
काठमाडौं, भदौ २७- नेपाल ट्रेकिङ, ट्राभल्स,र्याफ्टीङ, एयरलाईन्स मजदूर यूनियन (यूनिट्राभ) ले पहिले मन्त्री, अख्तियार, नेपाल वायुसेवा निगम र हवाई प्राधिकरणका प्रमुखले खल्तिविनाका पोशाक लगाएमा मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत लोडरहरुले खल्ती नभएको पोशाक लगाउने बताएको छ ।
नेपाल वायु सेवा निगम तथा हवाई प्राधिकरणले ८ बर्ष अघि अख्तियारले दिएको निर्देशन पालना भन्दै लोडरहरुले खल्तीविनाका पोशाक सो निर्णय लागु गर्न श्रमिकहरुलाई मानसिक दबाव दिएको भन्दै यूनिट्राभले निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो ।
यूनिट्राभले प्रेस विज्ञप्ती जारी गर्दै २०६५ मंसिर १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयलाई पठाएको पत्र अहिले आएर कार्यान्वयन गर्न खोज्नुलाई आश्चर्य मानेको छ । यूनिट्राभका महासचिव सुमन पराजुलीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छः यदि अन्तराष्ट्रिय हवाई नियमावली अनुसार हवाई क्षेत्रको सुधार गर्ने हो भने हामी हातेमालो गरि अघि बढ्न तयार छौ ।
विज्ञप्तीमा नेपाल वायुसेवा निगम भित्र चरम भष्टचारका साथै व्यवस्थापन अति कमजोर भएको खबर बेलाबेलामा सार्वजनिक भइरहेको भन्दै हवाई प्राधिकरणले पनि धेरै आफ्ना कमि कमजोरीहरु सुधार्नुपर्ने औल्याइएको छ । मुसाको कारण नेपाल एयरलाईन्सको जहाज उड्न नसकेको, जहाजको पाटपुर्जाहरु चोरी हुने हराउने, कमिसन चलखेल हुने, ठेकेदार र व्यवस्थापक मिलेर श्रमिकको तलवमा चलखेल गरिएको र १४ बर्षसम्म पनि श्रमिकहरुलाई स्थायी नगरिएको विषयलाई युनिट्राभले स्मरण गराएको छ ।
नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय हवाई प्राधिकरणले कालोसूचीमा राखेको स्मरण गराउँदै धावनमार्ग मर्मतमा कमिसनको चलखेल हुनु, विमानस्थलभित्र सरसफाईको कमि हुनु, श्रमिकलाई व्यवसायजन्य स्वास्थ्य र सुरक्षाबाट बञ्चित गरिनुमा पनि यूनिट्राभले ध्यानाकर्षण गराएको छ । यति धेरै समस्याप्रति आँखा चिम्लिएर दोषिलाई कारवाही गर्नुको साटो निम्नस्तरका श्रमिकलाई विना खल्ती भएको पोशाक लगाउन पत्र बुझाउनु हाँस्यास्पद घटना भएको भन्दै यूनिट्राभले सो निर्णयको विरोध गरेको हो ।