका केहि बर्ष अघि देखि आफुले भूमिका निर्वाह गर्दै आएको पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
६) एन आर एन ए आइसीसी संग सुझाव र सम्भावना पेश गरी थप विभिन्न कार्यदल गठन गरी अभियानलाई सफल पार्न आफुले भूमिका निर्वाह गर्नेछु ।
७) मेरो रायप्रति सकारात्मकता प्रदान गरी अभियान अघि बढाउन निर्देशन प्राप्त भएमा सो कार्यदलमा विदेशमा थप अनुभव प्राप्त गरी विज्ञता प्राप्त गरेका निर्माण विशेषज्ञलाई पुननिर्माण तथा नवनिर्माण कार्यका लागि तथा चिकित्सा सम्बन्धी विशेषज्ञलाई स्वदेश तर्फ आकर्षित गर्न पनि मेरो अभियान रहनेछ ।
८) खाडी राष्ट्रमा श्रमिकको समस्या समाधानार्थ तथा उनीहरुको स्तरोन्नतिको लागि प्रत्यक्ष निगरानी राख्ने विशेष कार्यदल गठन गर्न आफुले भूमिका खेल्नेछु ।
९) नेपालको पर्यटन प्रवर्धनको लागि विभिन्न देशमा पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली मित्रहरुलाई समेटेर विशेष कार्यदल गठन गरी पर्यटन प्रवर्धनको लागि जोड दिएर लाग्नेछु ।
१०) वैदेशिक रोजगारको क्रममा विदेश जानु अघि नेपालमा प्रशिक्षण सहितको जनचेतना फैलाउने कार्य औपचारिकतामा मात्र सिमित भएको हुँदा यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न व्यक्तिगत तर्फबाट २ बर्ष भित्र खर्च गरेर सेवा पुर्याउने हेतुले ५१ लाख नेपाली रुपैंया बराबरको २ बर्षे कोष खडा गर्ने प्रतिबद्धता गर्दछु । यस कोषले मध्यपुर्व एसियामा वैदेशिक रोजगारीको सिलसिलामा आएर विचल्ली परेका जो कोहिका समस्या र आपदकालिन अवस्थामा राहत पुर्याउन पनि खर्च गरिने व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।
११) पारिश्रमिक नपाएर फर्किनुभन्दा घाइते वा मृत्युवरण भई नेपाली दाजुभाईहरु नेपाल फर्काइनु भनेको उनका आश्रित परिवारजनको लागि अति दुखदायी सावित हुने भएको हुँदा उनीहरुलाई विदेश जानु अघि भन्ने जनचेतना कार्यक्रम नेपालमा नै प्रभावकारी ढंगले प्रशिक्षित गराउन पनि सो रकम प्रयोजनमा ल्याइने जानकारी गराउन चाहन्छु ।
१२) मध्यपुर्व एसिया भित्रका सबै राष्ट्रिय समन्वय समितीका अध्यक्षहरु संग प्रत्यक्ष रुपमा सरोकार राखी आफु रहेको देशका गैर आवासीय नेपाली मित्रहरु जो कुटनीतिक क्षेत्रमा विशेष दख्खल राख्नुहुन्छ, उहाँहरुको पनि विशेष कार्यदल गठन गरी समस्या समाधान कार्य चुस्त राख्न आफुले पहल गर्ने जानकारी गराउन चाहन्छु ।
१३) आजका मिति सम्म गैर आवासीय नेपाली संघको पार्षद सदस्यता लिएर कर्पोरेट बेनिफिट लिन नसकेको अवस्थामा यसबाट प्राप्त गर्न सकिने प्रत्यक्ष व्यापारिक फाइदाको बारेमा बताएर यस तर्फ आकर्षित गर्न पनि आफुले पहल गर्नेछु । जस्तै उदाहरणको लागि आजका मिती सम्म विश्वभरि गैर आवासीय नेपाली संघको सदस्यता लिने हामीहरु २८ हजारको हाराहारीमा छौं । यस मध्येका बहुसंख्यक गैर आवासीय नेपाली साथीहरु बर्षको कम्तीमा पनि एकचोटी वा त्यो भन्दा धेरै पटक हवाई यात्रा गर्ने गरेका हुन्छौं । विभिन्न अन्तर्रराष्ट्रिय एयरलाईन्स संग हामीले कम्पनीको सेवा प्रयोग गर्ने गैर आवासीय नेपालीको संख्या यति छौं भनेर उनीहरुसंग बार्गेनिङ गर्यौं भने (Corporate Discount) व्यापारिक छुट लिन सहज रुपमा सक्छौं ।
त्यस्तै नेपालका विभिन्न प्राईभेट अस्पताल तथा डिपार्टमेन्टल स्टोर, प्राइभेट स्कुल, होटेल लगायतमा पनि कर्पोरेट डिल गर्न सक्छौं ।
माथि उल्लेखित शिर्षकहरुमा मात्र पनि हामीले छुट प्राप्त गर्न सक्यौं भने हामीले विभिन्न शिर्षकमा हुने खर्च कटौती गरी उलेख्य परिमाणमा आफुले कमाएको सम्पती बचत गर्न सक्छौं ।
१४) कतारमा कार्यरत नेपाली दाजुभाईहरुको संख्या बढोत्तरी हुँदै गएको र उपस्थितीको संगसंगै स्वास्थ्य समस्या पनि बढ्दै गएको हुनाले आफुलाई परेको स्वास्थ्य समस्या आफ्नै भाषामा अभिव्यक्त गरी बताउन नसक्दा सहि उपचार पाउन नसकेको कारणलाई मध्यनजर गर्दै कतार स्थित नेपाली नियोगको परामर्श सहयोगको साथमा यहीँ कार्यरत व्यवशायीहरुको संलग्नतामा नेपालबाट डाक्टरहरु ल्याई एउटा व्यवस्थित पोलिक्लिनिक सञ्चालनमा ल्याउन सकेमा यसबाट प्रत्यक्ष लाभ प्राप्त गर्न पाउने कुरामा कुनै दुईमत छैन । यसको नितान्त खाँचो देखिएको हुँदा यस सम्बन्धी स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन आफुले लामो समय देखि अध्ययन मनन गर्दै आएको हुनाले यसलाई गतिशील रुपमा सञ्चालनमा ल्याउन सर्वोपरि भूमिका निभाउने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।
१५) आफुले उम्मेदवारी घोषणा गरेको पदमा विजय गराई सेवा गर्ने अवसर दिनुभएको अवस्थामा खाडी मूलुकहरुमा कार्यरत श्रमिक नेपाली दाजुभाईको लागि खोलिने भनिएको ५१ लाखको विपद कोष प्रभावकारी, पारदर्शी र चुस्त बनाउनको लागि विज्ञ व्यक्तिहरुको कार्यदल गठन गरी सञ्चालनमा ल्याउन पनि आफुले पहल गर्ने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।
विगतका समयमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको सल्लाहकारमा अनुबन्ध रहँदा आफुले प्रतिबद्धता जनाएको कुराहरुलाई व्यवहारमा उतार्दै प्रत्यक्ष रुपमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको अनुभव यहाँ माझ स्मरण गराउँदै यहाँहरुले मलाई आगामी कार्यकालको लागि मध्यपुर्व क्षेत्रीय संयोजकमा योग्य ठानेर सहयोग गरी सेवा गर्ने अवसर दिनुभएमा आफुले प्रतिबद्धता गरेको कोष तत्काल खडा गर्ने र त्यसका लागि मध्यपुर्वका राष्ट्रिय समन्वय समितीहरुलाई पनि अभियानमा सहभागी गराएर श्रमिकका हक हितमा नै खर्च गरी सहयोग पुर्याउने प्रतिबद्धता गर्दछु ।
अन्त्यमा मध्यपुर्व क्षेत्रमा रहनुहुने सम्पुर्ण गैर आवासीय नेपाली संघका पार्षद मित्रहरुमा सहयोगको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
धन्यवाद ।
आर के शर्मा मध्यपुर्व क्षेत्रीय संयोजक पदको प्रत्याशी
दोहा, कतार ।