
काठमाडौं, भदौ २८- गैर आवसीय नेपाली संघ (एनआरएन) अमेरिकाको चौथो विशेष सभा शनिबार सम्पन्न भएको छ । एनआरएन, अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न विश्व सम्मेलनको पृष्ठभूमिमा आयोजित सभाले विधानमा देखिएका केही बुँदाहरुमा संशोधन गरेको छ ।
आईसीसीको विधानमा एनआरएन सदस्य बन्न कम्तीमा दुई वर्ष विदेशी भूमिमा बसेको हुनुपर्ने प्रावधानलाई अनुशरण गर्दै एनआरएन अमेरिकाले आफनो विधानमा संशोधन गरेको छ । अत्याधिक सहभागिताको अपेक्षा गरिएपनि विशेष सभामा न्युन सहभागिता रहेको थियो ।
दश हजार बढी सदस्यता संख्या रहेको एनआरएन अमेरिकाको शनिबारको सभामा आयोजककै दाबी अनुसार ४ सय हाराहारीको सहभागिता थियो । धेरै नेपाली आप्रवासीहरुको बसोबास ठानिने न्युयोर्कबाट नै सहभागिता कन्जुस्याई भएको आयोजक समितिका एक सदस्यले ईकान्तिपुर बताए ।
सभामै केही सहभागीहरुले न्युन सहभागिताबीच गरिएको विधान संशोधनको औचित्य माथि प्रश्न उठाएका थिए । एनआरएन अमेरिकाको हालै सम्पन्न निर्वाचनमा देखिएको विवादले सहभागितामा असर गरेको भुक्तभोगीहरु बताउँछन् ।
कमजोर व्यवस्थापन बीच सञ्चालित विशेष सभामा पाहुनाहरुको उपस्थिति भने उल्लेख्य थियो । एनआरएन आईसीसीका अध्यक्ष शेष घले, ओबामा प्रशासनका लागि एसियाली अमेरिकी सम्बन्धी आयोगकी सल्लाहकार संजीता प्रधान, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायत एनआरएन आईसीसीका प्रमुख पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
विभिन्न नौं देशका एनआरएन नेतृत्वहरु पनि सभामा सहभागी थिए । विधान संशोधन पुर्व एक विशेष समारोहका बीच अध्यक्ष शेष घलेले पानसमा बत्ती बाल्दै सभाको शुभारम्भ गरेका थिए ।
एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलको अध्यक्षतामा आयोजित उदघाटनमा सत्रमा विभिन्न ब्यक्तिहरुको शुभकामना दिएका थिए । विशेष सभाको अन्त्यमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कान्तिपुरबाट