घनश्याम पराजुली/दिलिप पराजुली, दोहा- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्यापटरको पाँचौ अधिवेशन सम्पन्न भएको छ । दोहामा आयोजित अनेसास कतारको अधिवेशन, १ सय ५० औं मोती जयन्ती समारोह–२०१५, खुल्ला गजल प्रतियोगिता तथा अनेसास नवोदित साहित्यिक वाचन श्रृंखलाको ४९ औं डबली एकै साथ आयोजना गरिएको थियो ।
अनेसासका अध्यक्ष तिर्थसंगम राईको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्यापटरको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट पुनः तिर्थसंगम राई निर्वाचित भएका छन । प्रथम उपाध्यक्षमा श्यामराज रानाभाट , द्धितिय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा सिताराम थापा, सचिवमा निरन्जन प्रभात लुईटेल, कोषाध्यक्षमा मणी पौडेल र सह–कोषाध्यक्षमा ईनोसेन्ट राजन निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा महेश्वर नेपाल, लेख कार्की, विन्देश्वर ठाकुर र हरि बिनोद अधिकारी निर्वाचित भएका छन । पाँचौ अधिवेशनलाई सम्पन्न गर्नका लागि निर्वाचन समितिमा संयोजक बिल गुरुङ्ग साथै सदस्यमा क्रान्ति सिं र कुमार कार्की सदस्य रहका थिए । निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै बधाई तथा शुभकामना दिएको थियो ।
राष्ट्रिय विभूती युवाकवि मोतीराम भट्टलाई कतारमा साहित्य अनुरागीहरुले सम्झे । नेपाली साहित्यको श्रीवृद्धीका लागि महत्वपुर्ण योगदान पुर्याएका युवाकवि भट्टले नेपाली साहित्य श्रृङ्गार रसलाई गजल बिधा र गद्य कविता मार्फत भित्राएका थिए । उनै युवाकवि मोतीराम भट्टको १ सय ५० औं मोती जयन्तीको अवसरमा खुल्ला गजल प्रतियोगिता समेत आयोजना भयो ।
गजल प्रतियोगितामा २० जना सहभागी मध्ये रुप रसाईलीको गजल प्रथम भयो । उनले रु १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै दोश्रो स्थानमा ईश्वर शाही, तेश्रो स्थानमा खगेन्द्र खिलाफी, चौथो स्थानमा मणी पौडेल र पाँचौ स्थानमा टिका खड्काले वाचन गरेका गजल छानिए । उनीहरुले क्रमशः रु ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार हात पारे । गलज प्रतियोगितामा सहभागी २० जनालाई प्रमाण पत्र दिईएको थियो ।
कार्यक्रम प्रमुख अतिथी गणेश प्रसाद बन्जाडेले मोती जयन्तीको बारेमा बोल्दै अनेसासको नयाँ कार्यसमितिलाई शुभकामना दिए । प्रवासमा रहेका साहित्यिक अनुरागीहरुको उच्च मुल्याङ्कन भईरहेको बताउदै गजल प्रतियोगितामा विजय हुने गजलकारहरुलाई बञ्जाडेले बधाई दिए । उनले प्रवासमा रहेर पनी आफ्नो प्रतिभालाई सबै माझ प्रस्फुटन गर्नुपर्ने बताए । कार्यक्रममा नबोदित साहित्यिक वाचनालयका अध्यक्ष रबिन्द्र श्रेष्ठले ‘उठाएर देशको झण्डा भन म नेपाली हो’ गजल वाचन गर्दै मोतीको बारेमा प्रष्ट पारे ।