श्रीमान् विदेश हुनेलाई मानसिक समस्या धेरै 

बुटवल, भदौ २९- श्रीमान् विदेश गएका महिलामा धेरै मानसिक समस्या देखिएको चिकित्सकले बताएका छन् । घरझगडा, श्रीमान्को शंकालु व्यवहार, व्यावसायिक तनाव आदि कारण महिलामा मानसिक समस्या बढेको मनोचिकित्सकको भनाइ छ । 

मनोचिकित्सक डाक्टर मनोज ढुंगाना मानसिक रोगीको संख्या बढ्दै गएको बताउँछन् । आफूले दैनिक ५० जना बिरामी जाँच्ने गरेको उनको भनाइ छ । ‘खासगरी श्रीमान् विदेश गएपछि महिलामा मानसिक समस्या बढेको पाइएको छ,’ उनले भने, ‘पछिल्लो समय तनाव बढेपछि पुरुष कुलतमा फस्ने र महिला आत्महत्या गर्न तम्सिने गरेको पाइएको छ ।’ 

डा. ढुंगानाका अनुसार दैनिकजसो श्रीमान् विदेशमा भएका महिला स्वस्थ्य जाँचका लागि आउने गरेका छन् । श्रीमान् विदेश गएको ५–६ महिनासम्म राम्रै अवस्था रहे पनि त्यसपछि मानसिक तनाव बढ्ने गरेको पाइएको उनले बताए । डा. ढुंगाना भन्छन्, ‘यसो हुनुमा विवाह गरेपछि श्रीमान् विदेश जाँदा पहाडबाट सहरमा ल्याएर श्रीमतीलाई कोठा भाडामा लिएर छाड्ने गर्नु प्रमुख कारण हो, जसले गर्दा महिलाको एकल बसाइ, नयाँ ठाउँमा नयाँ हावापानी नयाँ परिवेशले गर्दा बसाइ असहज हुन्छ, यसले तनाव बढाउँछ ।’ 

गत वैशाखमा भूकम्पबाट तर्सिएका धेरैमा पनि मानसिक समस्या भएको पाइएको उनले बताए । खासगरी बालबालिका र महिलामा यो समस्या छ । चार–पाँच महिनासम्म पनि डराउने र तर्सिने भइरहेपछि जचाउँन आउनेको संख्या बढेको उनले बताए । मनोचिकित्सक संघका अध्यक्षसमेत रहेका डा. सरोजप्रसाद ओझाले भूकम्पले काठमाडौंमा पनि मानसिक रोगी बढाएको बताए । आफूकहाँ दैनिक सरदर दुईजना बिरामी आउने गरेको उनले जानकारी दिए । 

नेपालमा मानसिक रोगी बढी नै रहेको भए पनि चिकित्सकको भने कमी छ । नेपालमा हाल सयजना मनोचिकित्सक रहेको डाक्टर ओझाले बताए । ‘हाल दक्ष जनशक्तिको कमी छ भने अर्कोतर्फ सरकारले यसलाई प्राथमिकतामा पनि राखेको छैन,’ उनले भने, ‘जुन रोग हरेक पाँचमा एकजनामा आउन सक्छ, यस्तोमा सरकार गम्भीर बन्नुपर्छ ।’ मानसिक समस्या उच्चपदस्थदेखि सामान्य मानिस जोसुकैमा पनि आउन सक्ने भन्दै ओझाले यसका लागि समयमै परामर्श दिन सकियो भने 

नकारात्मकमा परिणत हुन रोक्न सकिने बताउँछन् । मानसिक समस्याका कारण आत्महत्याका घटना बढ्ने गरेको उनको भनाइ छ । 

अर्का डा. विक्रम काफ्ले नेपालमा हरेक दिन १३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मानसिक स्वस्थ्यमा सबै सचेत हुनुपर्नेमा जोड दिए । नेपाल औषधि व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले मानसिक रोगमा कमी ल्याउन औषधिको बिक्रीवितरणदेखि प्रयोगमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए । 

नयाँ पत्रिकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय