
काठमाडौं, भदौ २४- निक्कै समययता पर्खिइएको कतारको कफाला प्रणालीमा फेरवदलका लागि गरिएको सुधार प्रस्ताव सहितको नयाँ कानूनलाई कतारको मन्त्रीपरिषदले अनुमोदन गरेको छ । प्रस्तावित नयाँ कानूनले हाल रहेको स्पोन्सरशिप प्रणालीलाई प्रतिस्थापन गर्नेछ । यसलाई कतारका शेख(राजा) ले अनुमोदन गर्न बाँकी छ ।
बुधवार कतारको मन्त्रीपरिषद बैठकले कफाला प्रणालीमा सुधार सहितको नयाँ कानूनलाई अनुमोदन गरेको हो । साथै नयाँ कानून लागु गर्न मन्त्रीपरिषदले माथिल्लो निकाय(राजा)लाई सिफारिस सहित पठाएको खवर कतारका विभिन्न अनलाइनहरुले समाचार लेखेका छन् ।
कतारी वकिल युसुफ अल जामानलाई उधृत गर्दै समाचारमा भनिएको छ नयाँ कानून राजपत्रमा प्रकाशित भएको एक बर्ष पश्चात मात्र अनिवार्य कार्यान्वयनमा जानेछ । यस अनुसार यो कानून कार्यान्वयनमा जान झण्डै सन् २०१६ को अन्त्यसम्म पर्खिनुपर्नेछ । यसरी लामो समय दिनुको कारण नयाँ कानून लागु गर्न सामाजिक र आर्थिक वातावरण तयार पार्नु तथा यसका लागि प्रशासनिक व्यवस्था चुस्त बनाउनु रहेको जिकिर गरिएको छ ।
अल जामानका अनुसार कानूनले पर्याप्त समय दिनुको अर्को कारण व्यवसायीलाई यस अनुरुप आफूलाई तयार पर्नु पनि रहेको छ ।
नयाँ कानूनमा हाल रहेको काफिल, कफाला, ताशेरा अल खुरोज(एक्जीट पर्मिट) जस्ता शव्दहरु हटाइएको छ । त्यसको ठाउँमा रोजगारदाता, कामदार तथा आप्रवाशी कामदार जस्ता शव्दहरु राखिएको छ । नयाँ कानूनले रोजगारदाता र कामदारबीच आपसी सहमतिमा हुने श्रम करारलाई हेर्ने जनाइएको छ ।
नयाँ कानून कार्यान्वयनमा आएपछि कामदारले कतार छोड्न अनिवार्य रुपमा रोजगारदाताबाट अनुमति लिनु पर्ने छैन । तर सल्लाहकार परिषदले भनें कम्तीमा ३ दिन अघि कामदारले रोजगारदातालाई यस्तो जानकारी दिनुपर्ने व्यवस्था राख्न सुझाव दिएको छ । कानून लागु भएपछि रोजगारदाताले हाल झैं कामदारलाई बन्दी सरह बनाएर कतारमा राख्न भनें पाउने छैनन् ।