एनआरएन जापानका अध्यक्षका उम्मेदवारले गुहारे शेष घले 

काठमाडौं, भदौ २४ -एनआरएन जापानका अध्यक्षका उम्मेदवार नरबहादुर थापाले आफूलाई अन्याय परेको भन्दै न्यायका लागि आइसीसी अध्यक्ष शेष घले गुहारेका छन् । उनले नागोया क्षेत्रमा यसअघि भएको निर्वाचनलाई रद्ध गरी नयाँ निर्वाचन गर्ने निर्वाचन कमिटीको निर्णय प्रति आपत्ती जनाउँदै यो आफ्ना विरुद्धमा गरिएको षडयन्त्र भएको बताएका छन् । 

अध्यक्ष घलेलाई पत्र लेख्दै थापाले आफ्नो पकड रहेको क्षेत्रमा पुनः निर्वाचन तोकिनु र निर्वाचनको समय समेत आफ्नो प्रतिकुल बनाउन खोज्नु आपत्तीजनक भएको गुनासो गरेका छन् । एनआरएनएको विधानमा यस्तो पुनः निर्वाचन सम्वन्धि कुनै व्यवस्था नभएको भन्दै थापाले अवैधानिक रुपमा गर्न खोजिएको पुनः निर्वाचन स्थगित गर्न माग समेत गरेका छन् । 

उनले बुँदागत रुपमा आफ्ना असहमतिलाई पत्रमा लेखेका छन् ।

पढ्नुहोस् थापाले अध्यक्ष शेष घलेलाई लेखेको पत्रको पूर्ण विवरण   

 श्रीमान सम्मानित अध्यक्ष शेष घलेज्यू 

गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)

बिषयः एनआरएनएन जापानको विवादित पुनर्निर्वाचन स्थगन सम्बन्धमा 

महोदय, 

उपरोक्त सम्बन्धमा एनआरएन जापानको अध्यक्षको उम्मेदवार म नरबहादुर थापाको अन्यायमा परेको ब्यहोरा यो छ कि, गत ६ सेप्टेम्बर २०१५ मा भएको एनआरएनए जापानको निर्वाचनका क्रममा नागोया क्षेत्रको मतदान केन्द्रमा भएको भनिएको अनियमितताका सम्बन्धमा स्वयम निर्वाचन कमिटीका जिम्मेवार सदस्य डा. सुदिप अधिकारी, बुझबुझारथ हुन बाँकी निवर्तमान अध्यक्ष पारसमणि पोखरेल, एशिया प्यासिफिकका उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), अध्यक्षका उम्मेदवारहरुका प्रतिनिधि, त्यस क्षेत्रका अन्य उम्मेदवारहरु र स्थानीय अग्रज एवं जिम्मेवार ब्यक्तिहरुले निर्वाचन ठिक दुरुस्त छ भनि गरिएको हस्ताक्षरसहितको मुचुल्कासहित मतपेटिका केन्द्रमा चलानी भईसकेको सन्दर्भमा एकाध ब्यक्तिको उक्साहटमा निर्वाचन कमिटीले एक्लौटी ढंगले आउँदो शनिवार पुननिर्वाचन गरिने भन्ने प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एनआरएनएको बिधिबिधानको कुन धारामा टेकेर एक्लौटीरुपमा विवादित पुनर्निर्वाचनको घोषणा गरिएको हो त्यसको कुनै स्पष्ट पारिएको छैन भने घटनाको सत्यतथ्य बारे कुनै जानकारी गराईएको छैन । यो आफैमा न्यायसंगत छैन । बिशेष परिस्थितिमा हुने पुननिर्वाचनमा विवादित निर्वाचन समितिले उम्मेदवारहरु, आईसीसीका अग्रजहरु लगायत यहाँका नागरिक समाजका अगुवाहरुको सहमति बिना एक्लौटी ढंगले निर्वाचनको तिथि, मिति र प्रतिशोधपूर्ण समय तोकिनु घोर आपत्तिजनक छ । 

नागोयामा भएको भनिएको अनियमिततामा मेरो कुनै संलग्नता, योजना र निर्देशन नरहेको स्पष्ट पार्दै निर्वाचन कमिटीकै जिम्मेवार ब्यक्ति र अग्रजहरुकै संलग्नतामा सबै हर्कतहरु भएको अवगत गराउन चाहन्छु । यस परिस्थितिमा सर्बपक्षिय सहमतिमा निकास निकाल्नुपर्नेमा वा पुनर्निर्वाचन नै गर्नुपर्ने भएमा सहमतिमै तिथिमिति र समय तोकिनुपर्नेमा निर्वाचन समितिको एक्लौटी र प्रतिशोधको भावनाले एकपक्षिय ढंगले निर्वाचनको घोषणा गरिनु घोर आपत्तिजनक छ । 

 

विवादमा मुछिएको निर्वाचन समितिले घोषणा गरेको यस प्रकारको कथित निर्वाचन प्रक्रिया मेरो तर्फबाट कुनै पनि हालतले मान्य नहुने ब्यहोरा निबेदन गर्दै सम्मानित आइसीसीबाट यस निर्वाचन प्रक्रियालाई यथाशिघ्र स्थगन गरी घटनाको सत्यतथ्य छानबिन गरियोस् र सके सहमति र नभए निश्पक्ष निर्वाचन प्रक्रियालाई अगाडि बढाउन सबैलाई मान्य हुने खालको बिशेष कार्यदलको ब्यवस्था गरियोस् भनि यो निबेदन पेश गरेको छु । 

 

प्रस्तुत बिषयका सम्बन्धमा मेरा असमतिका बुँदाहरु यसप्रकार छन्: 

१. मेरो संलग्नतामा नभई निर्वाचन कमिटीकै जिम्मेवार ब्यक्ति लगायतको उपस्थिति र संलग्नतामा भएको भनिएको अनियमितताका कारण बिशेष परिस्थितिमा हुन लागेको पुननिर्वाचनमा उम्मेदवारहरु, आइसीसीका अग्रजहरु र यहाँका जिम्मेवार अगुवाहरुसंग कुनै सरसल्ला  वा परामर्श नै नगरी एक्लौटी ढंगले पुननिर्वाचनको घोषणा गरिनु घोर आपत्तिजनक छ ।यो कुनै पनि हालतमा स्वीकार्य छैन । 

२. मेरो अत्यधिक मतदाताहरु रहेको नागोया क्षेत्रमा रेष्टुरेन्ट ब्यवसायीहरुको बाहुल्य रहेको तथ्यलाई मनन गर्दै उनीहरुका लागि प्रतिकुल समय बिहान ९ बजेदेखि ३ बजेसम्मको समय तोकिनुमा सरासर  प्रतिशोधपूर्ण र षडयन्त्रको गन्ध लुकेको छ भन्ने मेरो ठहर छ, यो कथित पुननिर्वाचन कुनै पनि हालतमा स्वीकार्य छैन । विवादित निर्वाचन कमिटी बिघटन गरी अर्को बिशेष अधिकारप्राप्त निश्पक्ष निर्वाचन कमिटी गठनको माग गर्दछु । 

३. नागोयामा पुनः निर्वाचन गर्नैपर्ने हो भने सहमतिमा तिथिमिति र समय तोकिनुपर्ने, त्यहाँ आवश्यक पर्ने स्वयमसेवकहरु अन्यत्रबाट आयात गरेर नभई स्थानीयहरुलाई नै परिचालन गरिनुपर्ने र मतदानको समय अन्यत्र झै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनुपर्ने र कान्तो क्षेत्रमा सयौंको संख्यामा छुटाईएका मतदाताहरुको नामावली समावेश गारिनुपर्ने मेरो जोड्दार माग छ । 

४. साथै मेरा प्रतिनिधिलाई हात हालाहालको स्थिति सिर्जना गरी डरत्रास र धम्की देखाई निर्वाध रुपले मतदान हुन नदिएको ओसाका क्षेत्र, त्रासको वातावरण सिर्जना गरी एक्लौटीरुपले मत खसालिएको तोचिगी क्षेत्र र सेनाको घेराभित्रको झझल्को दिने गरी पुरै एकपक्षिय ढंगले स्वयमसेवक भर्ना गरी मतादाताहरुमा मानसिक आतंक फैलाईएको टोकियो कान्तो क्षेत्रमा पनि पुननिर्वाचन गरिनु पर्ने जोडदार माग गर्दछु । 

४. दिउसोको घामजस्तै छर्लङ्ग भईसकेको तथ्य विवादमा मुछिएको निर्वाचन कमिटीबाट भएका उल्लिखित भेदभावपूर्ण कार्यशैली र ब्यवहारप्रति असहमति रहेको ब्यहोरा निबेदन गर्दै नागोया मतदान केन्द्रमा भएको अनियमितताको दोष ममाथि थोपर्ने नियतले रचिएको नागोयाको कथित पुनर्निर्वाचन प्रक्रियामा सहभागी नहुने जिकिर पुनः दोहोर्‍याउन चाहन्छु । साथै निस्वार्थ एवं कर्त्तब्यनिष्ठ भएर एनआरएन अभियानमा अगाडि बढ्ने प्रणका साथ एकदशकदेखि होमिएकोमा यो वा त्यो बहानामा माखेसाङ्लोमा पारी हराउने तानाबाना बुनिएकोमा खेद प्रकट गर्दै सम्मानित निकाय आईसीसीको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउनुका साथै दोषी पत्ता लगाई हदैसम्मको कार्वाहीको माग गर्दछु भने स्वच्छ, निश्पक्ष र निर्बाधरुपमा मताधिकारको प्रयोग गर्न पाउने वातावरणमा पुननिर्वाचन या सार्थक सहमतिको प्रयास गरियोस भन्ने जोडदार माग गर्दछु । 

निबेदक 

नरबहादुर थापा 

अध्यक्षका उम्मेदवार 

एनआरएनए जापान २०१५    

 

बोधार्थ  

१. श्री भवन भट्ट, उपाध्यक्ष एनआरएनए आइसीसी 

२. श्री गंगा राई, संयोजक एशिया प्यासिफिक क्षेत्रीय समिति 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय