काठमाडौं, भदौ २४- कूटनीतिक तहबाट दुई नेपाली महिलामाथि भएको यौन शोषण एवं मानव तस्करीको अभियोगबारे विदेश मन्त्रालयले नेपाली दूतावासका अधिकारीलाई बुधबार साउथ ब्लकमा बोलाएर छलफल गरेको छ।
राजदूत दीपकुमार उपाध्यायका अनुसार विदेश मन्त्रालयमा भएको छलफलमा प्रहरी अनुसन्धानको प्रक्रिया पूरा भएपछि मात्रै भारत सरकारले कूटनीतिक मामलाको यो विषयमा थप निर्णय गर्नेछ। छलफलमा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरसहितका अधिकारी उपस्थित थिए। स्रोतका अनुसार विदेश मन्त्रालयमा खाडी शाखा हेर्ने विभागले दिल्लीस्थित साउदी अरेबियाका कूटनीतिक प्रतिनिधिलाई साउथ ब्लकमा बोलाएर नेपाली महिलामाथि भएको व्यभिचारबारेमा जानकारी लिएको छ।
साउदी अरेबिया दूतावासका प्रतिनिधिले नेपाली दुई महिलामाथि साउदी कूटनीतिक अधिकारीले यौन दुव्र्यवहार गरेको अभियोगको ठाडो खण्डन गरेका थिए। हरियाणा, गुडगाउँस्थित एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकबाट पक्राउ गरिएका अभियुक्त र अभियोगीको बयान गुढगाउँको जिल्ला अदालतमा मंगलबार पूरा भएको थियो। बागलुङ घर भएकी ३० वर्षीया र बेलबारी मोरङकी ५० वर्षीया महिलालाई आफ्नै घरमा बन्दीसरह राख्दै बाहिरबाट आएका अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको, बितेको ५ महिनामा साउदी अरेबियाको जेदादेखि भारतको नैनीताल र गुढगाउँसम्म लगेर निरन्तर अप्राकृतिक यौन सम्बन्ध राखिएको बयानमा उल्लेख छ। स्रोतका अनुसार यस्तो दुव्र्यवहार गराउने अभियुक्त साउदी अरेबियाको दिल्लीस्थित दूतावासका भिसा काउन्सेलर चाहिँ मंगलबार राति दिल्लीबाट रियादतर्फ लागिसकेका छन्।
स्रोतका अनुसार हाल चिराग दिल्लीस्थित माइती इन्डिया आश्रयस्थलमा राखिएका दुई पीडित महिलालाई काठमाडौं फिर्ता पठाउन नेपाली दूतावासले बुधबार अपराह्न ट्राभल डकुमेन्ट उपलब्ध गराएको छ। अरू प्रक्रिया पूरा भएमा यी दुई महिला माइती नेपालको रोहबरमा बिहीबार काठमाडौं पुग्नेछन्।
साउदी अरेबियाको दिल्लीस्थित दूतावासका काउन्सेलरले विगत ५ महिनायता दुई नेपाली महिलामाथि गरेको तस्करी अभियोग र यौन प्रकरणको विषयमाथि सोमबार प्रहरीले कारबाही सुरु गरेको हो। पीडित दुई नेपाली महिलालाई आफ्नै घरमा बन्दीसरह राख्दै भिसा काउन्सेलरले बाहिरबाट आएका अतिथिलाई जबर्जस्ती यौनकर्ममा लगाउने गरेको प्रहरी रिपोर्टमा उल्लेख छ। दुवै महिलाले आफूहरूलाई समूहमा आएका साउदी अतिथिले मुख मैथुनदेखि अप्राकृतिक मैथुनसम्म गराएको प्रहरी रिपोर्ट (एफआईआर) मा उल्लेख छ।
यो घटनाबारे नेपाली दूतावासमा जानकारी गराउने माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार साउदी अरेबिया दूतावासका भिसा मामला हेर्ने काउन्सेलर र उनका सहयोगीमाथि मानव तस्करी, यौन दुव्र्यवहारसहितका अधिनियमको विभिन्न ७ वटा धाराअन्तर्गत मुद्दा चलाइने भएको छ। यो कूटनीतिक मामला समेत भएकाले भिएना कन्भेन्सनअनुसार आवश्यक सहयोग एवं सहकार्यका निम्ति नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा पत्राचार गरिसकेको छ।
कान्तिपुरबाट