४० नेपाली युवती घर फर्काइयो 

काठमाडौं, भदौ २९ – पश्चिम एसियाली मुलुक लेबनान पुगेर बढीमा ९ वर्षयता गैरकानुनी हैसियतमा रहेका ४० नेपाली युवतीलाई सोमबार अपराहन नेपाल फिर्ता पठाइएको छ । इजिप्टस्थित नेपाली दूतावासको समन्वयमा गैरकानुनी कामदारको जरिवाना शुल्क मिनाहा गर्दै घरफिर्ता गरिएका युवतीको हवाई टिकट खर्च अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बेहोरेको हो । 

ती ४० मध्ये श्रम स्वीकृति लिएर रोजगारीमा गएका ८ युवतीको घरफिर्ती टिकट खर्च भने बोर्डले बेहोरेको हो । फिर्ता भएका युवतीहरू २० देखि ४५ वर्षसम्मका छन् । आइतबार राति लेबनान दोहा हुँदै काठमाडौं जाने युवतीको समूहलाई बिदाइ गर्न लेबनानस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष नन्दराज काफ्ले बेरुत विमानस्थल पुगेका थिए । उनीहरू सबैलाई इजिप्टस्थित नेपाली नियोगले ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

लेबनानस्थित गैरआवासीय नेपाली प्रतिनिधि देवीमाया लिम्बूले गैरकानुनी हैसियतमा रहेर घर र्फकन चाहेकी सुनीता भण्डारीलाई चाँडै कागजी प्रक्रिया पुर्‍याएर नेपाल पठाइने जानकारी दिइन् । झन्डै ८ हजार नेपाली कामदार रहेको लेबनानमा ६ हजारभन्दा बढी भने घरेलु कामदार महिला छन् । 

लिम्बूका अनुसार घर फर्केका युवतीलाई आईएओएमले बाटाखर्चका रूपमा जनही ४० डलर दिएको छ भने नेपालमा पनि सीपमूलक तालिमसहित कामको अवसर खोजिदिने भएको छ । 

घरेलु कामदारका हैसियतमा रोजगारीमा गए पनि काम अथवा सेवा, सुविधामा चित्त नबुझेर मालिकको घरबाट भागेर अन्यत्र काम गर्दै आएका र लुकेर गुजारा गर्दै आएका यी युवतीहरूले लेबनान सरकारलाई जनही बढीमा ८ हजार डलर जरिवाना तिर्नुपर्ने अवस्था थियो । इजिप्ट नियोगको पहलमा उक्त सबै जरिवाना मिनाहा भएको हो ।

सोमबार घर फर्कनेमा शान्तिमाया राई, सोममाया घले, नीरमाया तामाङ, मंगलमाया मोक्तान, साइतकुमारी विश्वकर्मा, सावित्री गन्धर्व, सीताराकुमारी सिंह खडका, निशा दमाईं, कुमारी तामाङ, लक्ष्मीदेवी अधिकारी, मीना नेपाली, भुलु सार्की र सुकमाया विश्वकर्मा छन् । 

यसैगरी, पवित्रा दर्जी, राममाया तामाङ, छेकी थापा, माया सापकोटा, आशा गिरी, सीता बस्नेत, निशा तामाङ, गीता बस्नेत, जुनकला राई, सुनुता भण्डारी, चन्द्रकला सुब्बा, गंगादेवी दर्जी, विश्वकुमारी तामाङ, आशिका तामाङ, माया थिङ तामाङ, उमा सुब्बा लिम्बू, निशा राई, मीनाकुमारी तामाङ, धानीमाया मगर, मनीषा राई, कविता खड्गी, मीना कार्की, सिर्जना बस्नेत, रूपा पाठक, मनकुमारी गुरुङ, सुमित्रा सुनार, सुनीता नेपाली र सन्जना भोलान छन् ।

इजिप्टस्थित नेपाली नियोगका कार्यवाहक राजदूत कौशलकिशोर रायका अनुसार अब लेबनानमा कामदार जानका लागि हालै पारित भएको कार्यविधिअनुसार तोकिएका सेवासर्त र कानुनी प्रावधान पूरा गरेर मात्रै रोजगारी अनुमति प्रदान गरिने भएको छ । दूतावासबाट ५० डलर तिरेर प्रमाणित गर्नुपर्ने २ वर्षे करारमा हरेक कामदारका लागि काम दिने मालिकले १० हजार डलर डिपोजिट राख्नैपर्ने, इन्ट्री भिसा लिँदैको अवधिमा १५ लाख रुपैयाँको बिमा गरिएको हुनुपर्ने र कामदारको इच्छामा घर फेर्न पाउनेजस्ता प्रावधान कार्यविधिमा उल्लेखित छन् । 

कार्यवाहक राजदूत रायका अनुसार लेबनानमा घरेलु कामदार ल्याउन तोकिएका सेवासर्त पूरा गर्दै २० वटा एजेन्सी दूतावासमा दर्ता भइसकेका छन् ।

कान्तिपुरबाट 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय