नेपाली महिला तस्करी गरी यौन शोषण गर्नेलाई पक्रन आदेश  

काठमाडौं, भदौ २३- दुई नेपाली महिलामाथि भएको यौन शोषण एवं मानव तस्करीको अभियोगमा आरोपित साउदी कुटनीतिक अधिकारीलाई पक्राउ गर्न र हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउन ‘वारेन्ट’ जारी भएको छ ।

साउदी अरेबियाको दिल्लीस्थित दूतावासका काउन्सेलरले विगत ५ महिनायता दुई नेपाली महिलामाथि गरेको तस्करी अभियोग र यौन प्रकरण आधारमा सोमबार यो प्रकरण प्रहरी कारबाहीमा बाहिर आएको हो ।

माइती इन्डियाको सहयोगमा हरियाणा, गुढगाउँस्थित एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकबाट पक्राउ गरिएका अभियुक्त र अभियोगीको बयान गुढगाउँको जिल्ला अदालतमा मंगलबार पुरा भएको छ ।

बागलुङ घर भएकी ३० वर्षीया जुना दमाई र बेलबारी मोरङकी ५० वर्षीया गीता तामाङलाई आफ्नै घरमा बन्दीसरह राख्दै बाहिरबाट आएका अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको बयानमा बितेको ५ महिनामा साउदी अरेबियाको जेद्दादेखि भारतको नैनीताल र गुढगाउँसम्म लगेर निरन्तर अप्राकृतिक यौन सम्बन्ध राखिएको जनाइएको छ ।

दुवै महिलाले आफूहरुलाई समूहमा आएका साउदी अतिथिले मुख मैथुनदेखि अप्राकृतिक मैथुनसम्म गराएको प्रहरी रिपोर्ट (एफआइआर)मा उल्लेख छ ।

यो घटनाबारे नेपाली दूतावासमा जानकारी गराउने माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार साउदी अरेबिया दूतावासका भिसा मामला हेर्ने काउन्सेलर र उनका सहयोगीमाथि मानव तस्करी, यौन दुर्व्यवहारसहितका अधिनियमको विभिन्न ७ वटा धाराअन्तर्गत मुद्धा चलाइने भएको छ ।

यो कुटनीतिक मामला समेत भएकाले भिएना कन्भेन्सनअनुसार आवश्यक सहयोग एवं सहकार्यका निम्ति नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

पाण्डेका अनुसार नेपाली महिलाको बयान र आवश्यक कानूनी प्रक्रिया पुरा हुनासाथै माइती इन्डियाकै रोहवरमा उनीहरुलाई काठमाडौं लगिने भएको छ । दुई महिलालाई नेपाल फर्काउन टिकट सहयोगसहितका आर्थिक काममा दिल्लीस्थित सामाजिक संस्था लाइट हाउस फाउण्डेसनले सहयोग गर्ने भएको पाण्डेले जनाएका छन् ।

यो खवर कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय