आबुधाबी, भाद्र २३ – नेपाली महिलाहरुको पर्व तीजले यतिबेला आबुधाबीलाई समेत राम्रैसंग तताई रहेको छ । यस बर्ष आबुधाबीमा खुल्ला रुपमा सबै क्षेत्रका नेपाली दर्शकलाई समेट्ने गरी काइट इन्टरटेनमेन्ट समुहले ११ सेप्टेम्बरका दिन धुमधामसंग तीज धमाका कार्यक्रम गर्दैछ ।
आबुधाबीको अल नाहादा नेसनल स्कुलको सभा हलमा हुने तीज धमाका कार्यक्रममा भर्खरै पशुपति शर्मासंग पानी पुरी गीत गएर अत्याधिक चर्चामा रहेकी लोक गायिका जानकी तारामी मगरले तीजका गीतहरु गाएर दर्शक नचाउने अपेक्षा गरिएको छ ।
तीज र गाइजात्रा नजिक नजिकै पर्ने भएकाले काइट समुहले दर्शकलाई थाक्ने गरी हँसाउन चर्चित टेलीसिरियल भद्रगोलका जिग्री, पांडे र बेलासेलाई समेत एकै मञ्चमा उतार्दैछ ।
सक्किगोनी थेगोले चर्चा कमाएका कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पांडे) र सुवास कार्की (बेलासे)ले हास्यब्यंगको ताजा प्रस्तुति देखाउनेछन् । साथमा रुन्चे गायकको उपमा पाएका गायक प्रकाश पौडेलको प्रस्तुति समेत दर्शकहरुले हेर्न पाउनेछन् ।
काइटका प्रमुख विकाश अधिकारीका अनुसार कार्यक्रमको प्रचारप्रसार राम्रैसँग भइसकेको छ । थोरै पारिश्रमिक पाउने नेपाली दर्शकहरुले पनि मनोरञ्जनको लागि कार्यक्रममा सहभागि हुन पाउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको टिकट शुल्क न्युनतम राखिएको काइट समुहले जानकारी दिएको छ ।
सामाजिक क्षेत्रमा सधैं कृयाशील रहिरहने उद्घोष गर्दै आयोजक समुहले कार्यक्रम पश्चात दुतावासको महिला सेल्टरमा आश्रीत केहि महिलाहरुलाई नेपाल जाने हवाई टिकट उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यस अघि भूकम्प पिडितको लागि नायक राजेश हमाल सहितका कलाकारहरुले प्रस्तुति गरिसकेका अल नाहादा नेशनल स्कुलको सभा हलमा त्यस पश्चात कुनै नेपाली कार्यक्रम भएको छैन । आबुधाबीमा खुल्ला रुपमा आयोजना गरिएको यो नै पहिलो तीज कार्यक्रम भएकाले दुई हजार भन्दा धेरै दर्शक सिट क्षमता भएको उक्त हल दर्शकहरुले भरिने आयोजकले बिश्वास लिएका छन् ।